कुलपतिबिना नै त्रिवि स्थापना दिवस बैठक सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं । 

त्रिभुवन विश्वविद्यालयको स्थापना दिवसको बैठक कुलपतिको उपस्थितिबिना नै सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थापना दिवसमा आफू आउन नसक्ने जानकारी दिएपछि उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले बैठकको अध्यक्षता गर्नुभएको थियो ।

अघिल्लो वर्ष स्थापना दिवसमा कुलपति आउन नसकेपछि सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले बैठकको अध्यक्षता गर्नुभएको थियो । यसपटक भने भर्खरै सरकार परिवर्तन भएकाले सहकुलपतिको जिम्मेवारीसमेत प्रधानमन्त्री देउवाले नै सम्हाल्नु भएकाले उपकुलपति बास्कोटाले बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पाउनुभएको थियो । त्रिविले कोभिड–१९ का कारण भर्चुअल विधिबाट स्थापना दिवस बैठक बसेको उपकुलपति प्राडा बास्कोटाले जानकारी गराउनुभयो ।

आइतबारको बैठकले विश्वविद्यालयको ५९औं ग्रेस लिस्ट पारित गरेको छ । बैठकले २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण आवश्यकता पूरा गरी ट्रान्सक्रिप्टसमेत लिइसकेका २९ हजार ७ सय २९ विद्यार्थीलाई आगामी दीक्षान्त समारोहमा समावेश हुन योग्य हुने गरी ग्रेस लिस्ट पारित गरेको छ ।उपकुलपति बास्कोटाले कोभिड–१९ को महामारीको जटिल परिस्थितिका बाबजुद त्रिभुवन विश्वविद्यालयले एसियाली विश्वविद्यालयहरूमा गत वर्षको तुलनामा १००औं स्थान माथि उक्लेर स्तरोन्नति प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा सूचना–प्रविधि र विद्युतीय कक्षाहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।

उहाँले पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय र डीन कार्यालयहरूमा अनलाइन माध्यमबाट आवेदन बुझाउने व्यवस्था गरिएको, विश्वविद्यालयको वेबसाइटलाई परिमार्जन गरी विश्वविद्यालय मातहतका सबै निकायको वेबसाइटमा एकरूपता ल्याउन इन्जियिरिङ अध्ययन संस्थानमार्फत काम प्रारम्भ गरी सकिएको, नयाँ नियुक्ति पाएका शिक्षकहरूलाई सेवा प्रवेश तथा शिक्षण विधिको तालिम दिन शुरुआत गरिएको बताउनुभयो ।बास्कोटाले सबै आंगिक क्याम्पसमा अनलाइन कक्षा व्यवस्था गर्न सूचना–प्रविधि इकाइको व्यवस्था गरिएको र सामुदायिक क्याम्पसमा अप्टिकल फाइवरको सञ्जाल निर्माण गर्न नेपाल सरकारमार्फत कार्य अगाडि बढाएको, त्रिविमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ५ सय पु¥याउन सफल भएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीले यो अवधिमा बेरुजु न्यूनीकरण गर्ने निर्देशिका तयारी गरी यसै वर्ष ८ अर्ब बेरुजु फछ्र्यौट गर्ने लक्ष्य राखिएकोमा ५ अर्ब फछ्र्यौट भइसकेको, एन्टिकरप्सन स्टडी, जियोस्पेस एवं रक एन्ड टनेल इन्जिनियरिङ जस्ता विषयहरूको अध्यापन शुरुआत गरिएको, विश्वविद्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्टमा एकरूपता कायम गर्न क्रेडिट ट्रान्सफर गर्ने व्यवस्थाको नीतिगत निर्णय गरिएको, विश्वविद्यालयको पुनः संरचना गर्न नियम विनियमहरूमा एकरूपता ल्याउन र शिक्षण, प्रशिक्षण र खर्च प्रणालीमा एकरूपता ल्याउन कार्यदल गठन गरी कार्य अगाडि बढाइएको छ ।

वार्षिक दिवस बैठकमा ५९औं ग्रेसलिस्टको संक्षिप्त विवरण प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राडा पेशल दाहालले ग्रेसलिस्टमा सहभागी २९ हजार ७ सय २९ मध्ये साधारणतर्फ २३ हजार ८ सय ४८ र प्राविधिक शिक्षातर्फ ५ हजार ८ सय ८१ विद्यार्थी रहेको जानकारी गराउनुभयो । उहाँले कोरोना भाइरसले उब्जाएको विषम परिस्थितिका कारण समयमा परीक्षा हुन नसक्दा र ट्रान्सक्रिप्ट लिन नसक्दा धेरै विद्यार्थीको नाम ग्रेस लिस्टमा पर्न नसकेको बताउनुभयो ।ग्रेस लिस्टमा चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत १ हजार ३ सय ४०, इन्जियरिङ अध्ययन संस्थानअन्तर्गत ८ सय २६, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत २ हजार ९ सय ७४, कृषि र पशुविज्ञान अध्ययन संस्थानअन्तर्गत ४ सय ६२, वन विज्ञान अध्ययन संस्थानअन्तर्गत २ सय ७९ व्यवस्थापन संकायअन्तर्गत ८ हजार ३ सय ४३, शिक्षाशास्त्र संकायअन्तर्गत ७ हजार १ सय १८, मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत ७ हजार ५ सय ७ र कानुन संकायअन्तर्गत ८ सय ८० सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्