चण्डेश्वरी र पलाञ्चोक भगवतीको जात्रा प्रसंग



प्रेममान डंगोल

वैशाख पूर्णिमाका दिन बनेपामा चण्डेश्वरी देवीको जात्रा गरिन्छ । चण्डी पूर्णिमा पनि भनिने वैशाख पूर्णिमाका दिन काभ्रे जिल्लाका ऐतिहासिक आठवटा नेवार बस्ती साँगा, ख्वःपासी, नाला, धुलिखेल, श्रीखण्डपुर, चैकोट र पनौतीमा एकै पटक जात्रा गरिन्छ । चण्डेश्वरी जात्राबारे प्रसिद्ध भक्तपुरको चण्डेश्वरी, पाटन पिम्बहालको चण्डेश्वरी, बालकुमारी चण्डेश्वरी र टोखाको चण्डेश्वरीमध्ये बनेपाको चण्डेश्वरी विशेष हुन् भनिन्छ ।

बनेपाको अष्टमातृका पीठमध्ये एउटा पीठको रुपमा चण्डेश्वरी देवीको जात्रा मनाइने हो । एउटा किंवदन्तीअनुसार एकपटक बनेपाकी चण्डेश्वरी देवी पाटनको बुंगमती करुणामयको रथ यात्रा हेर्न जाँदा एउटा ठूलै उपद्रो गरेर आएकी रहिछन् । त्यसरी नै करुणामय रातो मच्छिन्द्रनाथ पनि बनेपाको चण्डेश्वरी जात्रा हेर्न जाँदा चण्डेश्वरी देवी चन्दन वनको रुखमा मरेको जस्तो भई बसिदिएकी रहिछन् । त्यसैको सम्झनास्वरुप चण्डेश्वरीको जात्रा गर्दा मरेको लास लगेको जस्तै गरी लाने गरेको रहेछ । चण्डेश्वरी मरिसकिन् भन्ने देखाउन जात्रामा कतै बाजा नबजाउने, जुत्ता नलगाउने र टोपी पनि नलगाउने र देवीलाई मलामीले लास लगेजस्तै गरेर उत्तानो पारी लाने चलन अहिलेसम्म चल्दै आइरहेको छ ।वैशाख पूर्णिमाकै दिन पलाञ्चोक भगवतीको जात्रा गरिन्छ । मानदेव प्रथमले स्थापना गरी राखेको पलाञ्चोक भगवती देशैभर प्रख्यात देवी हुन् । हरेक वर्ष वैशाख पूर्णिमा र बडा दशैँमा वर्षको दुईपटक पलाञ्चोक भगवतीको जात्रा गरिन्छ । एउटा किंवदन्तीअनुसार काभ्रे पलाञ्चोकको बुच्चाकोटका एकजना श्रेष्ठ थरका व्यक्तिको सपनामा आई पलाञ्चोक भगवतीले मलाई उत्तरतर्फ लानू भन्ने आदेश दिइछन् । निख्खर कालो कलात्मक एक फिट लामो महिषमर्दिनी भगवतीलाई बोकेर लाँदा बाटोको बीचमा पुग्दा लान सकेनन् । देवीको मूर्ति ज्यादै गह्रौं भएकोले बोकिराख्नै सकेनन् । देवीले नै नचाहेको होला भनी भगवतीको मूर्ति त्यही स्थानमा बिसाए । त्यहीँ नै पलाञ्चोक भगवतीको स्थापना गरेर काठमाडौंको मखन बहालका वज्राचार्य गुरुजुलाई पूजारी राखी भगवतीको जात्रा चलाइएको हो भनिन्छ ।

