जुनसुकै क्यान्सरको उपचार नेपालमै सम्भव छ: क्यान्सर विजेता



न्युज अफ नेपाल, काठमाडौ । 

विगत बर्षहरुमा क्यान्सर लाग्नु भनेको मृत्युको मुखमा पुग्नुहो भन्ने मान्यता थियो । तर अहिले त्यस्तो छैन् मानव शरिरका जुनसुकै अंगमा देखा पर्ने क्यान्सर रोगको समयमै पहिचान गरि उपचार गरे निको हुन्छ । त्यो पनि पहिला जस्तो विदेश धाउने र भएभरको सम्पती बिक्री गरेर अन्तिम अवस्थामा रोग पहिचान हुँदा उपचार नलागेर धेरै मानिसको मृत्यु हुने गर्दथ्यो । तर अहिले क्यान्सरको उपचारका लागि विदेश जानु पनि पर्दैन र पहिला जस्तो घरखेत बेचेर क्यान्सरकै कारण मृत्यु बरण पनि गर्नु पर्दैन् ।

यी यति मात्र नभै विगतमा क्यान्सरको परिक्षण, पहिचान, उपचार र औषधि बन्ने समेत विदेशमै थियो । तर अहिले यी सबै समस्याको समाधान नेपालमै नेपालीबाट नै हुन्छ । यो खुशी साट्नका लागि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, नेपाल क्यान्सर सहयोग समूह र उपचारका लागि सहयोगी हातहरुद्वारा संयुक्तरुपमा आयोजित क्यान्सर विजेताहरुको २३ औं वैठकमा क्यान्सर जितेकाहरुले आफ्ना अनुभव घरमै बसेर अहिलेको कोरोना संक्रमणलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट साथीहरुमाझ प्रत्यक्षीकरण गरेका थिए ।

क्यान्सरको उपचार पछि नयाँ जीवन जिईरहेका क्यान्सर विजेताहरुले कोरोना अवधिमा भएका आफ्ना तिता मिठा अनुभव भर्चुअल माध्यमबाट एक आपसमा आदान प्रदान गरेका थिए । उक्त अवसरमा जीवन के हो र बिरामीले पालना गर्नुपर्ने कुराहरु के हुन् भन्ने बिषयमा पनि निकै व्यवहारिक तरिकाले प्रस्तुत गरिएको थियो ।

कोरोना संक्रमणको पहिलो चरण भन्दा दोस्रो चरण बढी खतरनाक भएकाले क्यान्सरका बिरामीहरुका लागि पनि निकै चुनौतिपूर्ण रहयो । तर आफुहरुले क्यान्सर जस्तो जटिल रोगलाई जितेर जिईरहेका कारण चिकित्सकहरुसँगको बारम्बार सल्लाह र सुझावको पालना गर्दै स्वास्थ्य मापदण्डको पालना गरेर कोरोना संक्रमण हुँदा पनि आत्मबल बलियो बनाउँदै जित्न सफल भएको यथार्थता पस्किएका थिए । क्यानसर विजेताहरुले आफ्नो अनुभव सुनाउने क्रममा आत्मबल बलियो बनाउँने र आफुलाई कुनै न कुनै काममा व्यस्त बनाएर समयलाई सहज बनाउन सक्नुनै क्यान्सर विजेताको सफल अभियान भएको बताएका थिए ।

क्यान्सर विजेता सहभागीहरुले जस्तो सुकै खालको क्यान्सर पनि नेपालमै उपचार सम्भव भएकाले नेपालीहरुले अनावश्यक आत्तिएर अरुको लहै लहैमा लागेर उपचारका लागि विदेश गै घरखेत सक्ने काम नगर्न पनि आग्रह गरेका थिए । नेपालमै उपचार गराउँदा खर्च पनि कम कुरुवा पनि परिवार, आफन्तहरु पालै पालो बस्न पाउँने र आफन्तसँगको सामिप्यता र चिकित्सकको ममताले आधा रोग उपचारको शुरुवातमै निको भएको महसुस गर्न सकिने बताएका थिए ।

समय समयमा विभिन्न कार्यक्रम गरेर क्यान्सर विजेताहरुलाई गोलवद्ध गर्दै आउँनु भएकी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठले कोरोना महामारीको अवधिमा क्यान्सर विजेताहरुको अनुभव साटासाट गर्न २३ औं वैठक भर्चुअल माद्यमबाट आयोजना गरिएको बताउँनुभयो । उक्त अवसरमा ‘सौंन्दर्य र बहादुरी’ विषयमा अनुभव साटिएको थियो ।

निर्देशक स्वरुपाको नेतृत्वमा गठित समूहले पहिलो लहरको कोरोना संक्रमणका समयमा पनि क्यान्सर विजेताहरुलाई टीकटकका माध्यमबाट आ आफ्ना प्रतिभाहरु प्रस्तुत गर्न लगाएर विजेता, उपविजेता घोषणा गर्दै समयलाई सहज र मनोरञ्जनात्म बताउँने कार्य गराउँनुभएको थियो । त्यसैगरि ब्लड क्यान्सर भएका बालबालिकाहरुलाई पनि समयमै उपचार गरे निको हुन्छ र सामान्य अवस्थामा जस्तै आफ्ना प्रतिभा प्रस्तुत गर्ने, दैनिक जिवन साधारण नागरिक सरह जिउन सकिन्छ भन्ने सन्देश दिदै विभिन्न प्रतियोगिता गर्दै आएको बताउँनुभयो ।

उहाँले सहयोगी हातहरुको साथ लिएर समय समयमा क्यान्सर विजेताहरु र क्यान्सर प्रभावितका बिचमा अन्र्तरक्रिया, छलफल, अनुभव आदान प्रदान, पैदल यात्रा, कविता प्रतियोगिता जस्ता विभिन्न खालका कार्यक्रमहरु गरेर क्यान्सर रोग समयमै उपचार गरे निको हुन्छ भन्ने सन्देश आम नागरिकका माझै जनचेतना फैलाउँने उदेश्यले गर्दै आएको बताउँनुहुन्छ ।

त्यस अवसरमा स्तन क्यान्सर विजेताद्वय मिना तुलाधर र रेजिना मुल्मीले स्तन क्यान्सरले स्तन काटेर फ्याक्नुपर्दाको पिडामिश्रित अनुभव सुनाउँदै त्यसलाई पुर्नस्थापन गर्दै आफ्नो शरीरको सौन्दयर्तालाई कायम राख्न घरमै कृतिम स्तनसहितको ब्रा बनाउन सिकाउँनुभएको थियो । यसैगरि लोकेश्वरी श्रेष्ठ, मिना नेम्कुल, आशा श्रेष्ठ, सुस्मा मर्हजन, सुशान्त लिम्बुलगायतले क्यान्सर र कोरोनाबारेका आफ्ना अनुभव सुनाउँनुभएको थियो ।

नेपाल क्यान्सर सहयोग समूहका उपाध्यक्ष गणेशभक्त श्रेष्ठ, महासचिव शशांक शर्मा, नेपाल क्यान्सर अस्पतालका आइटि विभाग प्रमुख, इन्जिनियर दिपक यात्री लगायतले कार्यक्रमलाई समय सान्र्दभिक प्रस्तुतिका लागि वातावरण बनाउँनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्