मौद्रिक नीतिको तेस्रो त्रयमासिक समीक्षा



नेपाल समाचारपत्र, काठमाडौं

कोभिड–१९ को दोस्रो लहरका कारण चालू आर्थिक वर्षमा चार प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतिपूर्ण रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रयमासिक समीक्षामा सो उल्लेख गरेको छ । संक्रमण न्यूनीकरणका निम्ति लागू गरिएको निषेधाज्ञाको प्रभाव अर्थतन्त्रमा पर्ने भएकाले आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न चुनौतिपूर्ण रहेको हो ।

कोभिड–१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दाबैंकिङ क्षेत्रले व्यवस्थापन गर्न सकेको थियो । तर, कोभिड–१९ को दोस्रो लहरको कारण अवलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैकिङ क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेको छ । पछिल्ला महिनामा बैकिङ्ग क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुनः शिथिलतातर्फ जाने राष्ट्र बैंकको अनुमान छ । केन्द्रीय बैंकका अनुसार पहिलो लहर शुरु भएदेखि कर्जाको माग घटेको तर लचिलो मौद्रिक नीतिका कारण तरलता प्रवाह बढेको हुनाले निक्षेप तथा कर्जाको ब्याजदरहरु घट्दै गएका छन् ।त्यस्तै एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेकाले विप्रेषण आप्रवाहको वृद्धि कायम रहनु चुनौतिपूर्ण रहेको केन्द्रीय बैंकको विश्लेषण छ । पछिल्ला महिनामा आयातको विस्तार हुन थालेकाले शोधनान्तर बचतको मात्रा घट्दै गएको छ ।

तर, पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकाले स्वास्थ्यजन्य वस्तुबाहेकको आयात प्रभावित हुने देखिन्छ । फलस्वरुप, शोधनान्तर बचत केही कमी हुँदै जान सक्ने सम्भावना रहे पनि चालू आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान रहेको छ ।चालू आर्थिक वर्षको तेस्रो त्रैयमाससम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहेता पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थालेको, भारतको मूल्यवृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रुपियाँ अवमूल्यन हुँदै गएको कारण आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने स्थिति छ ।कोभिड—१९ ले थलिएको अर्थतन्त्र पूर्ण रुपमा पुनरुत्थान नहुँदै दोस्रो लहरले मानव जीवन एवम् अर्थतन्त्र थप आक्रान्त हुन थालेकाले मौद्रिक सहजता र पुनरुत्थान लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै यसबाट वित्तीय स्थायित्वमा जोखिम आउन नदिनेतर्फ सजगता अपनाइने राष्ट्र बैंकले जनाएको छ ।

आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक पुनरुत्थानको लागि वित्तीय साधनको उपलब्धतालाई सहजीकरण गरी आर्थिक वृद्धिमा सहयोग पु-याउन मौद्रिक नीतिको विद्यमान कार्यदिशालाई निरन्तरता दिइने राष्ट्र बैंकको भनाइ छ । महामारीको उपचारमा सहजता ल्याउन यससँग सम्बन्धित वस्तु तथा उपकरण आयात, उत्पादन तथा वितरण गर्ने कार्यतर्फ कर्जा प्रवाह प्रोत्साहित गरिनेछ ।
यसैगरी विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंकदर र ब्याजदर कोरिडोरका व्यवस्थाहरु यथावत् राखिएको छ । भने स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराइने भएको छ ।

ब्याज पुँजीकरणको लागि स्वीकृत प्राप्त गरिसकेका विद्युत परियोजनाहरुको व्यावसाियक उत्पादन मिति परिवर्तन भएमा सो अबधिको ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको छ । निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । त्यस्तै निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाउने भएको छ । साथै निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने छन् । निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गरिनेछ ।बैंक तथा वितीय संस्थाले प्रवाह गर्ने कर्जामध्ये शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षणबापत् शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको ब्याजदर परिवर्तनसम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्यतीय माध्यमबाट तत्काल उपलब्ध गराउनुपर्ने भएको छ । असहज परिस्थितिलाई मध्यनजर गरी ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्क्रिय भएका बैंक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी त्यस्ता खाता सुचारु गर्न सक्ने छन् ।त्यस्तै बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिने गरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुने व्यवस्था मिलाइने छ । हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने छ । साथै राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था मिलाइने छ ।

– निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म कुनै पनि प्रकारको असुली वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाइने ।
– निषेधाज्ञा अवधिभर कर्जामा पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने ।
– शेयर धितो कर्जा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा ७० प्रतिशतसम्म कर्जा प्रवाह हुने ।
– अक्सिजन प्लान्टको लागि ५० करोडसम्म कर्जा दिइने ।
– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्च गर्न सक्ने । साथै राष्ट्रिय महŒवका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने ।

प्रतिक्रिया दिनुहोस्