सत्याग्रहका पर्याय डा. केशी



सत्याग्रहका विषयमा कुरा उठ्दा पछिल्लो पुस्ताले देखेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा अध्ययन संस्थानका तत्कालीन प्राडा गोविन्द केसीको चित्र सम्झन्छन् । नसम्झून् पनि किन, उनले मेडिकल शिक्षाका बेथितिका विषयमा १८ पटक आफ्नो ज्यानको बाजी राखेर आमरण अनशन बस्नुभएको थियो ।

अहिंसात्मक आन्दोलनबाट पनि सरकारको ध्यान केन्द्रित गरी देश र जनताको पक्षमा न्यायोचित निर्णय गराउन सकिन्छ भन्ने अठोटका साथ चिकित्सा शिक्षाको बेथिति अन्त्यका लागि अनवरतरूपमा सत्याग्रहमा उत्रनुभएका प्राडा केसी अहिले पनि सरकारलाई सचेत गराउँदै हुनुहुन्छ ।

उहाँले अघि सार्नुभएका माग आंशिक सम्बोधन गरेको भए पनि पूर्ण रूपमा कार्यान्वयन नगर्दा समय–समयमा संक्रमण फैलिएको घाउझैं बल्झिरहेको छ । यसो हुनुमा निजी क्षेत्रबाट मेडिकल विद्यार्थीका नाममा ठूलो धनराशी लुट्न पल्केका मेडिकल सञ्चालकहरूको आर्थिक चलखेल भएको डा. केसीको ठहर छ ।

उहाँले आमरण अनसन चिकित्सा शिक्षाका क्षेत्रमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, हरेक प्रदेशमा मेडिकल कलेज, प्रत्येक जिल्लामा जिल्ला अस्पताल, नयाँ खुल्ने मेडिकल कलेज काठमाडौं बाहिरलाई प्राथमिकतामा राखी १० वर्ष काठमाडौं उपत्यकामा रोक लगाउनुपर्ने जस्ता गहन विषयको उठान गर्दा आंशिकरूपमा सफल पनि हुनुभयो ।

त्रिभुवन विश्वविद्यालयबहेक अन्य विश्वविद्यालयमा पनि राजनैतिक आस्थाका आधारमा पदाधिकारी भागवण्डा प्रथा हटाएर प्राज्ञिकलाई सिनियारिटीका आधारमा नियुक्त गर्नुपर्ने, चिकित्सा शिक्षाका लागि छुट्टै आयोग चिकित्सा शिक्षा आयोग बन्नुपर्ने र त्यसैले सम्पूर्ण काम बिनाहस्तक्षेप न्यायोचित ढंगले गर्नुपर्नेलगायतका उहाँका माग महत्वपूर्ण रहेका छन् ।

यीमध्ये चिकित्सा शिक्षा आयोग गठन र जिम्मेवारी शुरू भइसकेको छ । विद्यार्थी भर्ना उच्च अंकका आधारमा गर्ने, सरकारले तोकेको शुल्क सबैले पालना गर्नुपर्ने जस्ता महत्वपूर्ण विषयमध्ये केही विषय सम्बोधन भइसकेका छन् भने केही अझै सम्बोधन हुनै बाँकी रहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्