बेलायतमा देखिएको सुपरस्प्रेडर स्ट्रेनसँग नआत्तिन डब्ल्युएचओको सुझाव



जेनेभा (एजेन्सी)

विश्व स्वास्थ्य संगठनले बेलायतमा प्राप्त कोविड १९ को सुपरस्प्रेडर स्ट्रेनलाई लिएर आत्तिनु आवश्यक नभएको र यो नियन्त्रण बाहिर पनि नभएको जनाएको छ । अत्यधिक संक्रमण फैलाउन सक्ने उक्त स्टनलाई लिएर डब्ल्युएचओको यो पहिलो बयान हो । नयाँ स्ट्रेनका कारण बेलायतसँग विश्वका करिब ५० देशले आफ्नो हवाइ तथा सडक यातायात बन्द गरिसकेको छ ।

डब्ल्युएचओका आपतकालिन मामिला प्रमुख माइक रेयानले एक अनलाइन ब्रिफिंगमा यस मुद्दामा पारदर्शिता हुनु जरुरी भएको र जनतालाई जे छ, त्यसको जानकारी दिन आवश्यक भएको बताए । तर यो भाइरस विकासको एक सामान्य प्रक्रिया भएको उनले बताए ।

‘हामीले यो भाइरसलाई धेरै तरिकाले ट्य्राक गरिरहेका छौं । कोरोना भाइरसलाई लिएर विकसित गरिएका खोप यो नयाँ स्वरुपलाई पनि ठीक पार्न सक्षम छ । यद्यपी यसलाई सुनिश्चित गर्नका लागि हामी जाँच गरिरहेका छौं ।’

डब्ल्युएचओले यो भाइरस कोरोना भाइरसको विद्यमान स्ट्रेन भन्दा घातक मान्न अस्विकार गरेको छ । बेलायनको आंकडाको आधार लिँदै आफुहरुसँग नयाँ स्वरुपको कोरोना भाइरस मौजुदा स्ट्रेनको तुलनामा मानिसलाई धरै विरामी गरिरहेको र अधिक घातक भएको कुनै प्रमाण नभएको उनले बताए ।

तर यो बढी सहज रुपमा फैलिरहेको प्रतित भएको उनले थपे । बेलायतबाट आउने उडानमाथि प्रतिबन्द लगाउने तथा यात्रामाथि रोक लगाउने देश जोखिमको आंकलन गर्दै सावधानी अपनाउने काम गरिरहेको माइक रेयानले बताए । उनले भने, ‘यो विवेकपुर्ण फैसला हो तर कोरोना भाइरस भित्र आएको यो परिवर्तन सामान्य प्रक्रिया हो ।’

कोरोना भाइरसको म्युटेसन अहिलेसम्म इन्फ्लुएन्जाको तुलनामा धेरै नै सुस्त रहेको र बेलायतमा प्राप्त नयाँ स्टे्र्नपनि घाँटीमा हुने संक्रमण जस्ता रोगका तुलनामा कम मात्रै संक्रमित भएको उनले बताए । डब्ल्युएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले यस प्रकारका कयौं उत्परिवर्तन तथा परिवर्तन देखिसकेको बताए ।

यसले अहिले उपयोग भइरहेको कुनै पनि चिकित्सा, औषधी, वा खोप अभियानमा भाइरसको संवेदनशिलतामा कुनै महत्वपुर्ण प्रभाव नपरेको उनले बताए । यस्तोमा यो छिट्टै समाप्त पनि हुन सक्छ । अत्यधिक संक्रमण हुने यो भाइरसको सम्भावित प्रभावलाई लिएर केही दिन वा हप्तामा सबै कुरा प्रष्ट हुन सक्ने डब्ल्यूएचओले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्