जनयुद्ध एक दशकमै टुंगिएकोमा हिसिला दंग…



नेपाल समाचारपत्र, काठमाडौं । 

हाल जनता समाजवादी पार्टीकी नेतृ भए पनि वामपन्थी पहिचान बनाएकी हिसिला यमीले छिमेकी भारत र दक्षिण एसियाली मुलुक श्रीलंकालगायतमा सशस्त्र द्वन्द्व लामो समयदेखि चलेको, सरकारले सहमति गर्नुको सट्टा निर्दयतापूर्वक दबाएको र लडाकुको जीवन अनिश्चिततातर्फ गएको देखेर जीवन जंगलमै बित्ने सोच्नुभएको थियो । त्यस प्रकारको सोचले उहाँमा एक किसिमको निराशा पनि पैदा गरेको थियो । तर, एक दशकमै विस्तृत शान्ति सम्झौता भयो, साधारण जीवनमा फर्किन सम्भव भयो, उहाँ दंग पर्नुभयो ।

‘हिसिला : फ्रम रिभालुस्नरी टु फस्ट लेडी’ अर्थात् हिसिला : क्रान्तिकारीदेखि प्रथम महिलासम्म नामक आत्मवृत्तान्त प्रधान तीन सय ५० पृष्ठको पुस्तकमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संवरण गर्ने नेपालको संविधान, २०७२ को घोषणा र मुलुकलाई लैङ्गिक समानता र सामाजिक समावेशितामा प्रवेश गराउन क्रान्तिकारी नेता डा. बाबुराम भट्टराईकी जीवन संगिनीका रूपमा खेलेको भूमिकाका बारेमा उल्लेख गर्नुभएको छ ।

‘सम रिफ्लेक्सन्स, विल द अप्रेस्ड राइज्ड ?’ अर्थात् केही प्रतिक्रिया : दमनमा पारिएका नागरिकहरू उठ्लान् शीर्षकमा उहाँ लेख्नुहुन्छ– ‘म १९८० को दशकको लिट्टेलाई सम्झिन्छु, श्रीलंकामा उसका गतिविधि कस्ता थिए भन्ने विषयका समाचार सर्वत्र छाएका हुन्थ्ये । म भने नेपालमा त त्यस प्रकारको अशान्ति छैन र सशस्त्र द्वन्द्व पनि हुँदैन भन्ने सोच्थें । तर, म आफैं एक दिन सशस्त्र द्वन्द्वमा सरिक हुन पुगेँ । लडाकु नेतृका रूपमा तत्कालीन सरकारले मेरो टाउकाको मोल २५ लाख रुपियाँ तोकेको जानकारी मिडियाबाट पाएँ । जब जनयुद्ध शुरू हुन्छ, यो लामो समयसम्म चल्छ भन्ने मलाई विश्वास थियो । मैले विभिन्न मुलुकमा जनयुद्ध दशकौंसम्म चलेको देखेकी थिएँ । छिमेकी भारतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले चलाएको जनयुद्ध गएको ४० वर्षदेखि चलिरहेको थियो ।’

उहाँ लेख्नुहुन्छ– ‘म जनयुद्धमा सामेल भएपछि समय कति छिटो बित्यो, मलाई पत्तै भएन । तर, मलाई लाग्छ, त्यो तीन घण्टा लामो चलचित्र हो जसमा नायक, नायिका, खलनायक हुन्छन् र उनीहरूका गतिविधिलाई बढाइचढाई प्रस्तुत गरिएको हुन्छ । उदाहरणका लागि प्रचण्डलाई त्यसरी नै प्रस्तुत गरियो, कार्यकर्ताको ‘मुटु’ बनाइयो, उनी नभए शरीरका अरू अंगको महत्व नै छैन, सबै मर्छन् भन्ने सन्देश दिइयो । उनलाई चामत्कारिक र आम कार्यकर्तालाई मन्त्रमुग्ध बनाउने विशेष पात्रका रूपमा प्रस्तुत गरियो । उनले त्यही क्षमताको प्रयोग गर्दै सामन्ती सत्ता ढाल्छन् भनेर प्रभाव फिँजाइयो । तर, बाबुराम भट्टाईले कार्यकर्तालाई वैज्ञानिक चिन्तन दिएर ‘शिर’ को भूमिका निर्वाह गरेका थिए, त्यसको न त जनयुद्धका बेला न त विस्तृत शान्ति सम्झौता (२१ नोभेम्बर २००६) पछि कार्यकर्ता र समाजलाई बाटो देखाउने कार्यका लागि खेलेको भूमिकालाई नै महत्व दिइयो । जनयुद्धका शिर डा. भट्टराई भएजस्तै मोहन वैद्य किरण त्यसका मिर्गौला थिए, संगठनमा गलत तत्व छिर्न नदिएर पार्टीलाई सांगठनिक बल प्रदान गर्ने कार्य उनैले गर्न खोज्थे, माक्र्सवाद–लेनिनवाद–माओवादका बीच समन्वय गराएर नेपालको परिवेशमा समायोजन गराउने संगठनको शुद्धीकरणका लागि उनको भूमिका हुन्थ्यो, यद्यपि, प्रभावशाली हुन सक्तैनथे । खासगरी, मैले प्रचण्डलाई बुर्जुवा नेताभन्दा बढी केही पाइनँ– बाहिर प्रभाव दिने, ढाडस बनाउने तर यथार्थमा भने खासै केही काम नगर्ने…! किरन पनि काम गर्न त खोज्ने तर पुरातन शैलीका कारण अनाकर्षक !’

यमीको आत्मवृत्तान्त उहाँ संलग्न महत्वपूर्ण राजनीतिक घटनाक्रममा केन्द्रित छ भने उहाँ डा. बाबुराम भट्टराईबाट अत्यन्तै प्रभावित देखिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्