यस्तो छ युरोपभरि लकडाउनको स्थिति



विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । नेपालले हिजो आइतबारदेखि काठमाडौं उपत्यकालगायत केही ठाउँमा लकडाउनलाई केही खुकुलो पनि पारेको छ । बैंक, वित्तीय संस्था, उद्योगधन्दा विस्तारै खुल्दै छन् । कोरोनालाई कसरी पराजित गर्न सकिन्छ वा पूरै युरोप के गर्दै छ त ? कसरी त्यहाँको दैनिकी कसरी चलिरहेको छ ? लकडाउनमा सरकारले के–कस्तो कदम चालेको छ आदि विषयमा नेपाल समाचारपत्रका ओमशंकर श्रेष्ठले तयार पारेको यो रिपोर्ट ।

बेलायत
झन्डै सात हप्ता लामो लकडाउनको स्थितिपछि बेलायतका प्रधानमन्त्री बोेरिस जोहन्सनले कोरोना भाइरस महामारीविरुद्ध दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने भएका छन् । बेलायत सरकारले पटक–पटक महामारीको दोस्रो भयावह स्वरूपको खतरा मोल्न नसकिने र अत्यन्तै गम्भीर सतर्कता अपनाइने कुरा दोह¥याइसकेको छ ।
युरोपभरि नै अहिले लकडाउन खुकुलो पारिँदै र व्यापार व्यवसाय खोलिँदै तथा विस्तारै बालबालिकाहरू विद्यालय फर्किन थालेको अवस्था छ ।

जर्मनी
जर्मनीले जनजीवन सुचारु गर्ने क्रममा १६ वटा संघीय राज्यको हातमा रहेको लकडाउनको अधिकार समाप्त पार्दै छ । साथै चान्सलर एन्जेला मर्केलले नयाँ संक्रमण बढ्न गएमा पुनः आपत्कालीन कदम चालिने बताएकी छन् । कार डिलरसिप, वाइसाइकल र पुस्तक पसलहरूलगायत सबै पसल खोल्ने अनुमति दिइएको छ । विशेष गरी परीक्षा दिनुपर्ने स–साना बालबालिकाका लागि आंशिकरूपमा विद्यालयहरू खुला गरिएका छन् । अन्य कक्षाहरू पनि विस्तारै खोलिने भएको छ ।

फ्रान्स
फ्रान्समा १७ मार्चदेखि नागरिकले बाहिर आवत–जावत गर्न अनुमतिपत्र देखाउनुपर्ने गरी कडा लकडाउन लागू गरिएको थियो । ११ मेदेखि यो बन्देज फुकुवा गरिएको छ । तीन सातापछि यसमाथि पुनरावलोकन गरिने भएको छ । खतराको हिसाबले फ्रान्समा चारवटा रातो क्षेत्रलगायत दुई क्षेत्र छुट्याइएका छन् । ११ देखि १८ वर्ष उमेर समूहकालाई पेरिसमा पार्क, गार्डेन र विद्यालय प्रयोगको नीति तर्जुमा भएको छ । विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ । बार र रेस्टुरेन्टबाहेक अन्य सम्पूर्ण पसल खोलिएका छन् । १० जनाभन्दा कम समूहमा एकत्रित हुन पाउने भएको छ ।

आयरल्यान्ड
बेलायतको तुलनामा आयरल्यान्डमा अझै धेरै कडा लकडाउन लागू गरिएको थियो । त्यहाँका बासिन्दालाई घरभन्दा २ किमि परसम्म मात्र व्यायाम गर्न निस्कन पाउने नियम थियो । तर, अब १८ मेदेखि पाँच चरणका मार्ग निर्देशिका अनुसार आयरल्यान्ड पुनः सुचारु भएको छ । विद्यालयहरू भने सेप्टेम्बरसम्म नै बन्द रहनेछन् । गैरअत्यावश्यक वस्तु बिक्री हुने पसल पनि ८ जुनदेखि खुल्नेछन् । २० जुलाईदेखि परिवारका सदस्य तथा नजिकका साथीभाइबीच मात्र जमघट गर्न दिइनेछ ।

बेल्जियम
यसै गरी बढी संख्यामा केयर होमहरूमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने मुुलुक बेल्जियममा पनि बन्देजहरू विस्तारै हटाइँदै छ । यस सम्बन्धमा प्रधानमन्त्री सोफी विल्मेसले मार्ग निर्देशिका सार्वजनिक गरेकी छन् । यसअन्तर्गत १० मे देखि नै एउटै घरमा बसिरहेकाहरू चार जनाको समूहमा भेट्न पाउने भएका छन् । तर, तिनीहरू घरबाहिर भने जान पाउने छैनन् । ४ मेदेखि नै फ्याब्रिक्स पसलहरू खुलेका छन् । सार्वजनिक यातायातमा १२ वर्ष उमेर र सोभन्दा माथिका सबैले मास्क लगाउनुपर्नेछ । अन्य पसल पनि ११ मेदेखि खुल्दै छन् ।

