मौद्रिक नीति र बोर्डको नीति तथा कार्यक्रमको पखाईमा लगानीकर्ता



नेपाल समाचारपत्र, काठमाडौं ।

चालू आर्थिक वर्ष सकिनै लाग्दा पुँजी बजारमा चाप पर्न गएको छ । आर्थिक वर्ष को अन्त्यमा हिसाब किताब राफसाफ गर्नुपर्ने भएकाले बजारमा चाप परेको हो । बजारमा चाप परेका कारण केही दिनदेखि पुँजी बजार निरन्तर ओरालो लाग्दै आएको छ ।

आर्थिक वर्षको अन्त्यसँगै नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीति, नेपाल धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम आउने तयारी रहेको हुँदा अर्को सातादेखि पुँजी बजारले नयाँ बाटो लिने अनुमान लगानीकर्ताको रहेको छ । आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति र नेपाल धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रमका प्रावधानले बजारलाई निर्देशित गर्ने भएकाले आगामी साता पुँजी बजारका लागि महत्वपूर्ण रहेको छ । त्यसो त अघिल्लो वर्षमा खासै वृद्धि हुन नसकेको धितोपत्र बजार चालू आर्थिक वर्षमा एउटा उचाइमा पुगेको छ । तर, प्रतिफलको स्वाद चाख्न पाएका लगानीकर्तालाई पछिल्लो गिरावटले सशंकित बनाए हो । हजार अंकभन्दा बढीले वृद्धि भएको पुँजी बजारमा पछिल्लो कारोबारलाई हेर्दा २८ सय बिन्दुको टेवामा नेप्से रहेको देखिन्छ । बैंकिङ समूहले अझै बास्तविक मूल्य नपाएको गुनासो आउँदै गर्दा बैंकिङ क्षेत्रलाई उकास्ने गरी नेपाल राष्ट्र बैंकको नीति तथा कार्यक्रम आउनेमा लगानीकर्ताहरू आशावादी रहेका छन् । त्यसैले लगानीकर्ता अहिले ‘पर्ख र हेर’ को स्थितिमा देखिएका छन् ।

त्यस्तै नेपाल स्कट एक्सचेन्ज नेप्से परिसूचक यस साता १७ दशमलव ९० अंक घटेर २८२५ दशमलव १० बिन्दुमा झरेको छ । तर, सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ९५ अंक बढेर ५२९ दशमलव ६६ बिन्दुमा पुगेको छ ।यस साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो साता ३४ अर्ब १६ करोडको कारोबार भएको बजारमा यस साता जम्मा २३ अर्ब २६ करोड रुपियाँको ५ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । यो अघिल्लो साताको तुलनामा ३१ दशमलव ९१ प्रतिशत अर्थात १० अर्ब ९० करोड रुपियाँ कम हो । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण शून्य दशमलव ५० प्रतिशत अर्थात् १९ अर्ब रुपियाँले घटेर ३९ खर्ब २९ अर्ब रुपियाँमा झरेको छ ।

त्यस्तै यस साता ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ८ वटा समूहको परिसूचक घटेको छ । बढेका समूहमध्ये यस साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा धेरै २ दशमलव ७० प्रतिशत बढेको छ । साथै व्यापार समूहको १ दशमलव १४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५७ प्रतिशत, म्युचुअल फण्ड शून्य दशमलव ३९ प्रतिशतर र बैंकिङ समूहको परिसूचक शून्य दशमलव २३ प्रतिशत बढेको छ । त्यस्तै यस साता जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै ३ दशमलव ९५ प्रतिशत घटेको छ । तर, अंकको आधारमा यस साता निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २३६ दशमलव ४६ अंक घटेर १३ हजार ९०० दशमलव शून्य २ बिन्दुमा झरेको छ । चालू आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डले विभिन्न सात वटा कम्पनीको १४ अर्ब चार करोड ९७ लाख ७ हजार २५ रुपियाँबराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । तीमध्ये सबैभन्दा धेरै जलविद्युत् लगानी तथा विकास कम्पनी रहेको छ । बोर्डले कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत अर्थात् ११ अर्ब बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६ सय, नागरिक लगानी कोषले १६ करोड ९७ लाख ५० हजार ६२५, नारायणी डेभलपमेन्ट बैंकले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७ सय र अपि पावर कम्पनीले ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

प्रतिक्रिया दिनुहोस्