२०७६ मा ब्यस्त नेपाली खेलकुद



sf7df8f}F, @$ dªl;/M तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता;dfkg ;df/f]x तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत काठमाडौँको दशरथ रंगशालामा d+unaf/ ;fFem ePsf] ;dfkg ;df/f]x . k|bLk/fh jGt÷/f;;

कविरस शर्मा, काठमाडाैँ  ।

गत डिसेम्बरको अन्त्यबाट फैलिन सुरु भएको भनिएको कोरोना भाईरस (कोभीड–१९) को महामारीका कारण अहिले नेपाल लगायत विश्वका २ सय भन्दा बढी देशले मानवीय संकटको सामना गरिरहेका छन् । अहिलेसम्म कोरोनाबाट लाखौ संक्रमित भईसकेका छन् भने १ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमणबाट बच्न नेपाललगायत अन्य थुप्रै देशहरुमा गरिएको लकडाउन अझै कायमै छ ।

चैतको दोस्रो साता कोरोनाबाट संक्रमित दोस्रो ब्यक्ति नेपालमा फेला परेपछि नेपाल सरकारले लकडाउन गर्ने निर्णय गरेको हो । जसका कारण सबै क्षेत्र प्रभावित बनेको छ । अतिआवश्यक काम बाहेकको गतिविधिमा रोक लागेसँगै वर्षभरि ब्यस्त बनेको नेपाली खेलकुदका गतिविधि पनि वर्षको अन्त्यमा शून्यमा झरेको छ ।

कोरोनाका कारण अहिले ठप्प रहेको नेपाली खेलकुदको बितेको एक वर्षलाई नियाल्ने हो भने निकै ब्यस्त रहेको मान्न सकिन्छ । वर्षको अन्तिम महिना घरमा नै बिताउन बाध्य नेपालवासीहरु २०७६ को बैशाख र पुसमा सम्पन्न दुई ठूला खेल प्रतियोगिताका प्रत्यक्ष र अप्रत्यक्ष साक्षी बनेका थिए । मुख्यतः आठौ राष्ट्रिय खेलकूद र १३औं दक्षिण एसियाली खेलकुद (साग) एकै वर्ष सम्पन्न भएकोले २०७६ लाई खेलकुदमय वर्ष मान्नैपर्छ । तर, दुवै प्रतियोगितामा समान समस्या देखिएको थियो । त्यो हो हतारको तयारी ।

प्रतियोगिताको आयोजना र व्यवस्थापन दुई फरक पाटा हुन् । तर, राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताको आयोजना नै मुख्य बिषय मान्यो । कमजोर व्यवस्थापन सधैंको नियति बन्दै आएको छ । अभाव र गुनासाका त्यही नियति आठौं राष्ट्रिय खेलकुद र १३औं सागमा समेत दोहोरियो । खेलाडीको दुःख र गुनासा मैदान पुग्नु अघि नै सुरु भएका थिए । अरु त के कुरा, खेलाडीले लगाउने सामान्य पोशाक वितरणमा समेत हेलचेक्राई भएको थियो ।

समयमै बजेट निकासा नहुँदा पुर्वाधारका काम समयमा नसकिएको छर्लङ्ग भएका थिए । काठमाडौं, पोखरा होस् वा नेपालगन्ज, प्रतियोगिता अवधिभर रंगशालाको प्याराफिटको काम जारी नै देखिएका थिए ।

धेरै पुर्वाधारको काम रातारात सकिए । हतारमा बनेका ती पुर्वाधारको गुणस्तरमाथिको प्रश्न अझै उठी नै रहको छ । “डाईइंग मोमेन्ट“ मा नेतृत्वको सबै कसरत प्रतियोगिता आयोजनामै केन्द्रित बनेपछि जसोतसो आठौ राष्ट्रिय खेलकुद र १३औं साग भएरै छाड्यो ।

 

राष्ट्रिय खेलुकदको हरेक संस्करण अझ परिस्कृत र व्यवस्थित बन्नुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन । २०७६ को सुरुवातमा नै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । गत बैशाखमा नेपालगन्जमा आधिकारिक उद्घघाटन गरिएको प्रतियोगिताका विभिन्न खेलहरु विधागत रुपमा २०७५ को चैत्र २७ गतेदेखि नै बिभिन्न जिल्लामा भएको थियो ।

आठौंमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कुल ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि भिडन्त भएको थियो । आठौंअन्तर्गत् १४ खेल प्रतियोगिता उद्घघाटन अघि नै सम्पन्न गरिएका थिए ।

