बैंकिङ क्षेत्रमा कोरोनाको असर



परिवर्तन देवकोटा, काठमाडौं । 

कोराना भाइरस (कोभिड–१९) को प्रभाव नेपालको बैंकिङ क्षेत्रमा देखिन शुरू भएको छ। सरकारले भीडभाडमा नजान आदेश दिएसँगै बैंकमा जानसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको भन्दै सेवाग्राही चिन्तित बनेका छन्।

बैंक जनतासँग सबैभन्दा धेरै नजिक हुने संस्था हो। बैंक र जनताबीचको सम्बन्धलाई कोरोनाले आतंकित पार्न सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले सुझावसमेत दिइरहेका छन्। सेवाग्राहीको सुरक्षाका लागि बैंकमा स्यानिटाइजर तथा अन्य सरसफाईका सामग्री प्रयोगमा ध्यान दिन थालिसकेका छन्।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कोरोना त्रासका कारण आर्थिक कारोबार बन्द हुने बताउँदै बैंकमा रहेको कर्जाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आउन सक्ने बताउनुभयो।

उहाँले जनता र बैंकबीच प्रत्यक्ष भेटघाट हुने भए पनि सरकारले नभेट्नु भनेर दिएको निर्देशनका कारण बैंकमा समेत कारोबार कम हुने जोखिम रहेको उहाँले औंल्याउनुभयो। उहाँले भन्नुभयो–‘सरकारले पनि भेटघाट सकभर नगर्न निर्देशन दिएको छ, संक्रमणको त्रासका कारण सेवाग्राही बैंकमा नआउँदा कारोबारमा समेत कमी हुने जोखिम देखिन्छ।’

पूर्वगभर्नर क्षेत्रीले कर्जा स्वीकृत गर्नका लागि बैंकले फिल्ड भिजिट गर्नुपर्ने अवस्थामा त्रासका कारण त्यो पनि अवरुद्ध हुने बताउँदै बैंकिङ क्षेत्रमा यसले नराम्रो असर पार्ने बताउनुभयो।

यता, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले भने कोरोनाको त्रासले अर्थतन्त्रमा नकारात्मक असर परे पनि बैंकिङ क्षेत्रमा तत्कालै असर नपर्ने बताउनुभयो।

नेपाल राष्ट्र बैंकसँग कोरोनाले पार्ने असरबारे अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकसँग नियमित छलफल भइरहेको बताउँदै उहाँले बैंकिङ क्षेत्रमा समस्या नहुने स्पष्ट पार्नुभयो।

व्यापारीहरूले लगानीका लागि लिएको कर्जाको किस्ता तिर्नै नसक्ने स्थिति आउन सक्ने बताइरहँदा अध्यक्ष दाहालले भने ती समस्याहरू तत्कालै नआउने दाबी गर्नुभयो।

उहाँले कोरोनाले बैंकिङ क्षेत्रमा पार्ने प्रभावबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको बताउँदै केही असर परे पनि आत्तिनुनपर्ने बताउनुभयो। उहाँले भन्नुभयो–‘कोरोनाको त्रासपछिको प्रभावबारे हामीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरेका छौं। यसबारे राष्ट्र बैंकले अध्ययन गर्दैछ। यद्यपि, डराउनुपर्ने स्थिति देखिंँदैन।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बैंकहरूले कोरोनाबारे त्रास हटाउन जनचेतना फैलाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो। आफ्नो बैंकमा केही दिन अघिदेखि नै स्यानिटाइजर तथा मास्कको प्रयोग गर्न थालिसकेको बताउँदै उहाँले अन्य बैंकले पनि सुरक्षा सर्तकता अपनाउनुपर्ने बताउनुभयो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोना भाइरसको त्रासका कारण बैंकिङ क्षेत्रमा पर्ने असरबारे अध्ययन भइरहेको जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले रेमिट्यान्समा कमी आउने देखिएको बताउनुभयो।

उहाँले भन्नुभयो–‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्ष्ाँमा कोरोनाले केही गम्भीर असर पारेमा सहजीकरण गर्ने भनेर सम्बोधन गरेका छौं, हामीले बैंकहरूलाई यसबारे आश्वस्त पार्छौं।’ उहाँले कोरोना त्रासका कारण बैंकिङ क्षेत्र आत्तिनु नपर्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्