समाजवादको भ्रम



जनार्दन घिमिरे

बितेको एक शताब्दीमा समाजवादको सन्दर्भमा लाखौ लेख, निबन्ध तथा पुस्तकहरु लेखिए होलान् र लेखिँदै छन् भने त्यत्तिकै संख्यामा खोज तथा अनुसन्धानहरु भए होलान् र हुँदै छन् । त्यस्तै किसिमले समाजवाद स्थापनाको नाममा संसारभर ठूल्ठूला आन्दोलनहरु भए, जसमा लाखौं मानिसले आप्mनो जीवनको बलिदान दिए भने लाखौंको संख्यामा ज्यान लिइयो ।

आज पनि संसारभरका विभिन्न मुलुकमा राजनीतिक दल, वर्गीय संगठन, नागरिक समाज तथा विभिन्न संघसंस्थाहरु समाजवाद स्थापनार्थको अभियानमा सक्रिय रहेका छन् । सामान्य बुझाइमा समाजवाद एउटा यस्तो विचारधारा वा सिद्धान्त हो, जसले समतामूलक समाज वा राज्यको कल्पना गर्दछ । समाजवादको मुख्य उद्देश्य नै समाजमा आर्थिक समानता स्थापना गर्नु भएकोले यो पूँजीवादको ठीक विपरीत छ अर्थात् यस व्यवस्थामा देशको सम्पूर्ण स्वामित्व सरकारमा निहित हुन्छ ।

आर्थिक असमानताको अन्त्य, सम्पत्तिमाथि निजी अधिकार तथा व्यक्तिवादी सोचको अन्त्य गरी सामूहिक स्वामित्वको स्थापना, न्याय तथा समानतामा आधारित व्यवस्थाजस्ता विशेषताहरुको कारणले समाजवाद एउटा उत्कृष्ट राजनीतिक, आर्थिक तथा सामाजिक दर्शन रहेको समाजवादी चिन्तक एवं यसका पक्षधरहरुको धारणा रहेको पाइन्छ ।

समाजवाद नक्सा छापेजसरी छापेर आउने प्रणाली होइन । न त राजतन्त्रको ठाउँमा गणतन्त्र र हिन्दू धर्मको ठाउँमा धर्मनिरपेक्ष लेखेजसरी संविधानमा समाजवाद लेख्दैमा समाजवाद आउँछ । पार्टीको नाम समाजवाद राख्दैमा अथवा आफूलाई समाजवादी हँु भन्दै भाषण ठोकेकै भरमा समाजवादी हुने भए हिटलरको पार्टीको नाम पनि नेसनल सोसलिस्ट र उनी पनि आफूलाई समाजवादी नै हँु भन्थे । समाजवाद भनेको त उन्नत स्तरको लोकतन्त्र हो । अतः जुन मुलुकमा इमानदारीताका साथ लोकतान्त्रिक अभ्यासहरु हुने गर्दछ, त्यो मुलुकले मात्र समाजवादको यात्रा तय गर्न सक्छ, जसका लागि शासकहरु मात्र होइन कि नागरिकसमेत उच्च नैतिक, इमानदार, अनुशासित, विवेकी अनि चेतनशील हुन अनिवार्य हुन्छ ।

अर्को कुरा, मुलुकको आर्थिक सबलता समाजवादको लागि अनिवार्य सर्त मानिन्छ । जुन मुलुक आर्थिकरुपले सम्पन्न नभई समाजवादको बाटोमा हिँड्ने प्रयत्न गर्दछ त्यो मुलुकले सोभियत संघ, पूर्वी युरोप वा पश्चिम बंगालको नियति बेहोर्नुपर्ने निश्चित छ । फ्रान्सका वर्तमान राष्ट्रपति इमैनुएल म्याक्रोले सन् २०१५ मा समाजवादी पार्टीसँग नाता तोड्दै लोकतान्त्रिक क्रान्तिका लागि २०१६ मा आन मार्स आन्दोलन शुरु गरे ।

