कोरोना हिरोको कथामा सिभिल सोल्जर्स



नेपालमा कोरोनाविरुद्वको लडाइँमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा सिभिल सोल्जर्स नामक डकुमेन्ट्री फिल्म बनेको छ।

भाग्यले बाँचेकाहरु र सहायक श्रीमान् जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर सिभिल सोल्जर्स बनाएका हुन्। यसको कार्यकारी निर्माता तथा लेखक पनि उनी आफैं हुन्। डकुमेन्ट्री कोरोना जोखिमका कारण नेपालमा आकस्मिकरूपमा भएको लकडाउन र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अवस्थामा पनि अनुकरणीय काम गरेका युवाहरुको कथामा केन्द्रित रहेको पाण्डेले जानकारी गराए।

डकुमेन्ट्री फिल्म आगामी बिहीबारदेखि राजधानीमा शुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) मा रिलिज हुँदै छ। लकडाउनका कारण मानिस घरमा थुनिएर बस्नुपरेका बेला निर्देशक पाण्डे र उनको टिम यो डकुमेन्ट्री बनाउन व्यस्त थियो। यसलाई पुकार तिमिल्सिना र अविनाश लामाले क्यामरामा कैद गरेका छन्।

काठमाडौंका रैथाने मनोजकुमार श्रेष्ठले ३७ वर्षको उमेरमा यस्तो सुनसान र पीडादायी परिस्थिति कहिल्यै पनि देखेका थिएनन्। एम्बुलेन्सले बिरामी बोक्न नमान्ने अनि मान्छे देखेर मान्छे तर्सिने परिस्थिति देखेपछि मनोज निजी कारलाई एम्बुलेन्स बनाउँदै सर्वसाधारण बिरामीहरुको सेवामा निस्किँदा अरूको सेवा गर्दागर्दै कोरोना संक्रमित भए। कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनी आफैं दंग परे, कुनै लक्षण नदेखिएकाले फाइल साटियो कि भन्ने आशंकासमेत गरे। गभर्वती श्रीमतीलाई घरमै छाडेर आइसोलेसनमा जाँदा उनले भोगेका पीडादायक क्षण अनि कोरोना जितेर फर्केपछिको उनको भोगाइ यो डकुमेन्ट्री फिल्ममा कैद गरिएको छ।

यसै गरी, भक्तपुरकै अरुण सैंजु र राजेश गाइँजु लकडाउनकै दिनदेखि भक्तपुर अस्पतालमा रहेर कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका थिए। सरकारको आग्रहमा अरुण र राजेशले नेपालको पहिलो कोरोना संक्रमितको शव उठाएका थिए। कोरोना संक्रमणका कारण पहिलो मृत महिलाको शव जलाएर फर्केपछि अरुणले टोलबासीबाटै अपमानित हुनुुपरेको थियो। जीवनमा पहिलोपटक लास छुँदा डराएका राजेशले अरुणसँग मिलेर थुप्रै शवको व्यवस्थापन गरिसकेका छन्। अहिलेसम्म ३४ भन्दा बढीको शव व्यवस्थापन गरिसकेका उनीहरुको प्रेरणादायी कथा, जंगलको उकुसमुकसपूर्ण एवं कहालीलाग्दो आइसोलेसन बसाइ र समाजले गरेको व्यवहारलाई फिल्ममा समेटिएको छ।

‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यति बेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयंसेवी युवाहरुको विभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा हेर्न सकिन्छ’, निर्देशक पाण्डे भन्छन्– ‘सेना, प्रहरी र सरकारी चिकित्सकहरुको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो। मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौं। आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौं।’
साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको सिभिल सोल्जर्सको शारदा गैरे निर्मात्री रहेकी छिन् भने ईश्वर कोइरालाले दृश्य सम्पादन गरेका छन्। आशिष चित्रकारको संगीत रहेको सिभिल सोल्जर्स योगेश पोखरेल, बिन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गरेका छन्।

प्रतिक्रिया दिनुहोस्