वैशाख पूर्णिमाका दिन बनेपामा चण्डेश्वरी जात्राको मूल पूजा भइरहेको बेलामा पलाञ्चोक भगवतीको जात्राको लागि देवघरबाट धामीले पूरा शरीर कमाउँदै भगवतीलाई खटमा राख्न ल्याउँछन् । बनेपाको चण्डेश्वरी, नाला भगवती, धुलिखेल भगवती, नक्साल भगवती, साँगा नासिका भगवती र शोभा भगवती दिदी–बहिनी भएकोले पलाञ्चोक भगवतीको जात्रा हुनुअघि तिनै दिदी–बहिनी भगवतीका स्थानबाट फूल, टीका, अक्षता र जल ल्याउने परम्परा छ । जल–प्रसादका साथै बोका बलि दिएर तीन दिनसम्म भव्यरुपमा पलाञ्चोक भगवतीको खट जात्रा गरिन्छ । विश्वमै प्रसिद्ध भइरहेकी कलात्मक पलाञ्चोक भगवती देवीको मूर्ति बनाउने कलाकारले अर्को ठाउँमा यस्तो मूर्ति बनाउन नसकून् भनी दाहिने हात काटिदिएको किंवदन्ती छ । देब्रे हातले नक्साल भगवतीको मूर्ति बनाएकाले ती कलाकारको देब्रे हात पनि काटिदिएका रहेछन् । तिनै कलाकारले दुई खुट्टाले धुलिखेलकी भगवती र शोभा भगवतीको मूर्ति बनाएर कलाकारिताको एउटा उत्कृष्ट नमुना नै प्रदर्शन गरेका रहेछन् । तर ती कलाकारको नाम भने अज्ञात छ ।वैशाख पूर्णिमाकै दिन बूढानीलकण्ठबाट पूर्व–दक्षिणतर्फ चुनिखेल गाविसमा नौलिंगेश्वरी भद्रकालीलाई बोका र राँगा बलि दिएर सरकारी पूजा गरिन्छ । गाउँका मानिसले घरैपिच्छेबाट कुखुरा, हाँस, बोका बलि दिएर पूजा गर्ने गर्छन् । नौलिंगेश्वरी भद्रकाली चुनदेवी, टुपेक, टुसाल, बूढानीलकण्ठ, चपली, कपन र वरिपरि छिमेकका सबै मानिसले आराध्यदेवीको रुपमा मान्दै आएका छन् ।

वैशाख पूर्णिमाकै दिन बूढानीलकण्ठ नारायण अर्थात् शेषनारायणको पाउमा गहना लगाइदिएर गणेश, भद्रकाली र अन्य देवताहरुको पनि जात्रा गरिन्छ । शैव र वैष्णवहरुले बूढानीलकण्ठ नारायणलाई स्वयम्भु पुराणअनुसार नागको हृदयबाट उत्पन्न भएको कमलको फूलका जनक प्रथम बुद्धको रुपमा पनि मान्दै आइरहेका छन् । बौद्धहरुले पनि इस्ट देवताका रुपमा आफ्नै ढंगले बूढानीलकण्ठ नारायणलाई पूजा गर्दै आइरहेका छन् । बूढानीलकण्ठनजिकै रहेको चपली र भद्रकालीको वडा नं. ७ मा पञ्चकन्याको जात्रा पनि वैशाख पूर्णिमाका दिनमै गरिन्छ ।वैशाख पूर्णिमाकै दिन बाँसबारीबाट नजिकै खड्ग भद्रकालीको धरमपुरमा पनि भद्रकालीको जात्रा गरिन्छ । वैशाख पूर्णिमादेखि पाँच दिनसम्म मौलिक बाजा बजाई भद्रकालीको खट जात्रा गरिन्छ । महाराजगन्ज, बाँसबारी र नारायणहिटी दरबारसम्म भद्रकालीको खट ल्याउने चलन छ । यो भद्रकालीको मूर्ति टुँडिखेलको भद्रकाली देवीसँग मिल्दोजुल्दो छ । धरमपुरका यी भद्रकाली र टुँडिखेलका भद्रकाली दिदी–बहिनी हुन् भनिन्छ ।वैशाख पूर्णिमाकै दिन पाटन हात्तीवनमा किरातीहरु गएर सुँगुर, कुखुरा, राँगा बलि दिई भूमि देवता पूजा गर्ने गर्छन् । साँझ टुँडिखेलको खुल्लामञ्चमा आई साकेला नाच नाचेर चाड मनाउने गर्छन् । यही दिन थापाथलीमा राणाहरुको कुल देवता पूजा गर्दा सयौं बोका बलि दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्