मानवीय संवेदना



छिमेकी मुलुक चीनको हुबेई, उहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वव्यापी चुनौतीको विषय बनेको छ । मानिसमा मृत्युको भय एकातिर छ भने अर्कातिर आर्थिक मन्दीले सिर्जना गर्ने सम्भाव्य त्रास । यो साझा परिवेश हो, आज यस अवस्थाबाट विश्वको खासगरी शहरी क्षेत्र आक्रान्त छ । तर, यस बेला जुन स्तरको मानवीय संवेदनाको खाँचो थियो, त्यो खासगरी व्यापारिक क्षेत्र तथा दैनिक उपभोग्य सामग्रीका आपूर्तिकर्ताबाट देख्न सकिएको छैन ।
कोरोना भाइरसले सबैभन्दा बढी प्रभाव पारेको भनेको पर्यटन सेवामा हो । नेपालले निकै तयारी गरेको नेपाल भ्रमण वर्षसमेत स्थगित गर्नुपर्ने स्थितिले यसको संवेदनशीलतालाई बुझाउँछ । नेपालको प्रमुख आयका रूपमा रहेको वैदेशिक रोजगारीमा समेत यसको असर देखिएको छ । कोरोना भाइरसकै कारण कतारले नेपालीहरूलाई प्रवेशमा रोक लगाएको छ । त्यससँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित भएको छ। नेपाली कामदारका लागि कतार मलेसियापछिको दोस्रो आकर्षक गन्तव्य मुलुक हो । कतारमा रोजगारीको खोजीमा वार्षिक डेड लाखभन्दा बढी युवाहरू पुग्ने गरेका छन् ।
हाल कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिकहरू कार्यरत रहेको अनुमान छ । यसैबीच एसियाली विकास बैंक (एडीबी)ले कोरोनाका कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपियाँसम्म क्षति हुनसक्ने प्रक्षेपण गरेको छ । आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने प्रतिवेदन एडीबीले सार्वजनिक गरेको छ । प्रकोप अनियन्त्रित भयो भने अर्थतन्त्रमा ठूलो क्षति पुग्ने विश्लेषण छ । अर्कोतर्फ यसै अवस्थालाई ठूलो अवसरका रूपमा लिएर दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न पनि व्यवसायीहरू उद्यत रहेको पाइएको छ । बढीभन्दा बढी मूल्य लिने, आफू नाफा कमाउने र अरू मरे पनि मतलब छैन भन्ने सोच अमानवीय हो । अहिलेको संकटमा यस्ता कार्यलाई प्रहरी र प्रशासनको माध्यमबाट नियमन गर्नुमात्र पर्याप्त कदापि हुँदैन ।
मानिस–मानिसको सम्बन्धलाई आर्थिक लाभले मात्र तौलिने सोच र प्रवृत्ति अहिलेका लागि सबैभन्दा खतरनाक छ । त्यसैले उद्यमी, व्यवसायी, निजी क्षेत्रले सामाजिक उत्तरदायित्वसहित दान र सेवा भावलाई बढावा दिन महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ । संकट पर्दा नै मानिसलाई साथ, सहयोग, सद्भाव आवश्यक पर्ने हो । तथागत गौतम बुद्धको जन्मभूमि नेपाल, ज्ञानभूमि, तपोभूमि मुलुकका जनता यस कार्यमा अब्बल रहेर विश्वसामु उदाहरण पेस गर्ने अवसर पनि यस्तै संंकट आइपर्दा हो ।
अतः सबै क्षेत्र, व्यवसायका मानिसहरूले स्थितिको संवेदनशीलतालाई बुझेर आपसी सहयोग सद्भाव राखेर अघि बढ्नुपर्ने बेला आएको छ । अहिले देखिएको असरलाई संकेतका रूपमा बुझेर सरकारले बेलैमा आफूले गर्नुपर्ने कामको तयारी अघि बढाउनुपर्ने देखिन्छ । साथै, मानवीय भावना जागृत गराउने कार्यक्रम निर्माण तथा प्रचार–प्रसारमा सञ्चार क्षेत्र पनि उद्यत हुनुपर्छ । वास्तवमा औषधी र उपभोग्य सामग्रीको अभाव सिर्जना गरेर केही रकम जम्मा गर्नेलाई नै कोरोना भाइरस नलाग्ला भन्न सकिन्न । यस तथ्यलाई स्वीकार गर्दै मानवीय भावनाका साथ व्यवहार गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्