नेउवा महासंघ निर्वाचन : ‘बिना निर्वाचन एकता प्रदर्शन गर्नु जरुरी’



रोशन पराजुली,हेटौंडा ।

विश्वभर कोभिड–१९ ले आर्थिक क्षेत्रमा नराम्रो असर परेको छ । यसको प्रभावस्वरुप नेपालको निजी क्षेत्रले ठूलै आर्थिक मार खेप्नुपरेको छ ।‘तर, लामो इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघमा यस्तो स्थितिमा पनि आगामी निर्वाचनको होड चलेको छ । एकले अर्कालाई हिलो छ्यापाछ्याप भइरहेको छ,’ महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गीले असन्तुष्टि जनाउनुभएको छ ।

महासंघको साधारणसभा साउन २५ र २६ का लागि तय भएको अबस्थामा केन्द्रीय सदस्य सुमार्गीको यस्तो असन्तुष्टि आएको हो ।
रुकुम होस् वा कालीकोट, दिक्तेल होस् वा ओलाड्चुङ्गोला वा तराईका जिल्ला वा हिमालपारिका मनाङ, मुस्ताङ वा मुगु होस्, निजी क्षेत्र सबैतिर संस्थागत संरचना बिस्तार गरेर समाजमा सुव्यबस्थासहित राज्यसँग हातेमालो गरिरहेका छन् ।

उहाँका अनुसार त्यसैले कोरोना संक्रमणको अबस्थामा राज्य र निजी क्षेत्रले थप उचाईंमा नीतिगत निर्णय गर्न सक्नुपर्छ ।जब देशमा विपद् वा संकट आउँछ, तब त्यहाँ निजी क्षेत्रले दिलोज्यानले राज्य र जनतालाई सघाइरहेका हुन्छन् । देशको सर्वोच्चता बोकेको न्यायालयले राज्यले कर नलिनु र राज्यलाई लकडाउनसम्म संयमता राख्न भनिरहँदा पनि निजी क्षेत्रले राज्यलाई जुन सहयोगस्वरुप कर दाखिला गरिरहेका छन्, त्यो सकारात्मकताको प्रतीक रहेको सुमार्गीको तर्क छ ।

यसतर्फ व्यबसायीले राज्यप्रति उदारता देखाइरहेका छन् । अर्कोतर्फ, सदस्य ब्यबसायीलाई निर्वाचनले उत्तेजित बनाइरहेको छ । ‘एकै ठाउँमा बसेर एउटै उपलब्धीका लागि लागेका हामी के यसपटकको निर्वाचन नगरी समझदारी देखाउन सक्दैनौं ?, उहाँको प्रश्न छ । यसबारे एकपटक निजी क्षेत्रका हस्ती तथा सहयात्रीले सोच्ने बेला आएको उहाँको कथन छ ।

महासंघमा देशमा कहलिएका उद्योग चलाउनेदेखि गाउँगाउँमा साना व्यबसाय गर्नेसमेत सदस्य छन् । बिभिन्न प्रकारका क्षमता रहेकोले निजी क्षेत्रसँग सहकार्य गरे सफल भइने पक्का छ । तर, राजनीतिक दलमार्फत् यस विषयलाई लानु जरुरी देखिन्छ । यसो गर्न नेउवा महासंघले पनि यस पटकको निर्वाचन सहमतिमा सक्नुपर्छ । ‘यसो गर्दा महासंघको साख बलियो हुनपुग्छ ।

राष्ट्रको पहिचान बोकेको र ५४ वर्षको निरन्तर यात्रामा सहकार्य गर्दै आएका महासंघका पूर्वअध्यक्षहरु, सल्लाकारहरुलाई यो एउटा एतिहासिक अवसर प्राप्त भएको बेला हो,’ उहाँले प्रश्न गर्नुभयो–देशको माटोमा हुर्केको ब्यापार व्यबसायलाई अभिभावकत्व प्रदान गरिरहेको निजी क्षेत्रको माउ संस्था कतै गुटबन्दी र कसैको स्वार्थका लागि अल्झिएको त छैन ?’ आफूले प्रतिनिधि आवाज उठाएको भन्दै उहाँले नेपालमा पनि बिखण्डनबादी सोच आएझैं भएको हो कि भन्ने उहाँको आशंका छ ।

‘कतै त्यस्तै रोग हाम्रो संस्थामा त लागेन ?,’ उहाँले भन्नुभयो–हामी विभिन्न आस्था र आदर्शमा लागेका भए पनि संस्था सबै नेपालीको साझा संस्था हो । एकपटक हामीले देश र जनताको मन छुने गरी बिनानिर्वाचन एकता प्रदर्शन गर्नु जरुरी छ । ‘यस्तो स्वर्णिम अवसर र यत्रो चुनौतीले सताएको बेला हामी चुनाब/चुनाब भनेर जिल्ला जाँदा हामीलाई लाज लाग्नुपर्ने हो कि ?,’ उहाँ भन्नुहुन्छ–यस्तो बेला हामीले पुरुषार्थ देखाउने बेला हो । त्यसैले हामीले सबैको साझा व्यक्तिलाई स्थापित गरी एकता प्रदर्शन गरौँ ।

यस बेला महासंघमा शुद्धीकरणको खाँचो छ । हामीले हाम्रो संस्था बलियो राख्नसके सबैखाले व्यबसाय पुनजीर्वित हुनसक्छ । नभए सीमित व्यबसायी धनी हुने र साना तथा मझौला व्यबसायी मर्ने प्रायः निश्चित छ । महासंघ देशभर फैलिएको छ ।

बिगतमा नेपालमा स्थानीय निर्वाचन नभएर करिब १९ वर्ष जिल्लानगर उद्योग वाणिज्य संघहरुले राज्यसँग हातेमालो गरी राजनीतिक संस्कारलाई निकास दिएको उहाँले स्मरण गराउनुभएको छ । ‘आज देशको अर्थतन्त्र तहसनहस भएको छ ।

विकास बजेटहरु स्वास्थ्यतर्फ छुट्याइएको छ । यस्तो अबस्थामा राज्यले निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर हेर्नुपर्ने हो । यसबेला राज्यले निजी क्षेत्रको ऋण तिर्नुपर्ने अबस्था आएको छ,’ केन्द्रीय सदस्य सुमार्गीले सरकार र निजी क्षेत्र मिलेर रोजगारीसहित आधुनिक कृषि आजको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । र , भन्नुभयो–यसबाट हामी परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लाग्न सक्छौँ ।

मन्त्रिपरिषद्ले लकडाउन खुकुलो पारेलगत्तै साधारणसभाको मिति तय गर्न महासंघ पदाधिकारीमाथि दबाब थियो । साधारणसभाले महासंघका विभिन्न पदमा निर्वाचन गर्नेछ । हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्