नारी सुकुमारी होइनन्



  • वीणा झा

प्रायः हाम्रो शब्द, व्यवहार र अपेक्षाहरु नारी सुन्दर, भावनात्मकरुपमा कोमल र मायालु स्वभावका हुन्छन् भन्ने रहेको देखिन्छ । समाजमा रहेका कला, संस्कृति र साहित्यमा यस्तै–यस्तै भाव बोकेका मुक्तक, कविता, गीत, गजल, कथा, उपन्यास, चलचित्र तथा पेन्टिङहरुले समाजमा यो सोचप्रतिको विश्वास नघटोस् अर्थात् निरन्तर रहिरहोस् भनी सामाजिक संस्थाहरु परिवार, शिक्षा, राजनीति, अर्थ सबै मार्फत यसमा जीवन्तता थप्न निरन्तरता प्रयास भैरहेको देखिन्छ ।

नारीका शारीरिक अंग–प्रत्यंगहरुको कार्यभन्दा पनि त्यसको आकार, छालाको रंग आदिलाई आधार बनाई समाजले निर्धारित गरिदिएको मापनको कसौटीमा राखेर सुन्दरताको अंक दिइने गरिन्छ । तिनका सोच्ने शैली, बुझाइ र प्रस्तुतीकरणमा समेत पुरुषको दृष्टिकोणलाई आधार मान्दै मापन गरिन्छ । तिनका शारीरिक अंगहरुको बखानमा कहिले तिनको कालो कपाललाई बादलसँग त आँखालाई मृगनयनी भन्दै सुन्दरताको परिभाषालाई स्थापित गर्ने क्रम चलिरहन्छ भने तिनलाई त्याग गराइराख्न कहिले पृथ्वीजस्तो सहनशील हुनुपर्ने भनी अपेक्षा गरिन्छ ।

युगौंदेखि स्थापित यी सामाजिकीकरण प्रक्रिया यसरी स्थापित भैसकेका छन् कि हामीलाई ती सबै प्राकृतिकझैँ लाग्न थालेको छ । यिनका पछाडि के तथ्य, तर्क वा वास्तविकता छन् भन्नेतर्फ खोतल्ने प्रश्नहरु हाम्रो मस्तिष्कमा नै आउँदैन । यसको असर समाजमा रहेका हरेकलाई परेको हुन्छ । कतिपयले आफ्नो बुझाइको दायरा अनुभव र अध्ययनका आधारमा परिमार्जित गर्न सकेका हुन्छन् भने कति यसको आवश्यकता नै महसुस गर्दैनन् । यस्ता सोचहरुले निर्मित संरचनालाई धर्म, संस्कृति र सभ्यताको खोलमा बेर्दै सन्तुष्टि लिने प्रयास गरिरहेका भेटिन्छन् ।

तर वास्तवमा युगौंदेखि सिकाइँदै, बुझाइँदै ल्याइएका यी विचारहरु वास्तवमा समय सान्दर्भिक र तथ्यपरक छन् ? यी ज्ञानहरुका स्रोतहरु के हुन् ? कुन समयमा कसले निर्माण गरे ? अनि कसरी यसलाई समाजका तह–तहमा फिँजाइयो ? यस्ता केही प्रश्नहरु खोतल्न अब ढिलो गरिनुहुँदैन ।

शुरु गरौं अहिलेको विश्व महामारीबाट, विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदन हेर्ने हो भने विश्वमा नै कोरोना संक्रमित महिलाको संख्या पुरुषको तुलनामा कम देखिन्छ । नेपालको अवस्था पनि उक्त तथ्यसँग मिल्दोजुल्दो छ । नेपालको पच्छिलो प्रतिवेदनअनुसार ८४ प्रतिशत पुरुष संक्रमित देखिन्छन् भने महिलाको संख्या तुलनात्मकरुपमा कम १६ प्रतिशत रहेको देखिन्छ । त्यसै गरी महिला संक्रमितहरुमध्येबाट मृत्यु हुने दर पुरुष संक्रमितहरुको तुलनामा कम छ अर्थात् कोरोना संक्रमित निको हुनेमा महिलाहरुको संख्या अगाडि छ ।

