बेरोजगारी बढाउँदै सुनसान ठमेल



कविरस शर्मा, काठमाडौं ।

असार सुरु भएयता सरकारले लकडाउन खुकुलो बनाएको छ । कोरोना संक्रमित कम भएका क्षेत्रमा लकडाउनको मोडालिटी परिवर्तन गर्दै हिँड्डुल गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न छुट दिइएको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै राजधानीमा झन्डै तीन महिना बन्द रहेका पसलहरु पनि खुल्न थालेका छन् । बजारमा चहलपहल पनि बढेको छ ।

यद्यपि, काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेललाई भने यसले केहि असर पारेको छैन । संसारभरि नै महामारीका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ । जसको असर ठमेलमा देखिएको छ ।

कुनै बेला मध्यरातसम्म चहलपहल हुने ठमेल अहिले चौबिसै घन्टा सुनसान बनेको छ । ठमेलका प्राय पसल, होटल र रेष्टुरेन्टहरु बन्द छन् । नगन्य पसलहरु मात्रै खोलिएको भएपनि कारोबार ठप्प छ । डिपार्टमेन्टल स्टोर तथा खाधान्न पसलहरु पहिला नै खोलिएको थियो । विगत तीन दशकदेखि ठमेलमा टिसर्ट पसल सञ्चालन गर्दै आउनुभएका सिरस शर्मा भन्छन्,’पसल त खोलियो । तर, व्यापार छैन, पर्यटक छैन । त्यसैले यहाँको व्यवसाय अन्य क्षेत्रको जस्तो सहजै खुल्न सकेन ।’

त्यसो त लकडाउन सुरु हुनुअघि नै ठमेलको ब्यवसाय सुस्ताएको थियो । चीनको उहानबाट कोरोना भाइरस संक्रमण फैलिएसँगै ठमेलमा सञ्चालित पसल र रेष्टुरेन्टहरु बन्द भए । खुलेकामा पनि कोरोना त्रासका कारण मानिसहरु गएनन् । अहिले लकडाउन खुकुलो भए पनि ठमेलमा चहलपहल बढाउन पर्यटक आउने सम्भावना छैन ।

त्यसैले पनि ठमेल पहिला झैं पूर्ण रुपमा सञ्चालनमा आइहाल्ने अवस्था पनि नरहेको स्थानीय व्यापारीहरु बताउँछन् । विगत तीन दशकदेखि इम्ब्रोएडरी पेसामा संलग्न जितु तामाङ्ग ठमेल अहिलेको अवस्थामा पुग्छ भनेर कल्पना नै नगरेको बताउनुहुन्छ । ू सन् १९८६ देखि ठमेलमा ब्यवसायमा संलग्न छु ।

तर, ठमेल यस्तो सुनसान भएको मैले कहिले देखेको थिएन । यसै कारणले अहिले ब्यवसायीहरु पलायन हुनेक्रम बढ्दो छ ू –तामाङ्गले बताउनुभयो । त्यस्तै, ठमेलमा लामो समयदेखि लाउन्ड्री पसल सञ्चालन गर्दै आउनुभएका परमेश्वर कनौजियाले पनि ठमेल पुरानै अवस्थामा फर्कन धेरै समय लाग्ने र त्यतिञ्जेल ब्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

विदेशमा मान्छेले ज्यान गुमाइरहेका कारण विदेशी व्यवसायको सञ्जाल पनि टुटिरहेको छ । विदेशको बजार समेत बिथोलिएको छ । भाडा महंगो भएकोले लकडाउन खुकुलो भएर अन्य स्थानको व्यवसाय सुचारु भए पनि ठमेल क्षेत्र चलायमान हुने छाँटकाट छैन । त्यहाँको अधिकांश व्यवसाय विदेशी पर्यटकमा नै निर्भर छ । व्यवसायीहरुले अबको एक डेढ वर्षसम्म विदेशी पर्यटक आउने सम्भावना नदेखेको बताउँछन् ।

