हतार गरेर उपत्यका नछाड्न आग्रह



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो ।

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थामा एकरूपता ल्याउनेलगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो । ‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एकरूपता कायम गर्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाइराख्नुपर्छ भन्ने विषयमा बढी जोड दिएका छौं ।’ –मेयर शाक्यले भन्नुभयो ।

अहिले लकडाउनको अवस्थामा अतिविपन्न, असहाय र मजदुरलाई मात्रै राहतको व्यवस्था गर्ने होइन आफैं किन्न सक्नेलाई किन्ने वातावरणसमेत निर्माण गरिदिनुपर्ने अवस्था भएको उहाँको भनाइ थियो ।

हालसम्मको राहत वितरणबारे जानकारी गराउँदै मेयर शाक्यले अहिलेसम्म काठमाडौं महानगरपालिकाबाट मात्रै ६२ हजार ७ सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको जानकारी गराउनुभयो ।

मेयर शाक्यले अहिलेसम्म काठमाडौं हानगरपालिका क्षेत्रभित्रका ८ सय ५६ जनाको ¥यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै अहिलेसम्मको अवस्थामा काठमाडौं सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न महानगरबासीलाई आग्रह पनि गर्नुभयो ।

छलफल कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले अवस्थाअनुसार उत्पादन क्षेत्रमा लागेकाहरूलाई सरकारको निर्णयलाई बाधा नपुग्ने गरी सहजीकरण गरेको बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको शंका लागे तत्काल परीक्षण गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै भित्रका कामहरूलाई र व्यापार–व्यवसायलाई सम्भव भएसम्म सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा उद्योग परिसंघका अध्यक्ष शतीशकुमार मोरले उत्पादित वस्तुहरू बजारमा ल्याउन नसक्दा मूल्यवृद्धि हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्दै गाउँ फर्किने जनशक्तिलाई रोक्ने उपायका बारेमा खोजी गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि श्रमिकहरूलाई व्यवस्थापन गर्नुपर्नेमा जोडदिनुभयो ।

खुुद्रा व्यापार संघका अध्यक्षलगायतले पनि लकडाउनलाई केही खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई विस्तारै चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए । नियमित अनुगमनलाई पनि निरन्तरता दिनुपर्नेमा उहाँहरूको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्