विवाहमा बढेको कोरोना देवालीमा डढेलो नबनोस् !



भगवती तिमल्सिना, काठमाडौं

कोरोना भाइरसले सात हजार नेपालीको ज्यान लिइसकेको छ– यो सबैलाई थाहा छ । तेस्रो लहर अझ कडा हुने विज्ञको भनाइमा पनि विश्वास छ । कोरोना संक्रमितलाई बचाउने अस्पतालहरू थाकिसकेका पनि सबैले अनुभव गरेका छन् । तर पनि विवाहको निम्तो मान्न र देवालीमा बोको ढाल्न रहर गर्नेहरू कम छैनन् ।

आज बुधबार वैशाख पूर्णिमा, धेरैले बोका काटेर कुलपूजा गर्ने दिन । नेपाल समाचारपत्रले ठाउँ–ठाउँमा फोन गरेर बुझ्दा यसपटक पूजा कार्यक्रम नै नराखिएको भन्ने जानकारीदेखि ‘मरिन्छ भनेर परम्परा छोड्ने ? कुलदेवता रिसाए भने के गर्ने ?’ भन्नेसम्मका प्रतिप्रश्नसमेत प्राप्त भएका छन् । तर, नेपालमा कोरोनाको तेस्रो लहर बढाउन भोज–भतेर नै कारक रहेको प्रमाणित भइसकेको छ:

–झापाको गौरादह नगरपालिका–४ को एक विवाहघरमा कोरोना संक्रमण फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । संक्रमणबाट गौरादह नगरपालिका–४ खङटाका बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । बेहुलाकी आमाको वैशाख २३ गते निधन भएको थियो भने बेहुलाको जेठ ७ गते । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँच जनाको पूरै परिवारमा संक्रमण फैलिएको थियो ।

–बर्दियाको बांँसगढी नगरपालिका–६ मा विवाह भोजमा सहभागी भएका बाबु–छोराको कोरोना संक्रमणका कारण निधन भयो । कोरोना संक्रमित बुबा गणेशबहादुर थापाको निधन भएको एक हप्तापछि छोरा बाबुराम थापाको सोमबार निधन भएको हो । आफन्तको विवाहमा कञ्चनपुर गएका छोरा बाबुरामलाई कोरोना सरेपछि उनी बिरामी परेका थिए । सिकिस्त भएपछि उनलाई भेरी अस्पताल बाँके लगिएको थियो ।

–कोरोना संक्रमणका कारण बुटवलका एक शाक्य परिवारमा ठूलो बज्रपात परेको छ । शाक्य परिवारले कोरोनाको दोस्रो लहर आइसकेको थियो, तर पनि छोराको विवाह धुमधामसँग गर्ने योजना बनायो । दुलाहाका ठूलाबा र ठूलीआमा काठमाडौंबाट बुटवल पुगे । आइसोलेसन नबसी सीधै परिवारमा घुलमिल भए । विवाहको तेस्रो दिनमा भाउजूलाई अस्पताल पु-याएका दुलहाका बाबु र उनका दाजु पनि कोरोना संक्रमणले गम्भीर अवस्थामा अस्पताल पुगे । दुई साताअघि अक्सिजनको कमी भएर दुलाहाकी ठूलीआमाको कोरोना संक्रमणकै कारण मृत्यु भयो । आलो घाउ ओभाउन नपाउँदै दुलाहाका बुबाको पनि कोरोनाकै कारण मृत्यु भयो । विवाहमा सहभागी २६ जना कोरोना संक्रमित भए । तीमध्येकी अर्की एक महिलाको पनि अक्सिजनको मात्रा कम भई बुटवल अस्पतालबाट चितवन मेडिकल कलेज अस्पताल लाँदालाँदै बाटोमै मृत्यु भयो ।

–सिन्धुपाल्चोक जिल्ला मेलम्ची बजारमा एक परिवारमा भएको विवाहमा गएका अधिकांशमा कोरोना संक्रमण देखियो र उनीहरूको परिवारमा समेत फैलियो । एउटा परिवारमा कल्पनै गर्न नसकिने बज्रपात परेको छ । घरको सम्पूर्ण जिम्मेवारी बोकेको छोरालाई कोरोना संक्रमण भई अस्पताल नपाएर काठमाडौंका ५ वटा अस्पताल चहारेपछि बल्ल सिनामंगलको एउटा अस्पतालमा आईसीयूमा भर्ना गरी निमोनिया भइसकेको अवस्थामा उपचार भइरहेको छ । यो खबर सुनेर चिन्तित ८५ वर्र्षीय वृद्ध बाबु एकाएक अक्सिजन कम भएर मेलम्चीको अस्पतालमा बिते । घर–परिवारका सदस्यहरूमा पनि कोरोना संक्रमण देखिएको छ ।

–काभ्रे पाँचखालका आचार्य परिवारमा पनि यस्तै अकल्पनीय घटनाले परिवारै शोकमा डुबेको छ । कान्छो छोरा विदेशबाट आएपछि धुमधामसँग विवाह गर्ने सपना बोकेर बसेकी एक आमाले छोराको विवाह वैशाख ११ गते बाजागाजासहित भक्तपुरको जडीबुटीबाट गराउनुभयो । आखिर उहाँले छोरा–बुहारीसँग बस्न पाउनुभएन । १४ गते उहाँलाई सास फेर्न गाह्रो भएर टेकु अस्पताल लगेको कोरोना संक्रमण देखियो र अन्ततः बित्नुभयो ।

–विवाह भोजमा सरिक कीर्तिपुर नगरपालिका–७ का दुई व्यक्तिले अकाल मृत्यु स्वीकार गर्नुप¥यो । केसी थरका ५२ वर्षीय संक्रमितको मेघा अस्पताल ललितपुरमा उपचारकै क्रममा भेन्टिलेटरमै प्राण गयो भने अर्की एक महर्जन महिलाले अस्पतालमा बेड नै नपाई यो संसारलाई छोड्नुप-यो ।

डाक्टरहरूको भनाइ छ– हेलचेक्र्याइँ नै संक्रमण र मृत्युको कारण हो । कोरोना भाइरसलाई केही हैन भनेर समयमै सुरक्षा नअपनाएका कारण यति धेरै मानिस संक्रमित, अपांग हुनुका साथै लाखौंको ज्यान गइसकेको छ ।शिरदेखि पाउसम्म शरीरको कुनै भाग नदेखिने गरी सासै थुनिएलाझैं गरी पीपीई ड्रेस लगाएर रात–दिन नभनी बिरामीको सेवामा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालकहरूको अहोरात्र पुकारा छ– कृपया अब त चेतौं, भोजभतेर त बाँचिएछ भने पछि पनि खाउँला नि ! कुनै पनि बहानामा भीडभाड नगरौं, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू पछिलाई सारौं !कीर्तिपुरका मृतक केसीकी श्रीमती कान्छी कार्कीले भन्नुभयो– ‘विवाहमा बढेको कोरोना देवाली, व्रतबन्ध, पूजापाठ, जमघटका कारण डढेलो बनेर नसल्कियोस्, हामी सबै सतर्क हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्