नेपालको पच्छिलो ‘सेन्सस’ (२०६८) लाई आधार मानेर हेर्ने हो भने महिला र पुरुषको जीवन सम्भाव्यता (लाइफ एक्स्पेक्ट्यान्सी) बीच फरक छ । पुरुषको तुलनामा महिला बढी उमेरसम्म बाँच्ने गरेको तथ्यांकले देखाउँछ अर्थात् महिलाको जीवन सम्भाव्यता पुरुषको तुलनामा बढी छ । यो कुनै एसियन मुलुकहरुको मात्रै अवस्था होइन । विकसित र विकासशील दुवै खालका मुलुकहरुको अवस्था नियाल्दा पुरुषको तुलनामा महिलाको बाँच्न सक्ने उमेर बढी छ ।

यी माथिका उद्धृत उदाहरण हेर्दा, सामान्यरुपले तर्क गर्न सकिन्छ कि महिलाको तुलनामा पुरुष बढी बाहिर हिँड्ने भएको कारण बढी संक्रमित भएको हुनसक्छ । त्यसो भए संक्रमित निको हुनेमा किन महिलाको संख्या तुलनात्मकरुपमा बढी छ त ? त्यसको तर्कयुक्त जवाफ भेटिन्न ।

त्यस्तै गरी दोस्रो उदाहरणलाई हेर्ने हो भने, तर्क गर्न सकिन्छ कि महिलाको तुलनामा पुरुषहरु बढी धूमपान र मद्यपान गर्ने कारणले पनि बाँच्ने उमेरलाई फरक परेको होला । यसलाई पूर्णतः नकार्न सकिन्न तर यी कुलत नभएका पुरुष र यस्ता कुलत भएका महिला पनि त छन् समाजमा र पनि किन यस्तो ? यस प्रश्नको सन्तुष्ट जवाफ यो तर्कले दिन सक्दैन ।

विभिन्न जीव विज्ञानका चिकित्सक र अनुसन्धानकर्ताका प्रतिवेदनहरुले के कुरालाई उजागर गर्छ भने, महिला र पुरुषको शरीरका कोषहरुका बनावट फरक हुन्छन् । विज्ञानले प्रमाणित गरेको कुरा, पुरुषको शरीरको कोषको २३औं जोडी क्रोमोजोम ‘एक्सवाई’ रहेको हुन्छ भने महिलाकोमा ‘एक्सएक्स’ हुन्छ । र, तिनको तर्क के पनि छ भने, ‘एक्स’ क्रोमोजोम आकारमा ‘वाई’को तुलनामा ठूलो छ, साथै बलियो पनि । त्यसैले महिलामा रहेको दुवै ‘एक्स’ क्रोमोजोमले उनको शरीरलाई विभिन्न रोगसँग लड्न सक्ने क्षमता अर्थात् इम्युनिटी पावर बढाउन सहयोग गर्छ । जबकि पुरुष शरीरको अवस्था विपरीत हुन्छ ।

तर विडम्बना ! यस्ता ज्ञानहरुलाई खुम्च्याएर राखिन्छ । विद्यालय तह होस् वा विश्वविद्यालय अथवा विभिन्न कार्यशाला गोष्ठीहरुमा महिला शरीरसँग सम्बन्धित यस्ता विशेषताहरुलाई अध्ययन वा छलफलको विषय बनाइन्न ।

