कडा सुरक्षाको घेराबीच रातो मच्छिन्द्रनाथको रथ तानियो

उपत्यकाको लामो रथयात्रा सांकेतिक मै सीमित



सुनील महर्जन, ललितपुर

कडा सुरक्षाको घेराबीच बुंगद्यों अर्थात् रातो मच्छिन्द्रनाथको रथ शनिबार पुल्चोकबाट करिब डेढ सय मिटर परसम्म तानिएको छ । उपत्यकाको सबैभन्दा लामो रथयात्राका रूपमा रहेको यस यात्रालाई यस वर्ष छोटो दूरीसम्म तानेर सम्पन्न गर्ने तय गरिएअनुसार रथ तानिएको हो ।

निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको स्थानलाई निधेषित क्षेत्र घोषणा गरेको थियो । रथ तान्ने अवधिभर पुल्चोक पुग्ने सातवटा नाका बन्द गरिएको थियो भने रथलाई बीचमा पारेर सुरक्षा घेरा हाल्न प्रहरी र सशस्त्र गरी ५ सय परिचालन गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो ।सुरक्षा कमान्ड मिलाउन वरिष्ठ उपरीक्षक वज्राचार्य र प्रहरी उपरीक्षक प्रज्वल महर्जनलगायत खटिनुभएको थियो । रथ तान्ने अवधिभर जात्रा व्यवस्थापन समितिले निमन्त्रणा गरेका बाहेक सूचना विभागको पास भएका सञ्चाकर्मीलाई समेत सुरक्षाकर्मीले रथ तान्ने स्थानमा प्रवेश गर्न दिएको थिएन । रथको पांग्रा र अगाडिको घमा पूजा गरेपछि रथ तानिएको थियो । यसअघि गुठी संस्थानका प्रमुख खिमा वलीले रथमा ‘घकू’ राख्नेहरूलाई प्रतिकात्मकरूपमा पूजा सामग्री हस्तान्तरण गर्नुभयो ।

ज्यापू समाज यलःअन्तर्गत गाबहालःको आन्तरिक जात्रा व्यवस्था समितिबाट खटिएका करिब १ सय ५० जना स्वयंसेवकले चारवटा डोरी राखेर रथ तानेका थिए । सीमितरूपमा आएका गुरुजुको पल्टनले तोप पड्काएको थियो । धिमेबाजा पनि सीमित नै थिए भने नाय्खी बाजाको एक टोली आएका थिए । करिब दुई घण्टाको अवधिमा रथलाई रथ बनाइएको स्थान पुल्चोकबाट अशोक स्तुप अगाडिको मण्ड फल्चा (सोह्रखुट्टे) पाटीमा पु-याइएको थियो । मीननाथलाई परम्पराअनुसार टंगलबाट पुल्चोकस्थित महानगरपालिका कार्यालयसम्म तान्नुपर्नेमा टंगलबाट ५० मिटर परमात्र तानिएको थियो ।कोरोना संक्रमणको संख्या र मृत्युदर बढ्दै गएकाले गत वर्षझैं यो वर्ष पनि सांकेतिकरूपमा रथ तान्ने निर्णय गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित १९ वटा जातीय समाज खलः पुचःको गत वैशाख २८ गते बसेको बैठकले रथ सांकेतिकरूपमा तान्ने निर्णय गरेको थियो । बैठकले परम्परागत भोटो जात्रा नगरी रातो मच्छिन्द्रनाथलाई खटमा राखेर ज्योतिषीले निकालेका साइतअनुसार यही जेठ ५ गते बुंगमती पु¥याइने निर्णय गरेको छ ।