त्यसै नामबाट पार्टी बनाई त्यसको ठीक एक वर्षपछि २०१७ मा भएको राष्ट्रपतिको निर्वाचनमा सोसलिस्ट र रिपब्लिकनहरुको ६० वर्षदेखिको वर्चश्व तोड्दै मात्र ३९ वर्षको उमेरमा उनी ६६ प्रतिशत मतका साथ निर्वाचित हुनुले मुलुकको समृद्धिमा एकमात्र वा उत्तम विकल्प समाजवादी नारा नभएको बुभ्mन सकिन्छ ।
वर्तमान नेपालको राजनीतिक बजारमा समाजवाद सबैभन्दा सजिलै बिक्ने विचार वा सिद्धान्त भएको छ ।

समकालीन नेपाली राजनीतिमा सफल हुनु छ भने तपाईं समाजवादी हुनुस् वा नहुनुस् तर समाजवाद जप्न भने नछोड्नुस् । त्यसमा पनि संविधानमा नै नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर उल्लेख भइसकेपछि यो संविधानलाई स्वीकार गरी सक्रिय रहेका हरेक राजनीतिक दलले सिद्धान्ततः समाजवादलाई आत्मसात् गरेको मान्नुपर्छ । वर्तमान सत्तारुढ नेकपादेखि संविधान मान्ने, नमान्ने सबै कम्युनिस्ट घटकहरु समाजवादी, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस समाजवादी, मधेसमा बलियो उपस्थितिसहित प्रदेश २ को सत्तारुढ जनता समाजवादी, सबैलाइ यो शब्द ज्यादै प्रिय छ, सिवाय राप्रपा र केही नाममात्रका दलहरुलाई बाहेक ।

तर कुन र कस्तो समाजवाद ? र, कसरी समाजवाद ? भन्नेबारेका प्रश्नहरु ज्यूँका त्यूँ नै छन् । सबै दलले भनेको समाजवाद एउटै हो भने एउटै उद्देश्यका लागि यति धेरै दल किन चाहियो अनि फरक–फरक हुन् भने नेपालको संविधानमा लेखिएको समाजवादलाई सिद्धान्ततः अंगीकार गर्ने दल कुन हो भन्ने सम्बन्धमा अन्यौल कायम नै छ ।

नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी भन्न रुचाउँछ तर २०४६ सालपछि अधिकांश समय सत्तासीन भएको सो पार्टीको नीति तथा व्यवहारमा कहीँ–कतै समाजवादी चरित्र त देखिएन नै, उल्टो मुलुकमा रहेका थोर–बहुत सार्वजनिक उद्योगहरुलाई टाट पल्टाउने र निजीकरणको नाममा बिक्री गर्ने कार्यको शुभारम्भ समाजवादी कांग्रेसबाट नै भयो । आफूलाई लोकतन्त्रको मियो ठान्ने कांग्रेसको लोकतन्त्र भनेको दलीय राजनीति, आवधिक निर्वाचन र वाक स्वतन्त्रता नै हो ।

यति भएपछि राज्यसत्तामाथि जनताको स्वामित्व स्थापना हुन्छ र त्यसपछि सत्तासीनहरुले जे–जे गरे पनि सबै लोकतान्त्रिक मूल्य–मान्यताअन्तर्गत नै पर्दछन् । सत्तारुढ नेकपालगायतका कम्युनिस्ट घटकहरु एकातर्फ निजी सम्पत्ति, वर्ग, बजार र मुनाफाको अन्त्य नै मानव मुक्ति हो भन्दै साम्यवादी नारा घन्काउँदै माक्र्स, लेनिन, स्टालिन र माओको पूजा गर्दै हिँड्छन् । त्यसबाट आफूहरुलाई स्वतन्त्र घोषणा गर्न पनि सक्दैनन् । अर्कोतर्फ आफूहरुलाई लोकतन्त्रवादी प्रमाणित गर्न हजार मिथ्या प्रयासहरु गरिरहेका छन् ।

