कान्छी ओलम्पियन गौरिकालाई ६२ लाख



फिरोज राजोपाध्याय, काठमाडौं

नेपाल सरकारले घोषणा गरेअनुसार १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक पाउने खेलाडीले रकम पाउन थालेका छन् । घोषणा भएको करिब ५ महिनापछि खेलाडीहरुले रकम पाउन थालेका हुन् ।

कोरोना भाइरसको कठिन परिस्थितिमा पनि सरकारले पदकधारी खेलाडीका लागि पुरस्कार रकम उपलब्ध गराएको छ । यसमा सबैभन्दा बढी रकम पाउने खेलाडीमा गौरीका सिंह रहेकी छन् । १६ वर्षीया गौरिकाले नेपालमै सम्पन्न सागमा महिला पौडीतर्फ ४ स्वर्ण, २ रजत र ३ कांस्य प्राप्त गरेकी थिइन् ।

व्यक्तिगततर्फ स्वर्ण जित्ने खेलाडीका लागि ९ लाख दिइने भने पनि प्रधानमन्त्री केपी शर्मा ओलीले १ भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि ११ लाखको दरले पुरस्कार रकम घोषणा गर्नुभएको थियो । जसअनुसार गौरिकाको खातामा कुल ६२ लाख जम्मा भएको छ । उनले व्यक्तिगत ४ स्वर्णमा ४४ लाख, २ व्यक्तिगत रजतमा १२ लाख र टिममा तीन कांस्य जितेकोमा ६ लाख गरी ६२ लाख नगद पाएकी हुन् ।

उनीपछि सबैभन्दा बढी रकम पाउनेमा तेक्वान्दोकी आयशा शाक्य, कराँतेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २२÷२२ लाख रकम प्राप्त गरे । आयशाले २९ वर्षमाथिको महिलातर्फको व्यक्तिगत पुम्सेमा स्वर्ण जितेकी थिइन् । उनले भारतकी प्रजक्ता प्रकाशलाई पराजित गरेकी थिइन् । उनले जोडी पुम्सेतर्फ सञ्जीवकुमार ओझासँग मिलेर स्वर्ण जितेकी थिइन् ।

यस्तै कराँतेतर्फ मन्डेकाजीले पुरुष एकल कातामा स्वर्ण जितेका थिए । उनले पाकिस्तानका नियम तुल्लाहलाई ०.८० अंकको अन्तरले हराएर नेपालका लागि स्वर्ण सुनिश्चित गरेका थिए । उनले पुरुष टिम कातातर्पm महसुस तामाङ र प्रवीण मानन्धरसँगै काता प्रस्तुत गरेर स्वर्ण हात पारेका थिए ।

तर १३औं सागमा सबैभन्दा उत्कृष्ट प्रदर्शन नेपालकी जलपरी गौरिकाबाट नै रह्यो । उनले ४ स्वर्णसहित कुल ८ पदक जित्दा नेपालका लागि सर्वाधिक पदक जित्ने कीर्तिमान बन्यो । उनी एउटै संस्करणको सागमा ४ वटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । पदक जितेझै सर्वाधिक रकम जित्नेमा पनि उनी पहिलो नम्बरमा रहन सफल भइन् । उनले महिला १ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् ।

गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा ४ मिनेट २५ दशमलव २८ सेकेन्ड समय लगाएर नयाँ राष्ट्रिय कीर्तिमान राखेकी हुन् । २०७६ सालको वैशाखमै राखेको कीर्तिमानलाई उनले सोही वर्ष तोडेकी थिइन् । वैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा सोही दूरी उनले ४ मिनेट ४४ दशमलव ८१ सेकेन्डको समयमा पूरा गरेकी थिइन् । तर नौ महिनाको अन्तरालमा सोही दूरी पूरा गर्न उनले १९ दशमलव ५३ सेकेन्डको समय सुधार गरेकी थिइन् । हाल लन्डनमा रहेकी गौरिका कान्छी ओलम्पियन खेलाडी पनि हुन् ।

९ लाख पाउनेहरु
तेक्वान्दो
मादेन लिम्बु, कमल श्रेष्ठ, पार्वती गुरुङ, वीरबहादुर महरा, काजल श्रेष्ठ, संगीता बस्याल, सक्षम कार्की, भूपेन श्रेष्ठ ।
उसु
विजय सिञ्जाली, सुस्मिता तामाङ, दीपक हमाल, नीमा घर्तीमगर र जुनी राई ।
कराँते
कुसुम खड्का, अनुपमा मगर, लक्ष्मण तामाङ, विप्लवमान श्रेष्ठ, नवीन रसाइली, अनु अधिकारी र सुनीता महर्जन ।
जुडो
देविका खड्का र पुनम श्रेष्ठ ।
साइक्लिङ
राजेश मगर, निस्मा श्रेष्ठ, लक्ष्मी मगर र बुद्धिबहादुर तामाङ ।
एथ्लेटिक्स
सन्तोषी श्रेष्ठ, किरण सिंह बोगटी, गोपीचन्द पार्की ।
बक्सिङ
भूपेन्द्र थापामगर, मीनु गुरुङ र सनिल शाही ।
भारोत्तोलन
सञ्जु चौधरी र विकास थापा ।
ट्रायथलन
सोनी गुरुङ र हिमाल टमाटा ।
कुस्ती
संगीता धामी ।

प्रतिक्रिया दिनुहोस्