पूर्वाधार विकासलाई रोकेन लकडाउनले



विजय नेपाली, पोखरा

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि अलपत्र परेको अभ्यास फुटबल मैदानले यति बेला तीव्रता पाएको छ । विश्व कोरोनाको संकटमा परेको अवस्थामा समेत पोखरा रंगशालाको पूर्वाधार विकासले गति लिन लागेको हो ।

निमार्णाधीन अवस्थामा रहेको अभ्यास मैदानको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । चार महिनादेखि अलपत्र परेको मैदानले पछिल्लो समय तीव्रता पाएको हो ।

पोखरा रंगशालामा निमार्णाधीन अवस्थामा अलपत्र परेको अभ्यास फुटबल मैदान राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेश गुरुङको सक्रियतामा अघि बेढेको हो । लकडाउनको समयमा मजदुरलाई समेत सहयोग पुग्ने हिसाबले पनि काम अघि बढाएको सदस्य गुरुङले बताए ।

‘हामीले बिहान खाना र खाजाको समेत व्यवस्था गरी काम गराएका छौं । लकडाउनको समयमा सुरक्षित तरिकाले काम अघि बढाएका छौं । काभे्र, उदयपुर, बाँकेलगायत टाढा–टाढा जिल्लाका मजदुर रहेका छन् । –उनले भने ।

युवा तथा खेलकुद मन्त्रालयबाट योजना परेसँगै काम शुरू भएको केही महिनामा नै मैदान अलपत्र परेको थियो । लकडाउनले पूर्वाधार विकासमा समस्या ल्याउने आम खेलप्रेमीको भावना भए पनि कामले निरन्तरता पाएको हो । मैदान लेभलिङको काम १५ दिनभित्र सक्ने योजना रहेको छ भने करिब २ महिनामा तयार गर्ने उद्देश्यका साथ काम अघि बढेको हो ।

१३औं सागको समयमा उपभोक्ता समिति नै गठन गरी काम गरे पनि बीचमा केही समस्या आएकाले अलपत्र परेको थियो । परिषद्ले तत्काल ९० लाखको योजना पारे पनि बजेट कटौती गरेको हो । उक्त मैदानका लागि छुट्याइएको बजेटमध्ये ३० लाख रुपियाँको काम भए पनि बाँकी रकमको काम भने रोकिएको हो । तर, गुरुङको सक्रियतामा भने काम अघि बढेको हो । राखेपले अत्यावश्यक मैदानका रूपमा लिए पनि रकम भने कटौती गरेको हो ।

कोरोनाले विश्व आतंकित बनाएको अवस्थामा पनि पूर्वाधार विकासको काम हुनुले नेपाली खेलकुदको विकासबाट अब पछि नजाने देखिएको छ । गण्डकी प्रदेशमा नवांै राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्