सबै खुल्यो, सिनेमा हलको पालो कहिले ?



विदुर गिरी, काठमाडौं

सामाजिक दूरी कायम गर्दै सिनेमा हल चलाए नयाँ चलचित्रको पैसा नउठ्ने, पुरानो चलाउँदा दर्शक नआउने– यस बेला धर्मसंकटमा छन् चलचित्रकर्मीहरू ।

फिल्म वितरक र प्रदर्शकको साझा संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुसँदन प्रधान भन्नुहुन्छ– ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सिनेमा घर सञ्चालनमा ल्याउन तथा सुटिङ शुरू गर्न चलचित्र विकास बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालयजस्ता सरोकारवाला निकाय र मन्त्रालयमा पहल गरिरहेका छौं। कोभिड–१९ को समयमा अमेरिका, भारतजस्ता देशले अपनाएका उपायहरूको मोडालिटीसहित सम्बन्धित मन्त्रालयमा कागजात बुझाएका छौं।’

निर्माता तथा प्रदर्शकसमेत रहेका प्रधानको भनाइ छ– ‘चलचित्र व्यवसाय आमव्यक्तिमा निर्भर छ, त्यसैले कोरोना संक्रमण जोखिमलाई हेरेर बन्द गर्दा शुरूमै हाम्रो व्यवसाय बन्द गरियो, खोल्दा पनि सबैभन्दा अन्तिममा खोलिन्छ होला । भारतमा सरकारले अक्टोबरदेखि खोल्ने भनेको छ । हामीलाई पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलले सकरात्मक कुरा गर्नु भएको छ ।’

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का भौतिक दँरी र स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र क्षेत्र पुनः सञ्चालन गर्न पाउनुपर्ने बताउनुहुन्छ ।

त्यसो त सरकारले रोक लगाए पनि छिटपुटरूपमा फिल्म निर्माणका काम भइरहेका छन्। सोमबारमात्र राजधानीमा एक समारोहका बीच हिँड्दा हिँड्दै नामक फिल्मको शुभ मुहूर्त गरी पत्रकार सम्मेलनसमेत गरिएको छ भने निर्माता निर्देशक शोभित बस्नेतको लगानीमा लक्ष्मीपूजा नामक फिल्म निर्माण भइरहेको छ। हल खुल्ने नखुल्ने टुंगो नलागे पनि यो फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने घोषणा गरिएको छ।

‘हाम्रो व्यवसाय भनेकै फिल्म निर्माण हो। फिल्म निर्माण नै रोकेर हामीले काम गर्ने के त? काम त गर्नै प¥यो। म त हल खुलेन भने डिजिटल प्लेटफर्मबाट पनि मेरो रिलिज गर्छु भनेर ५० प्रतिशत सुटिङ युनिट घटाएर मेरो फिल्मको सुटिङ गरिरहेको छु’, बस्नेत भन्नुहुन्छ– ‘मेरो विचारमा सरकारले नै हल खोल्न दिए पनि अहिले हल खुल्नेवाला छैन। अहिले हल खोल्दा त्यसका कर्मचारीलाई दशैं तिहारको पेस्की दिनुपर्छ, अर्को विदेशी फिल्म आएन भने मल्टिप्लेक्स हलमा एउटा नेपाली फिल्म चलाएर पुग्दैन। त्यसैले तत्काल हल खुल्ने सम्भवना म देख्दिनँ।’

लकडाउन लगाउनु ठीकअगाडि रिलिज गर्न तम्तयार भएका फिल्महरूको सूची पनि लामै छ। तर हल नखुल्दा उनीहरूको लगानी थप जोखिममा परेको छ। निर्माता निर्देशक सुदर्शन थापाको फिल्म म यस्तो गीत गाउँछु २ पनि यही लहरको फिल्म हो। तर हल खुलिहाले पनि कसरी लगानी फिर्ताको जोखिम घटाउने भन्ने चिन्ता उनलाई छ। ‘संघसंस्था हल खोल्न पहल गरिरहका छौं भन्नुहुन्छ– तर सामान्य अवस्थामा पनि फिल्म सुपरहिट भएपछि बल्ल केही फाइदा हुने हो।

अहिले त आधा दर्शक राखेर फिल्म रिलिज गर्दा झनै रिस्क छ। अहिले पुरानो फिल्म देखाएर हल सञ्चालन गर्ने कुरा आइरहेको छ। कोरोनाको त्रासमा पुरानो फिल्म चलाउँदा हल झन् खाली हुन्छ, त्यसले बजार बिग्रन्छ। त्यसैले हल खोल्न त्यति सम्भव देखिएको छैन। सुटिङ र अरू काम सुचारु गर्न हल खुल्ने ठेगान नभई कसरी अगाडि बढ्ने? यो बेलामा नयाँ सिनेमा बनाएर बजेट फ्रिज गर्न कसले चाहन्छ र? सरकारले सेल्फ ल्यान्डिङ नगरे आज काम गरेर आजै खाने प्राविधिकदेखि फिल्म व्यवसाय गर्ने हामी सबै मारमा पर्छौैं।’ –सुदर्शन भन्नुहुन्छ ।

‘यो बेलामा हल खोल्नका लागि नखोली पहिलेजस्तै नर्मल बनाउनु जरुरी छ। साढे २ करोडको लगानी भएको फिल्म रिलिज गर्दा एउटा निर्माता मर्ने कि सय, डेढ सयवटा हलले रिस्क प्mयाक्टर कम गर्ने? हलले आप्नो स्तर हेरर ५० हजारदेखि १ लाख रुपियाँसम्म ग्यारेन्टी गर्ने हो भने म फिल्म रिलिज गर्न तयार छु। नयाँ र ठूलो अनि दर्शकले पर्खिरहेको फिल्म चलाए दर्शक आउने सम्भावना छ ।

पुरानोको लागि आउँदैनन्। बुद्धि पु¥याएर सबैले सानो सानो जोखिम उठाउनुपर्छ। गाडी र असनमा त्यतिकै भिड छ भने राम्रो फिल्म लगाए हलमा पनि दर्शक आउँछन्।’ –थापा भन्नुहुन्छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार यस सम्बन्धमा आज बुधबार सीएमसीसँग छलफल हुनेछ र त्यसबाट केही परिणाम आउनेछ ।

प्रतिक्रिया दिनुहोस्