त्यस्तै पाठ्यपुस्तक र अनौपचारिक छलफलहरुमा सीताको सहनशीलता, पृथ्वीको धैर्यताजस्ता थुप्रै उदाहरण दिइन्छ तर अन्याय र बेथितिसँग लड्न निर्धक्क अगाडि आउनुपर्छ भन्दै कालीको उदाहरण दिने गरिन्न । नारीले चाहे भने आफ्नो मात्रै होइन अरुको पनि रक्षा गर्न सक्छन्, आवश्यक परे हतियारसमेत उठाउने शक्तिस्वरूप देवीबारे त्यसरी व्याख्या गरिन्न । जस्तो सीताले एक हातले उचालेको धनुषको वर्णन गर्दा नारी सुकुमारी होइन महाशक्तिशाली हो भनेर बुझाइन्न ।

मनुस्मृतिले नारीलाई जनावरसँग तुलना गरेको प्रसंग प्रस्तुत गरिँदा सँगसँगै ज्ञानको मूल भनेको सरस्वती हो भनेर व्याख्या गरिने हो भने कतिपय गलत बुझाइ र विश्लेषणहरु परिमार्जन हुने सम्भावना प्रबल रहन्छ । तर पितृसत्तात्मक संरचनामा हुर्केका सोचहरुले यस्ता प्रश्नहरु गर्न रुचाउँदैनन् । यसले सामाजिक संरचनालाई उथलपुथल पारिदिन्छ भन्ने मनोगणन्ते विचारको सिकार बनाइदिन्छ । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामी सबै विभेद निरन्तरताको माध्यम बनिरहेका हुन्छौं । जबकि बुझ्नुपर्ने कुरा के हो भने, समानतामा आधारित संरचनाहरुले कदापि समाजलाई अहित गर्दैन बरु विभेदसहितको समाज कहिल्यै पनि सुन्दर र शान्त बन्न सक्दैन भन्ने बुझ्न र बुझाउन जरुरी छ ।

पितृसत्तात्मक सोचको असर व्यक्तिगतरुपमा मात्रै होइन, राज्य सञ्चालनमा बसेकाहरुमा पनि परेको प्रस्ट देखिन्छ । त्यसैको परिणाम हो संविधानमार्फत नै लैंगिक विभेद स्थापित गरिरहन खोज्नु, पछिल्लो उदाहरणको रुपमा विभेदसहितको नागरिकता विधेयकलाई लिन सकिन्छ, जसको मार्फत विभेदको निरन्तरता गर्न खोज्नु, महिलाहरुको देशप्रेम र निष्ठामाथि विभिन्न नामले शंका गर्दै नीतिगत रुपमै दोस्रो दर्जामा स्थापित गर्न खोज्नु ।

त्यसो भए सामाजिक रुपान्तरणका लागि आवश्यक सोच परिमार्जन कहाँबाट शुरु गर्ने ? परिवार, समुदाय, सामाजिक संस्था वा राज्य ? यो प्रश्नको जवाफ इमानदारीपूर्वक भन्ने हो भने स्पस्ट हुनुपर्छ, यसको जवाफ निरपेक्षरुपमा खोज्नु व्यर्थ छ । अर्थात् समाजका सबै अवयवहरुको भूमिका त्यहाँ छ तर मुख्य जिम्मेवारी राज्यको हुन्छ । किनकि राज्य नै यस्तो शक्तिशाली इकाइ हो, जसले बलपूर्वकसमेत सामाजिक कुरीति, अन्याय, असमानता र विभेदको अन्त्य गर्न कानुन नै बनाएर कडारुपमा कार्यान्वयन गराउनुको साथै त्यसको अनुगमन गर्दै आवश्यक परिमार्जन अपनाई परिणाममुखी बनाउन सक्छ ।

