अक्सफोर्डले उत्पादन गरेको कोरोना खोप संकटमा



लन्डन ।

विश्वमा कोरोनासँग लड्नका लागि एकसाथ ८ खोपको विकासमा तीव्र काम भइरहेको छ । यसैबीच सोमबार मात्रै अमेरिकाको मोर्डन कम्पनीको खोप मान परीक्षणमा सफल भएको खबर आएको थियो । तर, बेलायतमा अक्सफोर्डको खोपमा भने समस्या देखिएको छ । सबैभन्दा चर्चामा रहेको उक्त खोपले बाँदरमा भएको परीक्षणमा राम्रो नतिजा दिन सकेन ।

यी खोप तयार गर्नमा चिम्पान्जीबाट प्राप्त एडिनोभाइरसको प्रयोग गरिएको हो । पहिलो चरणमा रिसस मकाउ बाँदरबाट राम्रा नतिजा प्राप्त भएपछि यसको मानव परीक्षण पनि शुरू गरिएको हो । तर, यसबीच बाँदरमा कोरोना पोजिटिभ देखिएपछि चिन्ता बढेको छ ।

कम क्षमताका जुन एडिनो भाइरसबाट यो खोप बनाइएको हो त्यसले साधारण रुघालाई रोक्न सफल भएको छ तर कोरोना भाइरस संक्रमणमा त्यति धेरै प्रभावकारी देखिएन ।

यो खोपलाई लिएर शुरूदेखि नै आशंका गरिरहेका आर्भर्ड युनिभर्सिटीका प्रोफेसर डाक्टर विलियम हेसलटाइनले यस विषयमा जानकारी दिँदै भने– ‘जुन ६ रिसस बाँदरमा यो खोपको परीक्षण गरिएको थियो उनीहरूको नाकमा त्यति नै मात्रामा भाइरस भेटियो जति अन्य खोप नदिएका बाँदरको नाकमा थियो ।’

खोपमा काम गरिरहेका युनिभर्सिटीका जेनर इन्स्टिच्युटले सेप्टेम्बरसम्ममा खोप तयार हुने र यो एक सुरक्षित औषधि साबित हुने बताए । यो खोपको दाबीको पछाडि त्यही प्रविधि हो, जसको प्रयोग वैज्ञानिकहरूले मर्स र इबोला जस्ता महामारीमा गरेका थिए ।

मे १३ सम्ममा करिब १ हजार १ सय जनालाई यो खोप दिइसकेको छ । शोधकर्ताहरूले आगामी एक महिनामा स्पष्ट नतिजा आउने अपेक्षा गरेका छन् । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका डाक्टर स्टिफन इवान्सले बाँदरमा देखिएको नतिजा प्रारम्भिक भएको र भाइरस कतिसम्म रूप परिवर्तन म्युटेट हुन्छ तथा महामारीले कस्तो रूप लिन्छ अगाडि पनि नतिजा हेर्दै जानुपर्ने बताए ।

मे ११ मा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अक्सफोर्डको कोरोना खोपलाई लिएर असमन्जस्यमा देखिएका थिए । अक्सफोर्ड युनिभर्सिटीमा खोप तयार गरिएको बारेमा उत्साहित कुरा आफूूले सुनेको तर यसको कुनै ग्यारेन्टी नभएको उनले प्रतिक्रिया दिएका थिए ।

‘१८ वर्षपछि पनि हामीसँग सार्स भाइरसको खोप नहुनुले म सही छु भन्ने मलाई यकिन छ ।’ –जोनसनले भनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्