सीप सिकेर जीविका चलाउँदै महिला



उत्तम नेपाल, भद्रपुर

झापाको हल्दीबारीका महिलाले सीप सिकेर जीविकोर्पाजन गर्दै आइरहेका छन् । पालिकाले विभिन्न प्रकारका सीपसम्बन्धी तालिम प्रदान गरेपश्चात् महिलाले तालिमलाई व्यावसायिकतातर्फ लगेपछि हुन् ।

हल्दीबारीले वार्षिकरूपमा तालिमको आयोजना गरिरहेको छ । पछिल्लो समय २ नम्बर वडा कार्यालयले तीन महिने ढाका कपडाको सीप तालिम कार्यक्रम सञ्चालन जारी राखेको हो । वडाले १५ जनालाई छनोट गरी जेठ २४ गतेबाट तीनमहिने तालिम सञ्चालन गरिरहेको छ ।

सीप तालिमपश्चात् ऋण लिएर भए पनि व्यावसायिकरूपमा स्वरोजगार हुने सहभागीको भनाइ छ । सिकेको सीपलाई व्यवहारमा उतार्ने लक्ष्य लिएको सहभागी आइतरानी लिम्बुले बताउनुभयो । बेरोजगार भएर घरमा बसिरहेका बेला वडाबाट पाएको यो अवसरलाई निरन्तरता दिने बुद्धमाया सुब्बाको भनाइ छ ।

सहभागीले चासो लिएर सिकिरहेका प्रशिक्षक कोपिला श्रेष्ठ बताउनुहुन्छ । वडा कार्यालयले छनोट गरेका सहभागीले तालिमपश्चात् लिएको सीपलाई व्यावसायिकतर्फ लैजान सुझाव दिएको उहाँको भनाइ छ ।

गाउँपालिकाबाट एक वर्षअघि तालिम लिएर उत्पादन शुरू गरिरहेको उहाँले बताउनुभयो । उत्पादित सामानबाट घर व्यवहार चलिरहको उहाँ सुनाउनुहुन्छ । बजारमा माग उच्च रहेकाले आपूर्ति गर्न नसकिएको प्रशिक्षक अनु शिवाकोटी कार्कीले बताउनुभयो । तीन वर्षअघि सीप सिकेर शुरूमा ३५ हजार लगानीबाट एउटा तानमार्फत सामान उत्पादन गर्दै आइरहेको उहाँको भनाइ छ । हाल साडी, चौबन्दी चोला, कोट, दौरा–सुरुवाल, सललगायतका सामग्री उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।

यी महिला मात्र नभई हल्दीबारी गाउँपालिकाका महिला पनि हरेक क्षेत्रको उद्यमशीलतातर्फ आर्कषित हुँदै गएका छन् । गाउँपालिकाले अघि सारेको हल्दीबारीका महिला विकासमा पहिला भन्ने अभियानलाई व्यावहारिक बनाउन महिला विकास परिषद्द्वारा सञ्चालित ढाका कपडा सिलाइ–बुनाइमार्फत स्वरोजगार बन्न थालेपछि महिलाको सो सीपतर्फ आकर्षण बढ्दै गएको छ ।

अभियानलाई सफल पार्न पालिकाले महिला विकास समिति तथा गठन कार्यविधि–०७५ पास गरी पालिका क्षेत्रभित्र रहेका महिलाहलाई उद्यमशीलतातर्फ जोड्नलाई अभियान ल्याएको छ । ढाकाको धागोबाट विभिन्न सामग्री बनाउन शुरू गरिएको पालिकाले जनाएको छ । आर्थिक वर्ष ०७४÷७५ मा ३० जना महिलालाई ढाकाको तालिम प्रदान गरिसकेको पालिकाले जनाएको छ । उद्यमशीलतातर्फ उन्मुख भएका महिला घरमा नै बसेर उत्पादन शुरू गरिसकेको अवस्था छ । गत आर्थिक वर्ष ०७५÷७६ मा १५ जना महिलाले तालिम लिइसकेका छन् ।

स्थानीय महिलाहरुलाई नै स्वरोजगार बनाउने पहिलो लक्ष्य भएको महिला विकास परिषद् संयोजक शान्ता गौतमले बताउनुभयो । तालिम केन्द्रका रूपमा लगेर उद्योगमा परिणत गर्ने गाउँपालिकाको उद्देश्य रहेको उहाँको भनाइ छ । एक गाउँ एक नमुना उद्योग सञ्चालनअन्तर्गतको वडाले छुट्टाएको १० लाख बजेटबाट ६ लाख रुपियाँको ढाका र ब्याग सिलाइ–बुनाइको तालिम दिइरहेको उहाँले बताउनुभयो । वडालाई अझै प्रविधिमैत्री बनाउन ४ लाख रुपियाँकोे रकमबाट निर्माणका लागि दुई थान मिक्चर मेसिनसमेत खरिद गरी नियमअनुसार सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्