स्थानीय तहमा पनि देखियो नेकपाको गुट



नेपाल समाचारपत्र, हेटौंडा

संसद् विघटनपछि चुलिएको नेकपाको विवादको असर मकवानपुरका स्थानीय तहमा पनि देखिएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका ८० मध्ये ४५ सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेसँगै पालिकामा समेत गुट देखिन थालेको हो ।

प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस गरिएपछि मकवानपुरका स्थानीय तहका केही प्रमुखहरुले आफूले विश्वास गरेका र आफ्ना चाहनाका नेताहरुको पक्ष खुलेर भनेका छन् भने कतिपय नेताहरु गुटको बैठक बस्ने र दिनभर गुटको भेलामा सहभागी भए पनि आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन् ।

हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले नेकपा विवादको विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताउनुभयो । थाहानगरका मेयर लवशेर बिष्टले पनि आफूले प्रतिक्रिया दिएर केही नहुने र आफू यस विषयमा बोल्न नचाहेको बताउनुभयो ।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले भने खुलेर प्रतिक्रिया दिनुभएको छ । अध्यक्ष घलानले बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सही भएको बताउनुभयो । ओली सरकार पार्टीसँग छलफल नगरी एकलौटीढंगले अगाडि बढेको उहाँको दाबी छ । पार्टीबाट जितेर गइसकेपछि पार्टीसँग छलफल गर्नुपर्ने उहाँको धारणा छ ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले अविश्वासको प्रस्ताव सही भएको बताउनुभयो । ओली सरकारले संविधानमा नभएको कुरा गरेका कारण नै यो सबै भएको उहाँले बताउनुभयो । ‘पदमा बसेर काम गरेपछि एकलौटी शासन गरिएकाले अविश्वास प्रस्ताव सही छ।’ –उहाँको भनाइ छ ।

कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले राष्ट्रिय राजनीति तरंगको रुपले हेर्दा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव स्वाभाविक रहेको बताउनुभयो । तर, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले भने मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव सिंगो मकवानपुरे जनताका लागि दुर्भाग्यको विषय रहेको टिप्पणी गर्नुभयो ।

मकवानपुरमा धेरै नेताहरु जन्मिए पनि ऐतिहासिक हिसाबले विकासको काममा मुख्यमन्त्री पौडेलको ठूलो योगदान रहेको उहाँको कथन छ । मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पतालदेखि गौरीटार रगंशाला, विद्यालय, भीमफेदी–काठमाडौं सडक, १४ नम्बर वडाका औद्योगिक क्षेत्रको विकास अगाडि बढाएको उहाँको बुझाइ छ ।

अध्यक्ष लामाले अर्को सरकारको विकास भए पनि पौडेलजस्तो नेता नभेटिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले कुनै नेताले गर्न नसक्ने काम गरेको अध्यक्ष लामाले दाबी गर्नुभएको छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले अविश्वासको प्रस्ताव एकदम गलत भएको बताउनुभयो । उहाँले आफ्नै घरमा आफैले आगो लगाइएको भन्दै आफूलाई यस विषय चित्त नबुझेको उल्लेख गर्नुभयो । अध्यक्ष उपे्रतीले आफ्नै पार्टीका नेताहरुले यस्तो गर्नु दुःखको विषय भएको बताउनुभयो ।

गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव के कारणले आएको आफूलाई केही जानकारी नभएको भन्दै केही प्रतिक्रिया दिन चाहनुभएन ।

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशमा सत्ताको जोडघटाउ शुरु भएको छ । तत्कालीन नेकपा एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएर एकल बहुमतको सरकारको नेतृत्व गरेका पौडेलविरुद्ध सत्तारूढ नेकपाभित्रको विवाद फुटतर्फ अग्रसर हुँदै गर्दा दाहाल–नेपाल पक्षबाट अविश्वास प्रस्ताव दर्ता भएको हो । अब प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वास प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष कांग्रेसको साथ आवश्यक देखिएको छ ।

मुख्यमन्त्रीको पक्षमा ३४ मत छ । मुख्यमन्त्रीविरुद्ध दाहाल–नेपाल समूहका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । पौडेललाई अब प्रदेश सरकार टिकाउन आवश्यक थप २२ मत कांग्रेससँग छ । यद्यपि, कांग्रेसले हालसम्म ठोस निर्णय लिन सकेको छैन । यसका लागि समन्वयको जिम्मा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्