सत्तारुढ नेकपा भकारो सोहोर्दै हुर्किएकी विद्या भण्डारी, अर्काको घरमा आश्रय लिई हुर्किएका खड्गप्रसाद ओली अनि जनयुद्धको नाममा दश वर्षसम्म लुटपाट र हत्या–हिंसाको नेतृत्व गरेका पुष्पकमल दाहाल राज्यसत्ताको सर्वोच्च पदमा पुग्नुलाई नै सर्वहाराको स्वामित्व स्थापना भएको भ्रम छरी समाजवाद उन्मुख संविधानमा साम्यवादी राग अलाप्दै, रमाउँदै छ ।

लोकतन्त्रलाई बुभ्mने सन्दर्भमा कांग्रेस, नेकपा अनि बेलाबखत मोलमोलाइका साथ सत्तामा पुगेका अन्य दलहरुका बीचमा केही सैद्धान्तिक भिन्नता देखिए तापनि व्यावहारिकरुपले सबै उस्तै देखिन्छन् । अहिलेसम्म सत्ताको नेतृत्व गर्ने मौका पाएको नेपाली कांग्रेस होस् कि नेकपा, दुवै दल भ्रष्ट र दलालहरुलाई पृष्ठपोषण गर्ने बिचौलिया कम्पनीको रुपमा स्थापित हुँदै छन् । दुवैका लागि राजनीति भनेको शक्ति र सम्पत्ति आर्जन गर्ने उद्योग भएको छ । अतः सत्ताको सौदाबाजी नै उनीहरुको लागि लोकतन्त्र हो ।

समाजवाद कार्यान्वयनमा सामाजिक चरित्रको मुख्य भूमिका हुन्छ । आजको नेपाली समाज भीडबाट परिचालित छ । भीडको चरित्र नै आवेगी र अविवेकी हुने हुँदा भीडले लिने निर्णय कहिल्यै पनि समाज र मुलुकको हित अनुकूल हुँदैन । गरिबीमा बाचेकाहरुलाई सपना देखाउन सजिलो छ । आजका शासकहरु विगत ३० वर्षदेखि हरेक चुनावमा थरी–थरीका सपना बाँड्दै भीड परिचालन गरी सत्तामा पुग्न सफल भइरहेका छन् । अनुहारमा कालो दलिएका नेता भनाउँदाहरुबाट परिचालित भीडले दाग नेताको अनुहारमा होइन ऐनामा पो हो त भन्दा ऐना सफा गर्न जाने आज नेपाली समाजको चरित्र भएको छ ।

आज यहाँ कोही मान्छे देखिँदैन, कोही नेपाली देखिँदैन, आज यहाँ कोही कांग्रेस छन्, कोही कम्युनिस्ट, कोही जनजाति अनि कोही मधेसी र दलित, जसले गर्दा उनीहरु सत्य बुभ्mन खोज्दैनन्, बुझेमा पनि प्रकट गर्न सक्दैनन्, जतिसुकै अन्याय–अत्याचार भए पनि सहेर बस्छन् अनि यिनका हाइकमान्डले दिएको आदेश चुपचाप पालना गर्छन् । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, सामाजिक सद्भाव, सांस्कृतिक पहिचान, न्याय तथा इमानदारीको पक्षमा बोल्ने प्रतिगामी अनि जातीय, क्षेत्रीय, धार्मिक कुराहरु उठाउने विखण्डनका पक्षधर, परधर्म तथा बाह्य शक्तिको चलखेलमा लागेकाहरु बेइमान, भ्रष्ट तथा दलालहरु अग्रगमनकारीको रुपमा स्थापित हुन खोज्दै छन् । यसरी झुट, होहल्ला र नियोजित प्रचारबाजीमा रमाउने अनि सृष्टिकर्ताको उपेक्षा र संहारकर्ताको चाकडी गर्ने समाजमा तिनै विवेकहीन, भ्रष्ट तथा नैतिकहीन शासकहरुले कस्तो समाजवाद लागू गर्लान् ? अनुमान गर्न सकिन्छ ।

