कम्पनी प्रोफाइल : विस्तारै बजार कब्जा गर्दै एनएमबि बैंक



नेपाल समाचारपत्र, काठमाडौं।

एनएमबि बैंक लिमिटेडले सन् २००८ मा नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गको वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त गरेको संस्था हो। यद्यपि, यो वित्तीय संस्था २० वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको छ।यस बैंकमा नेदरल्यान्डको अन्ट्रप्रेनियुरियल डेभेलपमेन्ट बैंक (एफएमओ) को संयुक्त लगानी रहेको छ।

सेप्टेम्बर २०१६ मा संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गरेसँगै १४ दशमलव १८ प्रतिशत शेयरसहित एफएमओ बैंकको सबैभन्दा ठूलो शेयरधनीका रूपमा रहेको छ। एफएमओसँगको गठबन्धनले एनएमबि बैंकलाई वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन गर्न र नवीकरणीय ऊर्जा र कृषि व्यवसायमा अग्रणी भूमिका खेल्न मद्दत गरेको बैंकको दाबी छ।

दि बैंकर, द फाइनन्सियल टाइम्स लन्डनले एनएमबि बैंकलाई ‘बैंक अफ द इयर २०१७ र २०१८’ गरी लगातार दुई वर्ष सम्मानित गरेको छ। क्षेत्रीयरूपमा सञ्चालन भएका र केही राष्ट्रियस्तरका अन्य वित्तीय संस्थालाई गाभ्दै आएको यस बैंकका एनएमबि क्यापिटल र एमएमबि लघुवित्त जस्ता दुई सहायक कम्पनी रहेका छन्। यसै साता यस बैंकले सुदूरपश्चिममा सञ्चालन रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई गाभ्ने सहमति गरेको छ। साथै एनएमबि सुभल इन्भेष्टमेन्ट–१, एनएमबि हाइब्रिड फन्ड–१ जस्ता योजना सञ्चालनमा ल्याएको छ।

बैंकको २४औं साधारण सभाले अध्यक्षमा पवनकुमार गोल्यान तथा सञ्चालक समितिमा एफएमओका तर्फबाट निको पिल, कर्मचारी सञ्चय कोषका तर्फ राजेन्द्र काफ्ले, संस्थापक शेयरधनीका तर्फबाट योगेन्द्रलाल प्रधान, साधारण शेयरधनीका तर्फबाट उत्तम भ्लोन र शिरिष कुमार मुरारका तथा स्वतन्त्र सञ्चालकमा प्रदीपराज पाण्डेलाई चयन गरको छ।

एनएमबि बैंकमा लामो समयदेखि कार्यरत अनुभवी बैंकर सुनील केसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।एनएमबि बैंकले ