बाँकेका ६ पालिका ‘पूर्ण खोप’ युक्त



बाँके, नेस ।

बाँकेका ६ वटा स्थानीय तह ‘पूर्ण खोप’ पालिका घोषणा भएका छन् । अब दुईवटा पालिकामा पूर्ण खोप घोषणा हुन बाँकी छ । चालू आर्थिक वर्षमा राप्तीसोनारी गाउँपालिका ‘पूर्ण खोप’ घोषणा हुने तालिका बनेको छ   एक समारोहका बीचमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्नुभयो ।

पालिकामा १६ देखि २३ महिनाका ९ सय ३७ बच्चा छन् । तीमध्येमा ८ सय ५६ जनाले खोप लगाइरहेका थिए । ८१ जना बच्चा खोपबाट वञ्चित थिए । पूर्ण खोपको अभियानमा ती छुटेका बच्चालाई समेटिएको स्वास्थ्य शाखाका प्रमुख विष्णुप्रसाद चुदालीले जानकारी दिनुभयो । अहिले पालिकामा खोपबाट वञ्चित रहेका बालबालिका छैनन् ।पूर्ण खोप समन्वय समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले बाँकेलाई फाल्गुनमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार मात्रै नभई शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनपालिका प्रमुखलाई आग्रह गर्नुभयो । ‘राम्रो बाटो मात्रै नभएर हुँदैन, त्यो बाटोमा हिँड्ने मान्छे पनि स्वस्थ हुनुपर्छ, जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले भन्नुभयो, पूर्ण खोप पालिका बनाउन महिला स्वयंसेविकाको महवपूर्ण रोल रहेकाले उनीहरूको सुविधामा ध्यान दिनुपर्छ ।’

गाउँपालिकाका अध्यक्ष थारूले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले महिला स्वयंसेविकालाई अन्य पालिकामा भन्दा राम्रो सुविधा दिएको बताउनुभयो । अध्यक्ष थारूले पूर्ण खोपको अवस्थालाई निरन्तरता दिइने प्रतिबद्धता गर्नुभयो ।उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बाँकेका आठ पालिकामध्ये राप्तीसोनारीसहित ६ वटा पालिकामा पूर्ण खोप घोषणा भएको जानकारी दिनुभयो । अब नरैनापुर र बैजनाथ गाउँपालिका पूर्ण खोप हुन बाँकि रहेका छन् । शाहले पूर्ण खोप घोषणा भइसकेकाले पालिकाले वर्षेनी पूर्ण खोप सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप शाखा प्रमुख भेषराज शर्माले एक बच्चालाई पूर्ण खोप लगाउन ३० हजार तीन सय रूपैयाँ खर्च हुने गरेको जानकारी दिनुभयो । राप्तीसोनारीले खोपमा चार करोड ६१ लाख लगानी गरिरहेको बताउनुभयो । डब्लुएचओका डा। पवन उपाध्यायले बाल मृत्युदर घटाउन खोपले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले स्वागत मन्तब्य राखेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुरूम्बाङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका एसपी, वडाध्यक्षहरूको उपस्थितिको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्