कालोबजारी रोक्न अनुगमन 



नेपाल समाचारपत्र, तनहुँ

चीनको उहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप विश्वभर फैलिएसँगै कालोबजारी बढेको जनगुनासो आएपछि अनुगमन तीव्र पारिएको छ।

गण्डकी प्रदेश अनुगमन टोलीले बुधबार दमौली बजारका मेडिकल, ग्यास तथा खाद्य डिपोको अनुगमन गरेको छ। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कास्कीका संयोजक गोकुल शर्मा पौडेलको संयोजकत्वमा बजार अनुगमन गरिएको हो। चीनको उहानबाट विश्वभर कोरोना भाइरसको प्रकोप फैलिएसँगै कालोबजारी बढेपछि गण्डकी प्रदेशले अनुगमनलाई तीव्रता दिएको संयोजक पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार कोरोना भाइरसको त्रासले उपभोक्ताले आवश्यकभन्दा बढी ग्यासका सिलिन्डर, खाद्यवस्तु खरिद तथा मास्कमा कालोबजारी गरेको जनगुनासोको सुनुवाइका लागि अनुगमन गरिएको हो। ‘कोरोना फैलिएपछि खाद्यान्न अभाव हुने आशंकाले गर्दा कालोबजारी बढेको छ, त्यस्ता कार्यलाई न्यूनीकरण गर्न अनुगमन गरिएको हो, तनहुँको बजारमा ग्यास अभाव छैन, समयमा ढुवानी भए सहज रूपमा पाउनेछन् उपभोक्ताले ग्यास।’ –पौडेलले भन्नुभयो।

अनुगमन गरिएका ठूला डिपार्टमेन्टल स्टोर्समा खाद्यान्नको भण्डारण भने उपभोग्य वस्तु र सरफ एकै ठाउँमा तथा म्याद गुज्रेका वस्तु एकैसाथ राखिएको भेटिएको पौडेलले बताउनुभयो। उहाँका अनुसार भण्डारणमा खाद्यवस्तुको मापनसमेत फरक रहेको पाइएको छ। म्याद गुज्रेका सामग्री छुट्याएर राख्न तथा सामग्रीको सही मापन गरेर खरिद बिक्री गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो।

‘प्रदेशले पहिलोपटक तनहुँमा गरेकाले एकपटकलाई सुध्रिन आग्रह गरी छाडिएको छ, नत्र यस्ता सप्लायर्सलाई सिल गर्नुपर्ने हो, एक हप्ताको समयमा सबै हटाउन र मिलाएर राख्न निर्देश गरिएको छ।’ –उहाँले भन्नुभयो।

सामग्री खरिद–बिक्रीमा उपभोक्ता सचेत हुनुपर्ने उहाँको भनाइ छ। अनुगमन टोलीले अनुगमन गर्नुभन्दा उपभोक्ता सचेत हुँदै बिक्रेतालाई कारबाहीमा पु¥याउनेतर्फ सचेत हुनुपर्ने पौडेलको धारणा छ।

सरोकारवाला पक्षलाई सचेत गराउँदै समय–समयमा अनुगमन गर्नतर्फ उपभोक्ताले झकझाउनुपर्ने उहाँको सुझाव छ। बजारमा सामग्री पाइएन भनेर कालोबजारीलाई उपभोक्ताले टेवा पु¥याउने काम गरेको उहाँले बताउनुभयो। ‘उपभोक्ताले सामग्रीका साथ बिल पनि अनिवार्य लिने गरौं, उक्त कार्यले कालोबजारीलाई दुरुत्साहन गर्नेछ।’ –उहाँले भन्नुभयो।

ग्यास अभाव छैन
ग्यास अभाव नभएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कास्कीले जनाएको छ। गण्डकी प्रदेशमा ४÷५ महिनालाई पुग्ने खाद्यवस्तु तथा ग्यास भण्डारणमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कास्कीका संयोजक गोकुल शर्मा पौडेलले बताउनुभयो।

‘नयाँ ग्यास बिक्री गर्न नपाए पनि पुरानो भर्ने व्यवस्था भने सरकारले मिलाएको छ, उपभोक्तासँग ग्यासको वास्तविक मूल्यभन्दा बढी लिइएको थाहा पाइएको खण्डमा ग्यास डिपो नै सिल गरिनेछ’, उहाँले भन्नुभयो– ‘उपभोक्ताले आत्तिएर धेरै खरिद गरेको थाहा पाइएमा समेत जफत गरिनेछ।’

द पासल ग्यास सप्लायर्सका प्रोप्राइटर दिनेश श्रेष्ठले बजारमा ग्यासको अभाव नरहेको बताउनुभयो। श्रेष्ठले केही दिनको अन्तरमा ग्यास आपूर्ति भइरहेकाले उपभोक्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो। ‘आपूर्तिका लागि ढुवानीमा ढिलाइ भएर समयमा उपभोक्ताको माग पूरा भएको छैन, एक परिवारलाई बढी ग्यास दिएका छैनौं, बढी मूल्य पनि लिएका छैनौं’, उहाँले भन्नुभयो– ‘उपभोक्ता मात्रै आत्तिनु भएको हो, ग्यास अभाव छैन बजारमा।’

सर्जिकल मास्कको अभाव 

अनुगमनका क्रममा दमौलीका मेडिकल तथा अस्पतालहरूमा सर्जिकल मास्क भने पाइएको छैन। सर्जिकल मास्क कमै आपूर्ति भएको मेडिकल सञ्चालकहरूले जनाएका छन्। बजारमा कपडाको मास्क भने अभाव नरहेको अनुगमनको क्रममा भेटिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कास्कीका संयोजक गोकुल शर्मा पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार दमौलीमा पहिलेदेखि नै सर्जिकल मास्क कम आपूर्ति हुने गरेकाले यसको कालोबजारीकरण भने भएको छैन। दमौलीका एक वा दुईवटा मेडिकलबाहेक अन्य मेडिकल मापदण्डमा चलेको उहाँले बताउनुभयो। ‘मापदण्डमा नरहेको केही मेडिकललाई भने एक हप्तामा सुध्रिन निर्देशन दिएको छ, अर्कोपटक अनुगमनमा आउँदा त्यस्ता गल्ती भेटिएमा सिल गर्ने चेतावनी दिइएको छ।’ –उहाँले भन्नुभयो।

केही मेडिकलमा म्याद गुज्रेका र म्याद रहेका औषधि छुट्याएर राखेको अनुगमनको क्रममा भेटिएका थिए। केहीमा भने स्वास्थ्यलाई असर गर्ने गरी डस्बिनमा फोहर राखिएको पाइएको थियो।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका सदस्य–सचिव भरतमणि बराल, सदस्य प्रदीपकुमार रेग्मी, ऋषिराम पौडेल, उपभोक्ता मञ्च कास्कीका कमलनाथ कोइराला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बराल, घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, तनहुँ उद्योग वाणिज्य संघका सदस्य रमेश श्रेष्ठ, व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीलगायत सरोकारवालाहरूको सहभागितामा बजार अनुगमन गरिएको थियो।

गण्डकी प्रदेशको ४ ठाउँमा अनुगमन गरिएको थियो। पोखराको ३ ठाउँ र तनहुँमा अनुगमन गरिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्