किसानको बचत नभएसम्म कृषि सुनिश्चित हुँदैनः कृषि मन्त्री भुसाल



काठमाडौं (नेस) ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास नहुने बताउनुभयो ।
कृषि मन्त्रालय अन्तरर्गतका कृषि विभाग र खाद्यका लागि कृषि अभियानले संयुक्त रुपमा आयोजना गरेको ४० औं विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास नहुने बताउनुभयो ।
‘बचतको अर्थ किसानलाई धेरै फाइदा दिनुपर्छ भनेको होइन तर उसको जीवनधान्न सक्ने हुनुपर्छ,’ मन्त्री भुसालले भन्नुभयो–कृषिले उसको जीवन धानेर भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ । यसले कृषि पेशा सुनिश्चित हुँदैन ।
खाद्य दिवस मनाइरहँदा विश्वका अर्बौ मानिसहरू किन खाद्य संकटको वरिपरी रहेका छन् भन्ने कृरा विर्सन नहुने मन्त्री भुसालले बताउनुभयो । दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्ति गर्ने गरी मन्त्रालयको काम गरिरहेको उहाँले दावी गर्नुभयो ।
‘हामीले किसानको तथ्यांक लिने, कृषि नीति, ऐन, नियमावली बनाउँदै छौं, यो पक्कै पनि किसानको हितमा हुनेछ भन्ने छ,’ उहाँले भन्नुभयो ।
उहाँले कृषिलाई ४० वर्षको अवधिमा धेरै मेहनतको साथ विगारेको बताउँदै विदेशीबाट प्राप्त सहयोगले गर्दा कृषिमा आफ्नोपना नदेखिएको बताउनुभयो ।
कृषकले बाटोमा दुध किन फ्याल्छन्, किन टमाटर फ्याल्छन् यो गहिरो अध्ययनको विषय रहेको बताउँदै उहाँले अंक वृद्धि तथा नाफा कमाउने सोचले मान्छेको अवमूल्यन हुन थालेको बताउनुभयो । मान्छेले नाफा कमाउन मात्र सोच्छन्, वृद्धिका लागि मात्र सोच्छन् जसले गर्दा मान्छेको अवमूल्यन भएको उहाँले बाउनुभयो ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माले कृषिलाई बचाइ राख्न चुनौती रहेको बताउनुभयो । आत्मनिर्भर हुने तरिकाले कृषि प्रणालीको विकास गरी यसमा रोजगारी सृर्जना गर्नुपर्ने बताउँदै उहाँले रैथाने बालीलाई प्रवर्धन गरी पोषिलो खानेकुराको उत्पादन बढाउँदै लैजान पर्ने बताउनुभयो । सप्ताहव्यापी रूपमा मनाइने ४० औं विश्व खाद्य दिवस कार्यक्रम आइतबारबाट सुरू भएको छ । यस वर्षको नारा हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ रहेको छ ।
कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोडदिनुपर्ने बताउनुभयो । अब खाद्यान्न उत्पादनमा मात्र जोड नदिएर पोसिलो खाद्यान्नको उत्पादन कसरी हुन्छ त्यस कुरामा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–जसलाई हामी खाद्यान्न दिन्छौ त्यो स्वच्छ र पोषिलो हुनेपर्छ अनि मात्र दिगो कृषि सफल हुन्छ ।
खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताउनुभयो । कोरोनाका कारण कृषि उत्पादनमा कमी आउने बताउँदै उहाँले यसलाई अवसरको रुपमा लिनुपर्ने बताउनुभयो ।
खाद्य सुरक्षाका लागि रसायनिक मल, विषादीलाई नियन्त्रण गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो । उहाँले कोरोनाले गर्दा कृषि क्षेत्रमा निकै प्रभाव पारेको छ तर यसलाई कृषि विकासका लागि अवसरको रुपमा पनि लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्