सम्पत्तिमाथि निजी अधिकार नहुने भएकोले समाजवादी शासन व्यवस्थामा पूँजी निर्माण सम्भव हुँदैन, जसले गर्दा आर्थिकरुपले कमजोर मुलुकले समाजवाद धान्न सम्भव छैन । आफ्नो बुद्धि, विवेक र परिश्रमबाट प्राप्त भएको फलको अधिकार यदि आफूमा रहँदैन भने उत्पादन वा उत्पादकत्वमा वृद्धि गरी पूँजी निर्माण गर्न कोही उत्प्रेरित हुँदैन, यो मानवीय स्वभाव नै हो । जुन मुलुक कुनै पनि कुरामा आत्मनिर्भर छैन, जसको व्यापार घाटा भुटानजस्तो मुलुकसँग कैयौं गुणाले बढी छ, जुन मुलुक करोडौं जनताका लागि महामारीमा समेत एउटा भेन्टिलेटर किन्न सक्दैन, जुन मुलुकको परराष्ट्रमन्त्री विदेशी राजदूतबाट एक कार्टुन औषधि थाप्न पुग्छन् अनि जुन मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा भन्सार र रेमिट्यान्समा निर्भर छ, त्यो मुलुकमा आउने समाजवाद कस्तो होला ?

जबदेखि नेपालको शासन सत्ता समाजवाद उन्मुख संविधानका निर्माणकर्ताहरुको हातमा गयो, त्यस बेलादेखि एकपछि अर्को गर्दै सार्वजनिक उद्योगधन्दाहरु त टाट पल्टिए नै मुलुकमा भएका थोर–बहुत पूँजीपतिहरु पनि कि त धराशायी भए, कि त दलाल–बिचौलिया बन्न पुगे, जसले गर्दा बेरोजगारी बढ्नुको साथै भ्रष्टाचार र बेथितिहरु मौलाउँदै गए । शासकहरुलाई जब आफूले बोकेको विचार अपांग लाग्न थाल्छ अथवा विचारप्रति जब उनीहरुको विश्वास हराउँछ तब नातावाद, कृपावाद, दलाल, बिचौलियाहरुप्रति लगाव बढ्दै जान्छ अनि भोगविलास, सम्पत्ति आर्जन नै उनीहरुको एकमात्र ध्येय बन्छ । जुन मुलुकमा राज्य सत्ता र आर्थिक शक्ति एउटै व्यक्ति वा समूहको हातमा जान्छ, त्यो मुलुकमा अरु कुरा त परै जाओस् विचारको स्वतन्त्रता रहने सम्भावना पनि हराएर जान्छ । आज नेपाल त्यही बाटोमा अग्रसर हुँदै छ ।

समाजवादी अलापले मल आउँदैन, सडक बन्दैन, विद्यालय, विश्व विद्यालय, अस्पताल बन्दैन । त्यस्तै रेल अनि पानीजहाज चल्दैन, भान्सामा ग्यास जोडिँदैन, प्राकृतिक विपद् तथा कोरोना महामारी नियन्त्रण हुँदैन । रोजगारीका लागि उद्योग स्थापना हुनुप¥यो, आर्थिक विकासका लागि सुशासन हुनुप¥यो । पर्यटन, कृषि, जलविद्युत्, जडीबुटीलगायतका सम्भावित क्षेत्रहरुको पहिचान गरी लगानी गर्नुप¥यो । आत्मनिर्भरताका लागि उत्पादनमा वृद्धि हुनुप¥यो ।

काठमाडौंको धारामा पानी आउन मेलम्ची नै बन्नुपर्छ, वैचारिक राग फलाक्दै राष्ट्रपतिलाई हेलिकोप्टर चढाएर यती र ओम्नीलाई काखी च्याप्दैमा यी सब कुरा हुनेवाला छैनन् । अतः शासकहरुले देखाएको समाजवादको सपनाबाट जबसम्म आमनेपाली भ्रममुक्त हुँदैनन्, तबसम्म संगठित र व्यवस्थित लुट कायम रहिरहनेछ अनि मुलुकको ओरालो यात्रा चलिरहने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्