‘पर्ख र हेर’ मा शिक्षक : ‘शुल्क बुझाएनन् भन्दैमा तलब रोक्न मिल्दैन’



न्युज अफ नेपाल,हेटौंडा ।

कमलडाँडास्थित व्रह्मदिक विद्यालयका ५० शिक्षकले अनलाइन कक्षा वैशाखदेखि सञ्चालन गरिरहेका छन् । ती शिक्षकलाई बैशाखमा आधा पारिश्रमिक उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक रामबाबु सापकोटाले जानकारी गराउनुभयो ।सापकोटाले भन्नुभयो–वैशाख महिनाको तलब ऋण खोजेर दिएका हौै । चैतको विद्यार्थीको फि उठ्न धेरै बाँकी छ ।

हाल शिक्षकहरु अनलाइन कक्षामा दिनरात नभनी खटिरहेका छन् । यस्तो समयमा उहाँहरुलाई पारिश्रमिक दिन्न भन्न अप्ठ्यारो छ । दिउँ भने कहाँबाट ल्याउने भन्ने कुरा छ । ‘सरकारी निर्णयका लागि केही समय कुर्ने प्रयास गरिरहेका छांै,’ सरकारले पक्कै पनि राम्रै कुरा ल्याउला भन्ने आशमा हुनुहुन्छ प्रधानाध्यापक सापकोटा ।

जीएस निकेतनको पनि उस्तै हालत छ । बैशाखमा आधा तलब दिएको विद्यालयका प्रधानाध्यापक ईश्वर लामिछानेले जानकारी गराउनुभयो । ‘हाल अनलाइन कक्षा सञ्चालनमा छ, हामीले शिक्षकलाई पारिश्रमिक मिल्छ भनेरै काम गराएका हौं,’ लामिछानेले भन्नुभयो–जेठ र असारको चाहीं कहाँबाट र कसरी तलब दिने भन्ने हाम्रो समस्या छ ।

तीन घण्टासम्म नियमित अनलाइन कक्षा ४८ जना शिक्षकले सञ्चालन गरिरहेका छन् । ‘हामी सरकारले के निर्णय गर्छ भन्ने कुराको प्रतीक्षामा छौं,’ लामिछानेले प्रतिक्रिया दिनुभयो । नवोदय विद्यालयको पनि उस्तै भनाइ छ ।

जेठसम्मको आधा तलब विद्यालयले शिक्षकलाई उपलब्ध गराएको विद्यालयका प्रशासकीय प्रमुख सुरज बस्नेतले बताउनुभयो । उहाँका अनुसार विद्यालयको नाममा बैंकमा रहेको पैसाबाट शिक्षकको जेठसम्मको पारिश्रमिक दिइएको छ । रिलायन्स विद्यालयले भने चैतको पूर्ण पारिश्रमिक दिएको छ भने हाल शिक्षकलाई खाँचो परेअनुसार पारिश्रमिक उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक केशबलाल श्रेष्ठले बताउनुभयो ।

उक्त विद्यालयका ६३ शिक्षकले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । उक्त कक्षा सञ्चालन गरेकाले शिक्षकलाई तलब दिनैपर्छ । तर, कसरी दिने भन्ने कुरा अब सरकारकै हातमा रहेको श्रेष्ठले बताउनुभयो । छिमेकी चितवनको निजी विद्यालय शिक्षक युनियन (इष्टु) ले तलब नपाएको भन्दै आन्दोलन थाल्दा मकवानपुरका निजी विद्यालयका शिक्षक भने ‘पर्ख र हेर’ को मनस्थितिमा देखिएका छन् ।

निजी विद्यालय सञ्चालकहरुले आग्रह गरेपछि र सरकारी निर्णय कुर्दै शिक्षकहरु ‘पर्ख र हेर’ को मनस्थितिमा देखिएका हुन् ।कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक÷कर्मचारीले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमितरुपमा गर्दै आइरहँदासमेत पूर्वनिर्धारित तलब, सेवासुबिधा प्राप्त नभएको गुनासो गरेका उनीहरु यस्तो अबस्थामा देखिएका छन् ।

मकवानपुरका विभिन्न निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । कम्तिमा दैनिक चारदेखि पाँच घण्टासम्म शिक्षकले विद्यार्थीलाई अनलाइनबाट कक्षाबाट शिक्षा दिइरहेका छन् । यस सन्दर्भमा हेर्ने हो भने शिक्षकले बिजुली नभएको समयमा पनि डाटा प्याक तानेरै पढाइरहेको अबस्था छ । तर, तिनै शिक्षकले तोकिएको पारिश्रमिक वैशाखदेखि पाउन सकेका छैनन् ।

यो अधिकांश निजी विद्यालयको समस्या हो ।कति विद्यालयले भने बैशाखमा आधा पारिश्रमिक त दिएका छन् । चैतमा फि नउठेका कारण विद्यालयले ऋण गरेर भए पनि आफ्ना शिक्षकहरु पालिरहेको अबस्था छ । यसै समस्यालाई लिएर संस्थागत विद्यालय शिक्षक युनियनले हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरसको विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक/कर्मचारीले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमितरुपमा गर्दै आइरहँदा समेत पूर्वनिर्धारित तलब, सेवासुबिधा नपाएको भन्दै हेटौंडा उपमहानगर उपमेयर मीनाकुमारी लामा र जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाललाई ज्ञापनपत्र बुझाइएको हो ।

विद्यालय सञ्चालकहरुले परिआउँदा नाफा वा घाटा दुवै परिस्थितिको सामना गर्न सक्नुपर्ने ती शिक्षकको दाबी छ । त्यसैले हाल अभिभावकले शुल्क बुझाएनन् भन्दैमा तलब रोक्न मिल्दैन । सामुदायिक विद्यालयमा सरकारले सुबिधा दिइरहेकोले निजी विद्यालयमा कार्यरत् शिक्षक/कर्मचारीका विषयमा सरकारले ठोस निर्णय लिनुपर्ने इष्टुको माग छ ।

‘कुनै पनि निजी विद्यालयले दुई महिना घाटामा जाँदैमा शिक्षक÷कर्मचारीलाई तलब दिन सक्दैनन् भने त्यस्ता विद्यालय बन्द गरे हुन्छ,’ नाम उल्लेख गर्न नचाहने आक्रोशित शिक्षकको भनाइ छ–होइन भने सेवासुबिधा रोक्न पाइँदैन ।करिब २० प्रतिशत शिक्षक÷कर्मचारी सामान्य मजदुरले पाउने सरकारी सेवा सुबिधाभन्दा पनि तल्लो तहमा रहेर काम गर्न बाध्य भएकोले यसबारे सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्