महिनौंको लकडाउनका कारण व्यवसायी विस्थापित हुने क्रम सुरु भएको छ । व्यवसायीहरु पलायन हुन थालेका छन् । कतिपय व्यवसायी सटरको तालाचाबी बुझाउने क्रममा छन् । सटर खाली हुने क्रम सुरु भएको छ । यस्तो अवस्थामा पर्यटकीय क्षेत्र ठमेललाई कसरी बचाउने भन्ने अहिलेको मुख्य समस्या छ । यही गम्भीर विषयलाई सम्बोधन गर्नका लागि त्यस क्षेत्रका व्यवसायी र घरधनीहरु अहिले छलफलमा जुटेका छन् ।

ठमेलका पर्यटन व्यवसायीहरु सबैभन्दा ठूलो मर्कामा परेको एउटा कारण महँगो भाडा हो । महिना सकिंदा भाडा तिर्नुपर्ने बाध्यता छ भने कतिपय व्यवसायीको सम्झौता सकिएको छ । उनीहरु विस्थापित हुनुपर्ने अथवा नयाँ सम्झौता गर्नुपर्ने अवस्था पनि छ । ठमेल क्षेत्र कान्तिपथदेखि सोह्रखुट्टे, पकनाजोल, क्षेत्रपाटी, थःहिटी र ज्याठालगायतका स्थानसम्म फैलिएको छ । यस क्षेत्रमा १० हजार व्यवसायी छन् भने २ हजार घरधनी छन् । त्यहाँ व्यवसाय गर्नेले १५ हजारदेखि २५ लाखसम्म भाडा तिर्छन् ।

खर्बौंको लगानी रहेको ठमेल क्षेत्रमा सबैभन्दा धेरै पसलहरु नै छन् । त्यसपछि ट्राभल एजेन्सी, ट्रेकिङ्ग, रेष्टुरेन्ट, नाइट क्लब छन् । त्यस्तै, सामान्यदेखि पाँचतारेसम्मका होटलहरु पनि छन् । वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुरेन्टजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भएका छन् । पर्यटकलाई घुमाएर प्राप्त हुने सेवा शुल्कबाट गुजारा गर्ने पर्यटक गाइडहरू अहिले कामविहीन छन् । पर्यटक गाइड निरज शर्मा ठमेलको अहिलेको अवस्थाले पेसा नै बदल्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।

ठमेलका रेष्टुरेन्ट तथा होटलहरूको कथा पनि उस्तै छ । होटल कस्मिकका सञ्चालक विष्णु केसी ठमेलको अवस्थाले निकै तनाव भएको बताउनुहुन्छ । ु ठमेलमा पर्यटक देख्न नै मुस्किल भएको छ । होटल कसरी सञ्चालन गर्ने, कसरी भाडा तिर्ने । ु सन् २०१९ मा झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको बताइएको छ । होटलजस्तै पर्यटनमा निर्भर रहेका रेष्टुरेन्ट पनि अप्ठेरोमा परेका छन् । ठमेल क्षेत्रमा यस्ता रेष्टुरेन्ट हजारौको संख्यामा छ । ती प्रत्येकमा १० देखि ३० जनासम्मको प्रत्यक्ष रोजगारी अनि त्यसैमा खाद्यान्नलगायतका समाग्री बेचेर कमाउने अन्य हजारौ मानिसहरू अहिले प्रभावित छन् ।

होटल संघ नेपालमा पर्यटक स्तरका सानादेखि तारेसम्म गरि ३५ सयको हाराहारीमा होटल आबद्ध छन् । तिनले प्रत्यक्ष एक लाख अनि समग्र आतिथ्य क्षेत्रमा ४ लाखलाई रोजगारी दिएको बताइन्छ । अहिले ती सबै बन्दको अवस्थामा छन् । ठमेल क्षेत्रमा स्वदेशी मात्र होइन युरोपेली मुलुक, चिनियाँ तथा भारतीय व्यवसायीहरु पनि छन् ।

विश्व पर्यटन सङ्गठनले सन् २०२० मा विश्वभरि पर्यटन ६० देखि ८० प्रतिशतले घट्ने बताएको छ । विश्वभर करिब नौदेखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने र पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रोजगारीका अवसर जोखिममा पर्ने सङ्गठनको भनाइ छ । नेपालको पर्यटनमा कोरोना भाइरसको प्रभाव अत्यन्त गम्भीर हुने बताइएको छ । नेपालमा पर्यटनले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, साढे तीन लाखलाई मौसमी रोजगारी दिने गरेको अनि अप्रत्यक्षसमेत गरी ११ लाख मानिस आश्रित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्