सर्लाहीमा मौसमी भाइरलका बिरामी उच्च



पुस्तिका केसी, सर्लाही ।

मौसममा आएको परिवर्तनसँगै गाउँ–गाउँमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । जिल्ला अस्पताल मलंगवामा गाउँ–गाउँबाट दैनिक १५/२० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

‘केही दिनयता अस्पतालमा बिरामीको संख्याह्वात्तै बढेको छ, धेरै गर्मी बढेसँगै यस क्षेत्रका निजी अस्पताल र सरकारी अस्पतालमा दिनदिनै बिरामीको संख्या बढ्दै गएको छ । उपचारका लागि अस्पताल आउने बिरामीमा उच्चज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने सिँगान बग्ने जस्ता लक्षण देखिको छ’, जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झा भन्नुहुन्छ– ‘धेरै बिरामीका लक्षण कोरोनाभाइरससँग मिल्दो जुल्दो छ, तर स्वाब परीक्षण गर्दा ९० प्रतिशतको रिपोर्ट नेगेटिभ नै आउने गरेको छ ।’

निषेधाज्ञा खुकुलो भएसँगै हाटबजार क्षेत्रमा मानिसको भीडभाड बढ्नुका सथै कोरोना संक्रमण हुने जोखिम दैनिक बढ्दै गएको छ । हाट बजारमा हिँडडुल गर्नेदेखि यातायातमा आवत–जावत गर्ने धेरै यात्रुले मास्कको प्रयोग नगर्दा कोरोना संक्रमित हुने जोखिम बढिरहेको हरिपुर नगरपालिकाअन्तर्गतका कोभिड फोकल पर्सनल नरेश ठाकुरले बताउनुभयो । ‘माक्स नलगाउने र आधारभूत स्वास्थ्यका मापदण्ड पालना नगर्ने धेरै छन्, यसले गर्दा पनि ज्वरोका बिरामी बढेका हुन सक्छन्, उपचारमा आउनेमध्ये धेरै बिरामीको लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो भए पनि त्यो कोभिड नभएर सिजनल भाइरस हो’, उहाँ भन्नुहुन्छ– ‘निरन्तर वर्षा भइरहेकाले चापाकलको पानी दूषित भएर पनि बिरामी संख्या बढेका हुन् ।’

केही दिनदेखि तराईमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण मौसममा आएको परिवर्तनले भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । भाइरल ज्वरोका बिरामीको चाप निजी अस्पताल र किल्निकमा समेत बढेको देखिन्छ । हरिवनमा रहेको नमुना अस्पतालमा अहिले भाइरल ज्वरोका बिरामी दैनिक २५/३० जना उपचार गर्न आउने गरेको अस्पतालका डाक्टर अनिल चौधरीले बताउनुभयो ।

‘भाइरल ज्वरो तीनदेखि पाँच दिनभित्रमा प्रायः आफैं निको हुने भए पनि सावधानी अपनाउनुपर्छ, सात दिनभन्दा पनि बढी ज्वरो आए थप जटिलता आउन सक्छ, त्यस्तो बेला अस्पताल जाने र झोलिलो पदार्थको सेवनमा बढी जोड दिनुपर्छ, झुलको प्रयोग गरेर मात्रै सुत्ने, घर वरिपरि सफा राख्ने र लामखुट्टेको टोकाइबाट बच्न शरीर छोप्ने खालका कपडा लगाउने गरेमा रोगबाट बच्न सकिन्छ’, चौधरीले भनुभयो– ‘अझ आजभोलि कोरोना संक्रमित पनि हुन सक्ने भएकाले शंका लागेमा तुरुन्तै कोरोना परीक्षण गराउनुपर्छ ।’

सरकारी तथा निजी अस्पतालमा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको चाप बढेकाले औषधिसहितको स्वास्थ्यकर्मीको टोली गाउँमा रहेका स्वास्थ्य केन्द्रहरुमा पठाएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख प्रभाकर झाले जानकारी दिनुभयो ।

सिजनल भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन् । भाइरल ज्वरोबाट प्रभावित बालबालिकामा रुघाखोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या देखिएको बाल रोग विशेषज्ञ डाक्टर गुनेश्वर झाले बताउनुभयो । त्यसै गरी, उपचारका लागि अस्पताल आएका भाइरल ज्वरोका बिरामीको पीसीआरको नमुना परीक्षण गर्दा ९० प्रतिशतको बिरामीको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल मलंगवाले जनाएको छ । अस्पतालमा भर्ना भएर बसेका ८० प्रतिशतभन्दा बढी भाइरल ज्वरोका बिरामी ग्रामीण क्षेत्रका छन् ।

प्रतिक्रिया दिनुहोस्