अस्पतालजन्य हानीकारक फोहोर प्रशोधनशाला निर्माण गर्ने विषयमा छलफल



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अस्पतालबाट उत्पादन हुने हानीकारक फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट राख्ने विषयमा आज छलफल भएको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को व्यवस्थाअनुसार हानीकारक फोहोर उत्पादक आफैंले व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रविधि महङ्गो भएकाले साना अस्पताल र पोलि क्लिनिकहरुमा प्रणाली जडान गर्न व्यवहारिक देखिएन ।

यसबेला महानगरले गर्ने सहजीकरण कस्तो खालको हुन सक्छ? विषयमा छलफल केन्द्रीत थियो । हानीकारक फोहोरले सामान्य फोहोरलाई पनि जोखिमपूर्ण बनाएको छ । यसले फोहोर व्यवस्थापनमा सम्लग्न व्यक्ति, उसको परिवार र समुदायमा नकारात्मक असर पारिरहेको छ । यस प्रकारको फोहोरले माटो र पानीलाई दुषित बनाएर वातावरणीय समस्या बढाइरहेका छन् । यस खालका समस्या सबैका साझा समस्या भएकोले सहभागितामा समाधान खोज्नु पर्छ, सहभागीको भनाइ थियो ।

छलफलमा महानगरका प्रमुख प्रशाकीय अधिकृत राजेश्वर ज्ञवालीले, प्रविधि र प्राविधिक तथा छनौट भएको प्रविधि जडान गर्ने स्थान प्राप्त गर्ने प्रक्रियामा समय लाग्ने भएकोले परिणाम ल्याउन ढिलो हुने गरेको बताउँदै कानुनको पालना गर्दै प्रणाली जडान गर्ने छिटो बाटो आवश्यक रहेको धारणा राख्नुभयो ।

‘मेरो वडामा धेरै अस्पताल छन् । नमूनाका लागि यहाँबाट प्रशोधन प्लान्ट स्थापना गरौं ।’ बैठकमा वडा ३ का अध्यक्ष दीपक के. सी. ले, साझा प्रशोधन प्लान्ट स्थापना गर्ने हाम्रो योजना हो । त्यस क्रममा वडा १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक विकास डंगोलले, महानगरको वातावरणीय सुधारका लागि आफ्नो अर्जुन दृष्टि रहेको र यसलाई पूरा गराउन प्रतिवद्ध रहेको बताउनुभयो । वडा ४ का अध्यक्ष मोहन विष्टले काठमाडौंभरिको समस्या एकैपटक समाधान गर्ने गरी काम गरेर परिणाम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

बैठकमा विश्व स्वास्थ्य संगठनका हेल्थ एण्ड वेस्ट म्यानेजमेन्ट अफिसर निमेष ढकालले् प्रस्तुति गर्दै नेपालका कानुन र अन्तरराष्ट्रिय सन्धि तथा सम्झौताले तोकेको मापदण्ड भएका प्रविधि उपयुक्त भएको उल्लेख गर्नुभयो । ‘लो हिट वेस्ड र केमिकल बेस्ड प्रोसेस’ र ‘ड््युअल चेम्बर इन्सिनेरेसन विथ फ्युल ग्याँस ट्रिटमेन्ट’ प्रणालीले राष्ट्रिय अन्तरराष्ट्रिय दुवै कानुनले तोकेको मापदण्ड पूरा गर्ने ढकालको भनाइ थियो ।

छलफलमा ‘फिक्सनल हिट टेक्नोलोजी’ का विषयमा वेभ टे«डिङ् कन्सर्नले प्रस्तुतिकरण गरेको थियो । प्रविधिको नेपालका आधिकारिक विक्रेता रामईन्द्र न्यापानेका अनुसार यो इटालीबाट प्रवर्धित प्रविधि हो । विश्वका ५० वटा देशमा जडान गरिएको यो नेपालका लागि उपयुक्त छ ।

छलफलमा वातावरण निरीक्षक केशवराज जोशी, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. सुमनमान श्रेष्ठ, सिप्रेडका वातावरण वैज्ञानिक रामचरित्र शाहलगात अधिकारीहरुले जोखिमपूर्ण फोेहोर व्यवस्थापन नगरेका कारण सामान्य फोहोर पनि हानीकारक बनेको प्रति चिन्ता रहेको धारणा राख्नुभयो । यो अवस्थामा महानगरले अघि सारेको कार्यक्रम कार्यान्यनमा आउनु पर्छ । अनि मात्र परिणाम आउँछ । उहाँहरुको जोड थियो ।

फोहोर व्यवस्थापनको दिगो समाधानका लागि प्रविधिको प्रयोगलाई बढाउने कार्यक्रम अन्तर्गत आजको बैठक गरिएको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ छलफलका विषयमा जानकारी दिँदै भन्नुहुन्छ, ‘धेरै प्रकारका वातावरणीय समस्याको समाधान गर्नुपर्ने दायित्व छ । योमध्ये अस्पतालजन्य फोहोर व्यवस्थापन महानगरको प्राथमिकतामा छ ।’

प्रतिक्रिया दिनुहोस्