बाढीको दाउराले सयौंको गुजारा



मिला दरै, तनहुँ

लकडाउनको समयमा उद्योग, कलकारखाना र यातायात व्यवसाय बन्द हुँदा मजदुरहरु बेरोजगारीका कारण फुर्सदिला छन् ।
तर व्यास नगरपालिका–१ दमौली मादीसेती नदी किरानामा बसोबास गर्दै आएका सयौं स्थानीयलाई भने नदीमा आएको बाढीले ल्याएको दाउरा छोप्न भ्याई नभ्याई छ ।

मादीसेतीको बाढीले ल्याएको दाउरा छोपेर सयौं परिवारको गुजारा चलेको छ । बाढी आएको समयमा एक जनाले २ देखि ५ भारीसम्म दाउरा छोप्ने गर्दै आएको व्यास नगरपालिका–१ निर्मलनगरका धनबहादुर थापाले बताउनुभयो ।

कोरोनाको प्रभावका कारण भिडमा जानुभन्दा पनि वर्षायाममा पानी परेपछि आफूहरु मादीसेती नदी किरानामा जाने र दाउरा छोप्ने गर्दै आएको उहाँ बताउनुहुन्छ ।

‘कोरोनाको प्रभावले भिडभाडमा जाने अवस्था पनि छैन, त्यसैले पानी परेपछि मादीसेतीको किरानामा जाँदा २÷४ भारी दाउरा बटुलिन्छ’, थापा भन्नुहुन्छ– ‘संकलन गरिएका दाउरा बेच्ने हो भने पनि राम्रै पैसा हात पर्छ ।’ आफूले मंगलबार नदीमा आएको बाढीमा २ हजार रुपियाँभन्दा धेरै मूल्य बराबरको ५ भारीभन्दा धेरै दाउरा संकलन गरेको उहाँले बताउनुभयो ।

नदी किनारामा दाउरा छोप्ने पुरुषभन्दा महिलाको संख्या बढी हुने गरेको व्यास–१ जिरोटारकी ५२ वर्षीया राममाया रानाले बताउनुभयो । मंगलबार आएको बाढीमा एकै घरका आफूहरु तीन जना भएर दाउरा छोपेर करिब ६ भारी बनाएको उहाँ बताउनुहुन्छ ।

‘मादीसेतीमा बाढी आएपछि दाउरा पनि ल्याउने गर्छ’, उहाँले भन्नुभयो– ‘छोपेर राखेको दाउराले पालिएको ४ वटा बंगुरलाई कुँडो पकाउन दाउराको गर्जो टरेको छ ।’

असारदेखि भदौसम्म मादीसेतीमा आउने बाढीले दाउरासमेत बगाएर ल्याउने गरेकोले आफूहरुको ध्यान बाढीमा नै केन्द्रित हुने गरेको उहाँले बताउनुभयो । जंगलमा जान नपाइने भएकाले आफूहरुले करिब १८÷२० भारी दाउरा संकलन गरिसकेको उहाँ बताउनुहुन्छ ।

बाढीले ल्याउने दाउरा छोप्नका लागि महिला तथा पुरुषहरु मादीसेतीको किनारामा करिब १० फुट लामो बाँसको अंकुश परेको भाटा लिएर बस्ने गर्छन् । दाउरा देख्नेबित्तिकै अंकुश परेको भाटाले छोप्ने र पानीमा तान्दै हातले समातेर किरानामा दाउरा संकलन गर्ने गरिन्छ । दाउरा कसैले पनि नचोरोस् भनेर एकै घरका दुई÷तीन जना जाने गर्छन् ।

बजारमा दाउरा किन्नसमेत नपाइने र किन्नै परे फर्निचरहरुमा प्रतिभारीको ४ सय रुपियाँसम्म तिर्नुपर्ने भएपछि आफूहरुले कँुडो र खाना पकाउनसमेत बाढीको दाउरा छोप्ने गर्दै आएको व्यास–१ हाइस्कुलटारकी ४८ वर्षीया श्रीमाया कुमालले बताउनुभयो ।

‘बाहिर दाउरा किन्नसमेत पाइँदैन, वनजंगल पनि सबै जसो सामुदायिक बनाएको छ, यहाँपछि आएकाले वनमा सदस्य लिन सक्ने अवस्था पनि छैन’, उहाँले भन्नुभयो– ‘त्यसैले ज्यान जोखिममा राखेर बाढीमा दाउरा छोप्न जाने गरेका छौं ।’

दाउरा छोप्न जाँदा आफूहरु एकै परिवारका तीन÷चार जना भएर जाने गरेको उहाँले बताउनुभयो । बाढीले बगाएर ल्याएको दाउरा छोप्न मादीसेती किनारामा मानिसहरुको भिड लाग्ने गरेकोले पनि दैनिक करिब २ सय भारी दाउरा संकलन हुने उहाँको भनाइ छ ।

‘यस पटकको बाढीमा २० भारी दाउरा त छोपिसक्यौं होला’, उहाँले भन्नुभयो– ‘पोहोर सालभन्दा यो साल बढी दाउरा छोप्ने योजना छ, तर अहिले असारमा आएको ठूलो बाढीमा भने दाउरा निकाल्न सकिएन ।’ बाढीले ल्याएको दाउरा छोप्न सयौं निम्नस्तरका मानिसहरुको भान्छामा चुल्हो बलेको उहाँले बताउनुभयो ।

दाउरा छोपिसकेका आफ्ना छोराछोरीलाई समेत घर लैजान आउने गरेका छन् । केहीले भने मादीसेती घाटमा दाहसंस्कारका लागि ल्याइएको मानिसको शव जलाउन बिक्रीसमेत गर्ने गरेका छन् । शव जलाउनका लागि दाउरा पाउन मुस्किल हुँदा यही दाउरा बिक्री गर्दा राम्रो आम्दानी हुने गरेको समेत उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्