नेदरल्यान्ड
आफ्नो उत्तरी छिमेकी मुलुक आयरल्यान्डको तुलनामा नेदल्यान्डले खुकुलो लकडाउन नीति अपनाएको थियो । प्रधानमन्त्री मार्क रुटेले ११ मे देखि लागू हुने गरी पाँच चरणको योजना सार्वजनिक गरेका छन् । सोही मितिदेखि पुस्तकालय, सैलुन, ब्युटिपार्लर, मसाज तथा अन्य थेरापी खुल्नेछन् । प्राथमिक विद्यालय भने आंशिकरूपमा मात्र खुल्नेछन् । बार तथा रेस्टुरेन्ट र माध्यमिक विद्यालय भने १ जुनदेखि मात्र खुल्नेछन् । लकडाउन अगाडिकै नियमअनुसार सार्वजनिक यातायात सुचारु हुनेछन्, तर मास्क भने अनिवार्य गरिएको छ ।

अस्ट्रिया
लकडाउन खुकुलो गर्ने पहिलो मुलुकमध्ये अस्ट्रिया पनि एक हो । त्यहाँका स्वास्थ्यमन्त्रीले अप्रिलको मध्यतिर नै साना पसलहरू खुला गरिँदा महामारी नचर्किएको जानकारी दिएका छन् । तर, उनले मे महिना निर्णायक हुन सक्ने पनि बताएका छन् । त्यहाँका सबै ठूला सपिङ सेन्टर र कपाल काट्ने सैलुन मेको शुरूदेखि नै खुलेका थिए ।

डेनमार्क
लकडाउन घोषणा गर्ने पहिलो युरोपेली मुलुकमध्ये डेनमार्क पनि एक हो । अप्रिलको मध्यतिरदेखि लकडाउन खुकुलो गरेका डेनमार्क अहिले दोस्रो चरणको मार्ग निर्देशिका पालना गर्दै अघि बढिरहेको छ । त्यहाँ १४ अप्रिलदेखि नै डे केयर सेन्टर र प्राथमिक विद्यालय खुला गरिएका थिए । ११ मदेखि सामाजिक दूरी कायम गर्दै सपिङ सेन्टर, क्याफे र रेस्टुरेन्ट खुलिँदै छन् । सीमाहरू भने अझै बन्द गरिनेछ ।

स्पेन
स्पेनले ४ मेमा लकडाउन खुकुलो पार्ने चार चरणको योजना सार्वजनिक गरेको थियो । १४ वर्षमुनिका बालबालिकालाई घरभित्रै राखिएको ६ हप्ता भइसकेको छ । दुई हप्तापछि १० जुनसम्मका लागि यो नियमलाई खुकुलो पारेर परिस्थितिको पुनरावलोकन गरिने भएको छ ।

इटाली
इटालीले आफ्नो घरभन्दा २ सय मिटर टाढा जान नपाउने गरी लामो र कडा लकडाउन लागू गरेको थियो । तर, मेको शुरूदेखि थोरै समूहमा आफ्ना नातेदारहरू भेट्न अलि टाढासम्म जान पाउने भएको छ । तर, एक क्षेत्रबाट अर्को क्षेत्रमा अझै जान नपाउने भएको छ । १ जुनदेखि मात्र बार र रेस्टुरेन्ट खुल्दै छन् । अब इटालियनले १५ जनाको समूहमा बाहिर अन्त्येष्टिमा भाग लिन पाउने भएका छन् ।

ग्रिस
६ फेब्रुअरीमा पहलो कोभिड–१९ संक्रमणको घटना देखिएको ग्रिसमा तत्कालै लगाइएको लकडाउन २८ अप्रिलमा हटाइएको थियो । नियमित प्रार्थनाका लागि चर्चहरू ४ मेदेखि खुला भएका छन् । त्यसै गरी १० मेदेखि विद्यालय र विश्वविद्यालयहरू पुनः खुलिसकेका छन् । १ जुनदेखि सपिङ सेन्टर, रेस्टुरेन्ट र क्याफेहरू खुल्ने भएका छन् ।

पोल्यान्ड
कोरोना भाइरसका कारण ७ सय जनाभन्दा बढीले ज्यान गुमाएको पोल्यान्डमा २० अप्रिलदेखि लकडाउनका बन्दे हट्न शुरू भएको हो । ४ मेदेखि नै त्यहाँ होटेल, बार, सपिङ सेन्टर, म्युजियम तथा पसल खुलिसकेका छन् ।

स्विडेन
कोरोना भाइरसकै कारण खासै लकडाउनै लागू नगर्ने स्विडेनमा धेरै नियम चलाइरहनुपर्ने स्थिति नै रहेन । युरोपमै रेस्टुरेन्ट, बार, विद्यालय र व्यापार व्यवसाय खुला रहेको यो एक मात्र युरोपेली मुुलुक हो । तर, पचास जनाभन्दा बढी एकै स्थानमा भेला हुन र नर्सिङ होमहरूमा वृद्धवृद्धालाई भेट्न जाने काममा भने प्रतिबन्ध लगाइएको थियो । त्यहाँ ३ हजार जनाभन्दा बढी मानिको संक्रमणबाट मृत्यु भएको छ ।

रसिया
अन्य युरोपेली मुलुकमा जस्तो रसियामा महामारी चरम अवस्थामा पुगिसकेको छैन । गत साता प्रत्येक दिन कम्तीमा १० हजार नयाँ संक्रमित फेला पर्ने गरेको थियो । अहिलेसम्म त्यहाँ लकडाउन हटाइएको छैन । राष्ट्रपति भ्लादिमिर पुटिनले सही निर्णय गर्ने अधिकार गभर्नरहरूलाई दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्