सांकेतिक रथयात्रामा स्थानीय बेखुसी

उपत्यकाको सबैभन्दा लामो रथयात्रा सांकेतिकरूपमा गर्ने निर्णयप्रति विशेषतः पाटनका अधिकांश युवा खुसी छैनन् । परम्परा र संस्कृतिप्रति रुचि राख्ने युवापुस्ताले सो निर्णयलाई नेतृत्वको असक्षमको उपजका रूपमा लिँदै सामाजिक सञ्जालमा आक्रोश र असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरू कोरोना जोखिमका कारणले भन्दा पनि रथयात्राको जिम्मेवारी लिन कोही तयार नभएपछि यस्तो अवस्था आएको दाबी गर्छन् ।

ललितपुर बालकुमारी निवासी शतीश शाक्य भन्नुहुन्छ– ‘रथ बनाउने बेला जोखिमको ख्याल कसैले गरेन । पहिले नै रथयात्रा गर्न सकिन्न भनेको भए वेश हुन्थ्यो । रथयात्रा गर्ने भन्दै अन्तिममा आएर यस्तो निर्णय किन गर्नुप¥यो ? किन ढाँट्छन् आफ्नै समाजका अगुवाहरू ?’ सार्वजनिक सरोकारको विषयमा मानिसको संवेदनशीलता एकातिर र समुदायको निर्णय अर्कोतिर भएको टिप्पणी गर्दै श्रीबहाल निवासी समिनराज शाक्य भन्नुहुन्छ–‘कोरोनाको जोखिम छ । तर, भदौ महिनासम्म पर्खिन सक्ने र विचार गर्न सकिने समय पनि त छ नि । त्यस बेलासम्म महामारी अवस्था के हुन्छ, त्यसैअनुरूप सम्वन्धित संस्थालाई स्वतन्त्र निर्णय गर्न दिने र अन्य सामाजिक संस्था र प्रशासनले सहयोग गर्ने नीति अपनाएको भए कोरोनाबाट बच्ने र धार्मिक आस्थाको पनि सम्मान हुने थियो ।’

ललितपुर च्यासल निवासी सुजन महर्जन समुदायको नेतृत्व तहमा बसेका मानिसहरूमा मैले बोलेको कुरा र मेरो कामप्रति जवाफदेही हुनुपर्दछ भन्ने भावको अभाव देखिएको बताउनुभयो । गत वैशाख २६ गते बसेको सरोकारवालाको भेलामा ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जन, उपाध्यक्ष मोहन व्यञ्जनकारले कोरोनालाई ध्यानमा राख्दै रथ तान्ने योजना सार्वजनिक गर्नुभएको थियो ।सोही भेलामा ललितपुर महानगरपालिकाका मेयर महर्जनले कोरोनाको दोस्रो भेरियन्टको जोखिम रहेका बेला रथ पुल्चोकदेखि गाबहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलसम्म सुरक्षित तरिकाले तान्नुपर्ने अवस्था रहेकोमा जोड दिँदै भन्नुभएको थियो– ‘अहिले हामी सबैको अग्निपरीक्षाको समय हो । शक्ति प्रदर्शन, तागत र बुद्धि देखाउने बेला हो ।’

उहाँले पुल्चोकबाटै चारवटा डोरी राखेर रथ तानेमा भौतिक दूरी सहजै कायम गरेर रथ तान्न सकिने र रथ यताउति ढलेमा क्रेनको मद्दतले रथ सीधा पार्ने सुझाव दिनुभएको थियो । उहाँले रथ तान्ने स्वयंसेवकका लागि आइसोलेसन, पीसीआर परीक्षण, मास्क, सेनिटाइजरलगायतका सामग्रीको व्यवस्था महानगरपालिकाले गर्ने र सर्वसाधारणलाई घरमै बसी टेलिभिजनबाट रथ तानेको हेर्नका लागि तीनवटा टेलिभिजनबाट रथयात्राको प्रत्यक्ष प्रसारण गरिने बताउनुभएको थियो । तर, त्यसको चार दिनपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सांकेतिकरूपमा रथयात्रा गर्ने निर्णयमा मेयर महर्जन, ज्यापू समाजलगायत सबै सरोकारवालाले हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्