अनेकन् गुनासा र त्रुटिका बावजूद आठौ संस्करण साढे दुई वर्षको अन्तरालमा सम्पन्न हुनुलाई सन्तोषजनक नै मानियो । आठौंमा प्रतिस्पर्धाका लागि करौडौ खर्च गरेर बनाइएको पौडी पोखरीले पुर्णता नपाउँदा खेल नै निजि होटलको स्विमिङ पुलमा गरिएको थियो ।

त्यस्तै सुटिङ हलको काम पुरा नहुदाँ एक दिन ढिला मात्र खेल सुरु भएको थियो । त्यस्ता अन्य थुप्रै त्रुटिहरु देखिएका थिए आठौंमा । आशा गरौं त्यस्ता त्रुटिहरु यसै वर्ष हुने नवौं राष्ट्रिय खेलकुदमा नदोहोरिउन् ।

आठौ राष्ट्रिय खेलकुद सम्पन्न भएको ९ महीनापछि अर्थात् गत पुसमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भयो । नेपालले तेस्रो पटक आयोजना गरेको साग ऐतिहासिक समेत बन्यो । नेपाल दोस्रो पटक अन्तिम पदक तालिकाको दोस्रो स्थानमा सूचीकृत बन्यो । यसअघि सन् १९९९ मा नेपालमा नै सम्पन्न आठौं सागमा पनि नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।

नेपालले ५१ स्वर्ण ६० रजत र ९५ काश्य गरी कुल २ सय ६ पदक जितेर सागको इतिहासमा सर्वाधिक पदक जित्न सफल भयो । त्यतिमात्र होईन, पहिलोपटक दुई सयभन्दा बढी पदक जितेर सागमा नेपालले ठूलो उपलब्धि हासिल ग¥यो । यसअघि नेपालले एक सय पदक पनि जित्न सकेको थिएन ।

नेपालले सागको साढे तीन दशक लामो यात्रामा पहिलो पटक ५० भन्दा बढी स्वर्ण पदक जितेर ऐतिहासिक सफलता हासिल ग¥यो । कूल २७ खेल समावेश १३औं सागमा नेपालले २६ खेलमा पदक जित्न सफल भयो । नेपाल शुटिङमा मात्र पदकबिहीन बन्यो ।

सन् १९८४ देखि शुरू भएको सागमा नेपालको यसअघि सबैभन्दा उत्कृष्ट नतिजा नेपालमा नै १९९९ सम्पन्न आठौं सागमा प्राप्त गरेको नतिजा थियो । आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

१३औं सागमा नेपालले कराँतेबाट १०, उसुबाट ५, बक्सिङबाट ३ र जुडोबाट २ स्वर्ण बटुल्यो । बक्सिङमा नेपालले २० वर्षपछि स्वर्ण जित्दा भारोत्तोलनबाट १३ वर्षपछि स्वर्ण भित्र्यायो । त्यस्तै, ट्रायथोलन, गल्फ, कुस्ती र साइक्लिङमा पहिलो पटक स्वर्ण हात लाग्यो । त्यसैगरी एथ्लेटिक्स, पौडी, फुटबलबाट पनि नेपालले स्वर्ण बटुल्यो ।

१३औं सागमा पौडीका महिला खेलाडी गौरिका सिंहले ४ स्वर्ण जितेर नौलो कीर्तिमान रचिन् । उनी एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी समेत बनिन् । नेपालका लागि १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जितेर एथ्लेटिक्सतर्फ पहिलो स्वर्ण जित्ने महिला खेलाडी बन्ने कीर्तिमान बनाईन् ।

त्यस्तै कुस्तीमा संगीता धामीले पहिलो पटक स्वर्ण जितेर कीर्तिमान बनाइन् । गल्फमा सुवास तामाङले पहिलो पटक स्वर्ण दिलाएर कीर्तिमान बनाए । भारोत्तोलनको महिला विधामा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् सञ्जु चौधरी । त्यस्तै सागको पुरुष फुटबलमा पनि नेपालले चौथो पटक स्वर्ण जित्न सफल भयो ।

१३औं सागको फाइनलमा नेपालले स्वर्ण पदकका लागि भुटानलाई २–१ ले पराजित गरेको थियो । त्यससंगै नेपालले १२औं सागको पुरुष फुटबलमा जितेको स्वर्णको रक्षा पनि ग¥यो । नेपाल सन् १९८४, १९९९ र २०१६ को विजेता पनि हो ।

