गुरुपूर्णिमामा ‘भण्डारा’ लाग्ने सन्तानेश्वर चर्चामा



कुमार श्रेष्ठ, बाँके । 

नाति बोकेकी श्यामकला हरिजन मन्दिर पुग्न कस्सिएर हिँड्दै हुनुहुन्थ्यो । जमुनीकी हरिजन तेस्रोपटक सन्तानेश्वर मन्दिरमा पूजा गर्न आउनुभएको थियो । यसै गरी, भेलोनीकी सीता जिसी र सैयापुरकी चित्रा श्रेष्ठ उकालो लागिरहनुभएको थियो । उमेरले ५० वर्ष कटेका यी दुई जना स्याँस्याँ गर्दै उकालो चढ्दै हुनुहुन्थ्यो ।

मन्दिर जाने गोरेटो एउटै थियो । संयोग नै भनौं, मन्दिर पुगेर फर्किंदा तीनै जना बाटोमा भेटिनुभयो । मन्दिरमा पुगेर के फल माग्नुभयो नि ? उहाँहरुले हाँस्दै भन्नुभयो– ‘मनले चिताएको पुगोस् भन्यौं ।’नरैनापुर वर्षौंसम्म बाँकेको ‘कर्णाली’ भनेर चिनिरह्यो । विकासले अहिले पनि नरैनापुर पछाडि नै रहेको छ । केही महिनायता भने नरैनापुरको वडा नं. ५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिरको जिल्लामा चर्चा रहेको छ ।सन्तानेश्वर मन्दिर नेपालगन्जदेखि ३० किलोमिटरजति टाढा पर्छ । २२ किलोमिटर टाढा पर्ने नरैनापुरको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर हिँडेपछि सन्तानेश्वर मन्दिर पुगिन्छ । शनिबार नेपालगन्जलगायत आसपासबाट सन्तानेश्वरमा ५ हजार आसपासमा मानिस पुगेको गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताउनुभयो । गाउँपालिकाले शनिबार सन्तानेश्वरमा जानका लागि प्रचारप्रसार पनि गरेको थियो । पालिकाका अध्यक्ष मो. शाह र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत आफै मन्दिरसम्म पुग्नुभएको थियो ।

पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा टाढामा रहेको छ । त्यहाँ जान बाटो बनिसकेको छ । ट्रयाकसम्म खोलिएको छ । मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी उर्फ पहाडीबाबाले विसं १९३५ मै यो ठाउँमा झण्डा गाडिएको बताउनुभयो । मटेहियाका यादव थरका व्यक्तिले त्यहाँ झण्डा गाडेका थिए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाको दिन भण्डारा (निःशुल्क खाना) गर्छन् । २०७० साल यहाँ मन्दिर बनाइएको छ ।अहिले चर्चामा आएको सन्तानेश्वरमा शिवरात्रि, तीजमा विशेष भीडभाड हुने गर्दछ । साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गर्दछ ।यो ठाउँमा पहिले कुनै महत्मा बस्ने गरेको महन्त पहाडीबाबा बताउनुहुन्छ । मन्दिर बनाउनुअघि त्यहाँ यज्ञ गरेको प्रस्ट देखिन्थ्यो । २०२९ सालदेखि लालपुरमा बसोबास गर्दै आउनुभएका दीर्घबहादुर खड्काले अहिले चर्चामा आए पनि यो ठाउँमा भक्तजन आइरहने बताउनुभयो । ‘यहाँ आएर चोखो मनले सन्तान मागेपछि सन्तान मिल्छ’, खड्काले भन्नुभयो– ‘धेरै जनाले फल पनि पाउनुभएको छ ।

मन्दिरमा पुग्नुभएका गाउँपालिका अध्यक्ष मो. शाह र प्रमुख प्रशासकीय अधिकृत बस्नेतसमक्ष महन्त पहाडीबाबाले तत्काल नै बिजुली र पानीको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । अध्यक्ष मो. शाहले सोलार बत्ती र पानीको व्यवस्था तत्काल गरिदिने आश्वासन दिनुभयो । उहाँले मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना सुनाउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत बस्नेतले पर्यटकीय स्थलका रूपमा विकास गर्नका लागि तत्कालीन र दीर्घकालीन योजनाहरु बनिसकेको बताउनुभयो ।शनिबार नेपालगन्ज, कोहलपुर, राप्तीसोनारीबाट ५ हजार मानिस पानी रुझ्दै सन्तानेश्वर मन्दिर पुगेका थिए । दूधे बच्चा बोकेर मन्दिरको दर्शन गर्न पुगेका थिए । गाउँपालिकाले सानो सवारीसाधनको पहुँच बनाइदिने हो भने सन्तानेश्वरमा आन्तरिक पर्यटकको भीड नै लाग्ने देखिएको छ । एक्कासि चर्चा आएर मानिसको ओइरो लाग्न थालेपछि गाउँपालिका पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कस्सिएको छ ।

प्रतिक्रिया दिनुहोस्