त्यस्तै परिवारको भूमिका पनि कम महत्वपूर्ण छैन । छोरीलाई ‘राजकुमारी होइन, मात्र एक मानव हो, जो आफ्नो कर्ममार्फत आफ्नो पहिचान र अस्तित्व निर्माण गर्न सक्छे’ भनी सिकाउन जरुरी छ । हरपल संरक्षित वातावरणमा हुर्काउनु, तिनका इच्छा र अपेक्षाहरु अरुले विशेष गरी पुरुषले पूरा गर्नुपर्छ भनी मान्यता स्थापित गर्न खोज्नु, संघर्ष गर्नबाट जोगाउन खोज्नुजस्ता गलत सामाजिकीकरणका कारण छोरीहरु आफ्नो क्षमता बुझ्न नसकी कमजोर आत्मविश्वासको सिकार बन्छन् । अर्कोतिर छोराको मनमा छोरीहरु भनेको खुशी र सुख दुवैका लागि अरुमाथि निर्भर रहने प्राणी हुन् भन्ने गलत बुझाइ स्थापित गर्न मद्दत गर्छ ।

त्यस्तै सामाजिक रुपान्तरणमा अहं भूमिका खेल्ने भनेको मिडिया जगत् पनि हो । उसको ठूलो योगदान हुन्छ समाजको चेतनास्तर परिवर्तन गर्नमा । विशेष गरी दृश्य मिडियामा विभिन्न विषयवस्तुप्रतिको महिलाको सोच र दृष्टिकोण निर्धक्करुपमा उजागर गर्ने वातावरण निर्माण गरियो भने एकातिर महिलाहरु बोल्न थाल्छन् भने अर्कोतिर तिनका बुझाइलाई पुरुषसँग तुलना गर्नुको सट्टा त्यसका मर्मभित्र छिर्ने चेष्टाको शुरुवात हुन्छ । सँगसँगै राज्यको ध्यान पनि महिलाको क्षमताको अवस्थाप्रति तान्न सहज हुन्छ ।

साथै महिलाले ती विषयवस्तुप्रतिको ज्ञान बढाउन प्रयासहरु थाल्न सक्छन्, जसले गर्दा स्वयं निर्भर भई निर्भयताका साथ आफ्नो बुझाइ, भोगाइ, सोच र दृष्टिकोण राख्न थाल्छन्, जसले गर्दा महिलाप्रतिको सामाजिक मनोवृत्तिमा बिस्तारै परिवर्तनहरु देखिन थाल्छन् । यसले गर्दा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा लैंगिक समानतासहितको विकास योजनाहरु प्रभावकारीरुपमा परिणाममुखी बनाउन सहज भैदिन्छ ।

त्यसैले सबभन्दा महत्वपूर्ण कुरा नारी सुकुमारी होइन । उसको सुन्दरता समाजमा स्थापित परिभाषाले समेट्दैन । जसरी संसारका हरेक मानव सुन्दर छन्, ती पनि त्यहीभित्र पर्छन् । यस्ता सोचहरु निर्माण गरिनु जरुरी छ, जसको आधारमा छोरीहरु वा महिलाहरु आफ्नो सुन्दरताको परिभाषा आफैं निर्माण गरुन्, आफ्नो आत्मविश्वास बढाउँदै आफूलाई जुन पहिरनमा सहज महसुस हुन्छ त्यसमा रमाउन सकून् र छोराहरु अथवा पुरुषहरुले सकी–नसकी पनि महिलाका आवश्यकता र सोखहरु पूरा गर्नुपर्छ भन्ने मानसिक बोझबाट बाहिर आउन सकून् ।

यसको लागि पहल राज्यबाट गरिनु जरुरी छ । साथै समाजका हरेक बुद्धिजीवी वर्गको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण छ । आखिर सबैको चाहना भनेको सुन्दर र स्वस्थ समाजको निर्माण नै हो, जुन विभेदसहित कदापि सम्भव छैन । त्यसैले स्पष्ट होऔं, नारी सुकुमारी र मायाको खानी केही त्यस्तो होइन, ऊ सिर्फ मानव हो, जसलाई पुरुषसँग तुलना नगरी विनासर्त प्रोत्साहन, उचित वातावरण र अवसर दिन आवश्यक छ ।
(लेखिका झा समाजशास्त्री हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्