नेपालका लागि करातेमार्फत् मण्डेकाजी श्रेष्ठले दुई स्वर्ण जित्न सफल भएका थिए । उनले एकल काता र टिम कतामार्फत् स्वर्ण जितेका हुन् । टिम कातामा उनीसँगै महसुस तामाङ र प्रविण मानन्धरले नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यस्तै करातेकै टिम काताको महिलातर्फ निर्मला तामाङ, संगिता मगर, सरु कार्कीले स्वर्ण जिते।

करातेकै लक्ष्मण तामाङ, विप्लवलाल श्रेष्ठ, कुसुम खड्का, अनु अधिकारी, नवीन रसाइली, सुनिता महर्जन र अनुपमा मगरले स्वर्ण हात पारे । तेक्वान्दोमा आयशा शाक्यले दुई वटा स्वर्ण जित्न सफल भईन् । उनले तेक्वान्दोको २९ वर्षभन्दा माथिको पुम्सेमा दुई वटा स्वर्ण जितेकी हुन् । दोस्रो स्वर्ण जित्दा उनलाई सञ्जिकुमार पाण्डेले साथ दिएका थिए ।

त्यस्तै कमल श्रेष्ठ, सिना, मादेन लिम्बु, पार्वती गुरुङ, काजल श्रेष्ठ, वीरबहादुर महराले स्वर्ण जिते । त्यसैगरी पुम्से महिला टिमको १७ देखि २३ वर्षको इभेन्ट्समा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना र पुम्से महिला टिमअन्तर्गत् २३ देखि २९ वर्षको इभेन्ट्समा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईले नेपाललाई स्वर्ण दिलाए । तेक्वान्दोकै भुपेन श्रेष्ठ, संगीता बस्याल र सक्षम कार्कीले पनि नेपाललाई स्वर्ण दिलाए ।

त्यसैगरी उसुमार्फत् विजय सिन्जाली, सुस्मिता तामाङ, दीपक हमाल, निमा घर्तीमगर र जुनी राईले स्वर्ण जिते। साइक्लिङका राजेश मगर, निश्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र बुद्धिबहादुर तामाङले स्वर्ण पदक हात पारे। एथ्लेटिक्सबाट सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र म्याराथनबाट किरणसिंह बोगटीले स्वर्ण जिते ।

नेपाली बक्सिङ इतिहासमा मिनु गुरुङ कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन् । त्यस्तै पुरुष बक्सिङले पनि २० वर्षपछि सागमा स्वर्ण जित्यो । नेपाली मुक्केबाजद्वय भुपेन्द्र थापामगर र सनिल शाहीले स्वर्ण चूमे । त्यस्तै जुडोकी देविका खड्का र पुनम श्रेष्ठले स्वर्ण चुमिन् ।

पौडीको २ सय मिटर ब्याकस्ट्रोक, २ सय मिटर फ्रिस्टाइल, ४ सय मिटर फ्रिस्टाइल र १ सय मिटर फ्रिस्टाइलमा गरी नेपाली स्विमिंग क्वीन गौरिका सिंहले कीर्तिमान रच्दै ४ स्वर्ण जितिन् । भारोत्तोलनका सन्जु चौधरी र विकास थापाले पनि स्वर्ण हात पारे । त्यसैगरी गल्फबाट सुवास तामाङ र गल्फ टिम इभेन्ट्समार्फत् सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले नेपाललाई स्वर्ण दिलाए ।

ट्रायथोलनका सोनी गुरुङ, डुवाथोलनका हिमाल टमाटा र कुस्तीका संगिता धामीले पनि नेपालको स्वर्ण संख्यामा आफ्नो नाम लेखाए । त्यसैगरी नेपाली पुरुष फुटबल टोलीले स्वर्ण जितेर नेपालको स्वर्ण संख्या ५१ पु¥याए। नेपालले साग फुटबलमा जितेको यो चौथो स्वर्ण पदक हो ।

क्रिकेटको लागि भने वर्ष २०७६ मिश्रित रह्यो । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) लाई ईन्टरनेसनल क्रिकेट काउन्सील (आईसीसी) ले प्रतिबन्ध मुक्त गर्नु र क्यानले नयाँ नेतृत्व पाउनु सुखद पक्ष बन्यो । तर प्रदर्शनलाई हेर्ने हो भने वर्ष २०७६ मा नेपाली क्रिकेटले आफ्नो साख अनुसार प्रदर्शन गर्न सकेन । दुई प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटले निराशाजनक प्रदर्शन ग¥यो ।

