धुलिखेल अस्पतालमा विरामीको चाप घटाउन घरमै उपचार सेवा, धुलिखेललाई ६० वटा कन्सन्ट्रेटर



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल अस्पतालले कोभिड तथा अन्य रोगबाट विरामी भएका ब्यक्तिहरु तत्काल अस्पताल आउने संकट न्यूनिकरण गर्न स्थानीय सरकारका सबै वडाहरु तथा स्थानीय स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र र अस्पतालकै आउटरिच सेन्टरहरुमा अस्सिजन कन्सन्ट्रेटर, टेलिमेडिसिन लगायतको ब्यवस्थापन शुरु गरेको छ । सोहि योजना अनुरुप धुलिखेल नगरपालिकालाई ६० वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

‘धुलिखेल अस्पतालमा कोभिड १९ को संक्रमणमा मात्रै होईन अन्य समयमा पनि विरामीहरुको भिड छ, यो भिडलाई सहज गर्न, अस्पतालमा आएका विरामीहरुलाई सेवा उपलब्ध गराउन गाउँ स्तरमै प्रति घण्टा ५ लिटर अक्सिजन आवश्यक पर्ने अवस्थामा अस्पताल आउनु नपरोस भन्ने उदेश्यले विभिन्न देशमा रहेका अस्पतालका शुभचिन्तकहरुले पठाएका अक्सिजन कन्सन्ट्रेटर लगायतका सामाग्री स्थानीय सरकार, प्रदेश सरकार र स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराउन थालेका हौं’– काठमाडौ विश्वविद्यालयका पुर्व उपकुलपति एवं अस्पतालका निर्देशक डा. रामकण्ठ माकजुले भन्नुभयो–‘अक्सिजन जस्तो संवेदनशिल विषयमा पनि विरामीहलाई सहज उपलब्ध गराउन नसक्दाको पीडा अरु के हुन सक्छ र ? थोरै अक्सिजन हुँदा विरामीलाई सहज बनाउन सकिन्छ भने अस्पतालसम्म आउनु नपरोस भन्ने उदेश्यले अस्पताल मार्फत स्थानीय सरकारलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन शूरु गरेका हौं ।’

उपलब्ध भएका अक्सिजन कन्सन्ट्रेटरहरुको सहि प्रयोग गरी विरामीको आवश्यकताका आधारमा उपलब्ध गराउन डा. माकजुले अनुरोध गर्नु भयो । अक्सिजन कन्सनट्रेटर कोभिड बाहेक अन्य रोगहरुका विरामीलाई पनि प्रयोगमा ल्याउन सकिने उहाँले बताउनु भयो । ‘नेपालमा जति संकट भयो त्यसको सहज ब्यवस्थापन भयो । जनशक्ति, प्रविधि र सामाग्रीले पूर्ण हुँदै कोभिड नियन्त्रणमा सहज बनायो’–डा. रामकण्ठ माकजुले भन्नुभयो–‘कोभिडले ब्यक्ति नछानेकाले सबै सचेत हुनु जरुरी छ । ब्यक्तिलाई अक्सिजन ब्यक्तिलाई छानेर दिनु पर्ने अवस्थाको अन्त्य गर्ने प्रयासमा हामी जुटेका छौं ।’

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले नगर भित्र रहेका १४ वटा स्वास्थ्य चौकीमा २÷२ वटा शैया सहित अक्सिजन कन्सन्ट्रेटर सेवा शुरु गर्ने नीति कार्यान्वयन गरिएको बताउनु भयो । धुलिखेल अस्पतालको सहयोगले थप सहजता प्रदान गरेको उहाँले बताउनु भयो ।

धुलिखेलमा अक्सिजन उद्योग स्थापनाको तयारी भएको बताउँदै नगर प्रमुख कोभिड बाहेकका अन्य विरामीहरुलाई पनि सहजता प्रदान गर्न स्वास्थ्य संस्थाहरुको स्तरोन्नती शुरु गरिएको बताउनु भयो । ‘कोभिडका विरामीहरुलाई घरमै चिकित्सकीय सेवा उपलब्ध गराउन आवश्यक पर्दा अक्सिजन कन्सन्ट्रेटर समेत उपलब्ध गराउने गरी तयारी गरिएको हो’– कोभिड ब्यवस्थापनमा सक्रिय धुलिखेल अस्पतालमा कार्यरत डा. आभा श्रेष्ठले भन्नुभयो – ‘कोभिडको दोश्रो चरणको संक्रमणमा होम आईसोलेसनमा रहेका झण्डै ३ हजार विरामीलाई टेलिफोन मार्फत नै चिकित्सकिय परामर्श उपलब्ध गराएका छौं । जसका कारण अस्पतालमा हुने भिडभाड, शैया ब्यवस्थापनमा सहजिकरण हुन पुग्यो ।’ तेश्रो भेरियन्ट आउन सक्ने सम्भावनालाई पुर्व तयारी स्वरुप अस्पतालले काभ्रेपलाञ्चोक जिल्लाका सबै पालिकाहरुमा रहेका स्वास्थ्य चौकीहरुलाई केहि शैया सहित अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने रणनीति बनाएको छ । झण्डै ५ सय वटा अक्सिजन कन्सन्ट्रेटर बागमती, गण्डकी, लुम्विनी, कर्णाली प्रदेशहरुमा धुलिखेल अस्पतालले उपलब्ध गराएको छ ।

जिल्लाको पनौती, बनेपा, नमोबुद्ध, पाँचखाल, बेथान्चोक तथा अस्पतालका आउटरिच सेन्टरहरुमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको डा. राजिव श्रेष्ठले बताउनु भयो । कोभिड १९ संक्रमणका कारण घरबाट अस्पताल आउन नसक्ने तथा थोरै अक्सिजन दिएर घरमै उपचार गराउन मिल्ने प्रकृतिका विरामीहरुको उपचारमा उक्त सामाग्रीले सहयोग पुर्‍याउने छ ।

धुलिखेल अस्पतालले कोभिड भएका विरामीहरुको घरमै उपचार सेवा शुरु गरेको डा. आभा श्रेष्ठले बताउनु भयो । ‘रिमोड वार्ड’ अथार्त घरमै उपचार सेवा मार्फत मानसिक, चिकित्सकीय परामर्श सेवा उपलब्ध गराउन शुरु गरेको डा.आभाले बताउनु भयो । यस्तो सेवाबाट धेरै नागरिकहरु लाभान्वित भएका छन् । कोभिडको तेश्रो भेरियन्ट शुरु हुनु अगावै टेलिमेडिसिन सेवा शुरु गर्नु पर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्