खुटिया नदी कटानले बेली बजार संकटमा, पुल उच्च जोखिममा



हेमन्त पौडेल, धनगढी ।

खुटिया नदी कटानका कारण धनगढी उप महानगरपालिका वार्डनं ७ को बेली बजार संकटमा पर्दै गएको छ । हरेक वर्ष वर्षातमा खुटिया नदीमा आउने बाढीले जमिन कटाना गर्दै पश्चिमतिर आउदै गरेकाले वार्ड नम्वर ७ को बेली बजार तथा बेली गाउँनै उच्च जोखिममा परेको छ । नदी कटान नियन्त्रणकालागि नगरपालिकाको बजेटले सम्भव नभएपछि संघीय सरकारका निकायहरुलाई बारम्वार लेखेर पठाएको भएपनि तटबन्धको काम अघि नबढ्दा नदीले कटान तिब्र पार्र्दै गएपछि सो क्षेत्र संकटमा परेको धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनुभयो ।

हरेक वर्ष खेतीयोग्य जमिन कटान गर्दै नदी पश्चिम सर्दै जान थालेपछि आफूले जनताको तटबन्ध कार्यालयलाई विशेष अनुरोध गरेपछि यस वर्ष तटबन्धको योजना त परेको छ तर काम हुन नसक्दा यसवर्ष पनि कटानले तिब्ररुप लिएको नगरप्रमुख वडले बताउनु भयो । नदी कटानको तिब्रता देखेपछि बस्ती नै बगरमा परिणत हुने अवस्था आउन सक्ने खतरालाई मध्यनजर राख्दै धनगढी उप महानगरपालिकाका प्रमुख नृप वड मंगलवार कटान क्षेत्रको निरिक्षण गर्नुभएको छ ।

सोही क्षेत्रमा नगरपालिकाले सञ्चालन गरेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र निर्माणाधिन अवस्थामा रहेको अक्सिजन प्लान्ट समेत रहेको छ । वारम्वारको आग्रह पछि तटबन्धका लागि ठेक्का भएपनि काम शुरु नभएकाले नदी कटान रोकिएको छैन । कटान क्षेत्रको निरिक्षण गर्दै नगरप्रमुख वडले बुधवारदेखिनै तटबन्धको काम शुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

यस वर्षको कटानले उप महानगरपालिकाको शहरी स्वास्थ्य क्लिनिक भवन र धनगढी फूलवारी अन्तरगत हुलाकी सडकमा रहेको खुटिया पुल समेत उच्च जोखिममा परेको छ । करिब एक दशक अघि निर्माण गरिएको पुलको तलमाथिको भागमा तटबन्धको काम नगरेकाले पुल जोखिममा पर्दै गएको छ । पुलको पश्चिमतिरको भागका पिलरहरु भएको जमिन कटान गर्दा पुल जोखिममा पर्दै गएको स्थानीय बासिन्दा आदेश रानाले बताउनुभयो ।

तत्काल तटबन्धको काम अघि नबढ्ने हो भने बस्ती बगरमा परिणत हुने खतरा रहेको रानाको भनाई छ । बजार भन्दा करिव १५ मिटरको दुरीमा नदी बग्न थालेपछि स्थानीय हरु निकै चिन्तित बन्न थालेकाछन् । जमिन मुनीको भागमा बालुवा भएकाले नदीको कटान तिब्र भएको नदी किनार क्षेत्रमा जमिन भएका नविन पन्तले बताउनुभयो । हाल उहाँको जमिनमा तरकारी खेती गरिएको छ । जमिनको नजिकै नदी पुग्न थाल्यो तत्काल तटबन्धको काम अघि बढाउनुपर्ने पन्तको भनाई छ ।

५३ लाखको लागतमा करिब २०४ मिटर लामो तटबन्ध निर्माण हुने छ । वर्षातका कारण निर्माण कार्य रोकिएको भनिएको तटबन्धको निर्माण तत्काल शुरु गर्न नगरप्रमुख वडले निर्माण कम्पनी कञ्चन राष्टिय निर्माण कम्पनीका प्रमुख पुस्पराज अवस्थी आग्रह गर्नुभएको छ । जेसीवि लागाएर पानी पूर्वतिर बाट बगाएर भएपनि तटबन्धको काम गर्न भनेको छु नगरप्रमुख वडले भन्नुभयो ।

पुल भन्दा उत्तरतिर १५० मिटर र दक्षिणति ५४ मिटर लामो तटबन्धको लागि ठेक्का चैत अन्तिम साता भएको थियो । निर्माण कम्पनीका प्रमुख पुस्पराज अवस्थीले तटबन्धको काम गर्दागर्दै पानी परेकाले निर्माणको काम प्रभावित भएको बताउनुभयो । पानी कम हुनेवित्तिकै तटबन्धको काम शुरु गर्ने उहाँले बताउनुभयो ।

हाल सो क्षेत्रमा केही ढुंगा र जाली समेत खसाली सकेको अवस्थीले बताउनुभयो । जनताको तटबन्ध कार्यालय कञ्चनपुरका इन्जिनियर करुणाकर पन्तले सो क्षेत्रमा नदी कटानले तिब्ररुप लिएपछि कार्यालयले प्राथमिकतामा राखेर काम गर्न लागेको बताउनुभयो । पानी घट्नेवित्तिकै काम अघि बढाउँछौ पन्तले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्