२०१९ को जुलाईमा सिंगापुरमा भएको आईसीसी एसिया विश्वकप टि–२० छनोटमा खराब प्रर्दशन गर्दै ग्लोबल छनोटमा नपुगी टि–२० विश्वकप यात्राबाट नेपाल बाहिरिएको थियो । प्रतियोगिता अघि नेपाल वरियतादेखि सबै कुरामा अन्य प्रतिस्पर्धी भन्दा अब्बल थियो । आइसीसीको टि–२० को ११औं वरियतामा रहेको नेपाललाई उपाधिको दावेदारको रुपमा हेरिएको थियो । तर, नेपालले पहिलो खेलमै कतारसँग ४ विकेटको अप्रत्यासित हार बेहो¥यो ।

मलेसियालाई ७ विकेटले हराउँदै आशा कायमै राख्यो । कुवेतलाई ७ विकेटले हराउँदा अन्तिम खेलमा सिंगापुरलाई हराउनै पर्ने समिकरण बनेको थियो । तर, सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएपछि टि–२० विश्वकप खेल्नबाट चुक्यो । विश्वकप खेल्न नपाएपनि पनि नेपाललाई भारतसँगै अफगानिस्तान, बंगलादेश, श्रीलंका र पाकिस्तान जस्ता टेष्ट राष्ट्रसँग खेल्ने सुनौलो अवसर थियो ।

जसको लागि नेपालले इस्टर्न रिजन हुँदै एसिया कप छनोटमा शीर्ष स्थानमा रहनु पथ्र्यो । तर थाईल्यान्डमा भएको इस्टर्न रिजन टि–२० प्रतियोगितामा नेपालले खराब प्रर्दशनलाई जारी राखेपछि टि–२० एसिया कप खेल्ने अवसर समेत गुमायो ।

लगातार नेपालको स्तर खस्किनाले समर्थकमा निराशा बढ्न थालेको छ । यसले नेपाली क्रिकेटको लोकप्रियता निरन्तर घट्दै गएको छ ।

२०७६ मा नेपालको घरेलु फुटबलमा मच्छिन्द्र क्लब नयां शक्तिको रुपमा उदायो । २०७६ को शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेपछि मच्छिन्द्र क्लब नेपाली फुटबलको नयाँ शक्तिको रुपमा उदाएको हो । सानमिगेल मच्छिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको हो ।

लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जित्यो । मच्छिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो । १३ खेलमा मच्छिन्द्रले १० मा जित २ मा बराबरी र १ मा हार सहित ३१ अंक रहँदै शीर्ष स्थानमा ओगट्यो । १३ खेलमा ९ मा जित, समान २ मा हार र बराबरी सहित २९ अंक सहित आर्मी दोस्रो स्थानमा रह्यो ।

२०७६ को अन्ततिर कोरोनाको सन्त्रासका कारण अन्तर्राष्ट्रिय प्रतिष्ठित प्रयिोगिताहरु भने अस्तब्यस्त बन्यो । जापानमा हुने ओलम्पिक खेलकुद एक वर्ष पछि सरेपछि विश्वभरका खेलाडीहरुका लागि यो चुनौती र अवसर बनेको छ । तयारीका लागि थप एकवर्ष पाउनु ठूलो अवसर हो भने कतिपय खेलाडीका लागि उमेर हदबन्दीको समस्या चुनौती पनि बन्न सक्नेछ ।

त्यसैगरी यूरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिताको मिति पनि एक वर्ष पर धकेलियो । विश्वमै सबैभन्दा लामो ईतिहास बोकेको ग्रान्ड स्लामबाट परिचित विम्बल्डन टेनिस प्रतियोगिता पनि रद्द भयो । वर्षेनी आयोजना हुने विम्बल्डन टेनिस दोस्रो विश्वयुद्धपछि पहिलो पटक रद्द गरिएको हो । त्यस्तै यूरोकपका लागि तय भएका प्लेअफ म्याचहरु पनि रद्द गरिएका छन् ।

जारी सिजनको अन्त्यको संघारका रहेको विश्वका चर्चित फुटबल लिगहरू पनि स्थगित भएका छन् । यूईएफए च्याम्पियन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग लगायत अन्य थुप्रै फुटबल लिगहरु स्थगित भएका छन् । नेपाललगायत एसियाली राष्ट्रका थुप्रै घरेलु प्रतियोगिताहरू पनि कोरोनाको मारबाट गुज्रिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्