बैंकिङ क्षेत्रमा कोरोनाको असर अन्यत्रभन्दा कम



परिवर्तन देवकोटा, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) का कारण अर्थतन्त्रमा परेको असरको अध्ययन तथा त्यसको प्रभाव नियन्त्रणका लागि सुझाव दिन नेपाल राष्ट्र बैंकद्वारा गठित समितिले काम शुरू गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता एवम् समितिका संयोजक डा. गुणाकर भट्टले कोरोनाले बैंकिङ क्षेत्रमा पारेको असरबारे प्रारम्भिक अध्ययन शुरू गरेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

प्रवक्ता भट्टले भन्नुभयो–‘हामीले प्रारम्भिक अध्ययन शुरू गरेका छौं, अहिले बैंकिङ क्षेत्रमा कोरोना भाइरसले कस्तो असर पार्दै छ भन्नेबारे अध्ययन भइरहेको छ ।’

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कार्यभार सम्हाल्नु भएलगत्तै गठित समितिले बुधबार औपचारिक छलफल गर्दै तथ्यांक संकलनको काम थालेको हो । समिति गठन भए पनि यसबीचमा ‘भर्चुअल’ छलफल हुने गरेको थियो ।

बैंकहरूले पठाएको प्रारम्भिक तथ्यांकअनुसार बैंकिङ क्षेत्रमा कोरोनाले पार्ने असरको अन्य क्षेत्रमा भन्दा सहज देखिएको छ । कोरोना भाइरसले नेपालमा कहिलेसम्म प्रभाव जमाउँछ भन्ने यकिन नहुँदासम्म समितिले अध्ययन गर्नेछ । समितिको अध्ययन प्रतिवेदनका आधारमा नै राहत प्याकेज, सहुलियत, तथा अन्य आर्थिक गतिविधिका सूचक र आधारहरू तय हुनेछ ।

बुधबार भने प्रत्यक्ष भेटेरै छलफल भएको हो । बैंकहरूले पठाएको प्रारम्भिक तथ्यांकअनुसार बैंकिङ क्षेत्रमा कोरोनाले पार्ने असरको अन्य क्षेत्रमा भन्दा सहज देखिएको छ । समितिले सो बारे अध्ययन गरिरहेकोे प्रवक्ता भट्टले बताउनुभयो ।

समितिले पर्यटन, होटललगायतका क्षेत्रमा कोरोना भाइरसका कारण परेको असरबारे पनि अध्ययन गर्नेछ । यससँगै समग्र अर्थतन्त्रलाई कस्तो प्रभाव पार्दछ भन्नेबारे पनि समितिले अध्ययन गर्दछ ।

हालसम्म बैंकहरूको तथ्यांक मात्र अध्ययन भइरहेको जानकारी गराउँदै प्रवक्ता भट्टले भन्नुभयो– ‘हामीले होटल, पर्यटनलगायतका क्षेत्रमा परेको असरबारे पनि अध्ययन गर्दछौं ।’ कोरोना भाइरसले नेपालमा कहिलेसम्म प्रभाव जमाउँछ भन्ने यकिन नहुँदासम्म समितिले यसबारे अध्ययन गरिरहने उहाँले बताउनुभयो । समितिको अध्ययन प्रतिवेदनका आधारमा नै भविष्यमा राहत प्याकेज, सहुलियत, तथा अन्य आर्थिक गतिविधिका सूचक र आधारहरू तय गरिने उहाँले जानकारी दिनुभयो ।

यसैबीच बैंक वित्तीय संस्थाबाट सेवा लिँदा कुनै समस्या आएमा सिधंै सम्पर्क गर्न नेपाल राष्ट्र बैंकले तीन जना कार्यकारी निर्देशकलाई सम्पर्क अधिकारी तोकेको छ । राष्ट्र बैंकका अनुसार बैंकमा रकम जम्मा गर्न वा झिक्न, ऋणको साँवा ब्याज तिर्नेलगायतका विषयमा केही समस्या परेमा कार्यकारी निर्देशक देवकुमार ढकाललाई सम्पर्क गर्न भनेको छ । यस्तै, विप्रेषण, विदेशी मुद्रा सटही, टीटी, प्रतितपत्र तथा विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण विषयका सम्बन्धमा कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

मोबाइल र इन्टरेनट बैंकिङ, डेबिट कार्य तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबारका क्रममा समस्या आए अर्का कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क व्यक्ति तोक्दै उनीहरूको मोबाइल नम्बर र इमेल ठेगाना केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्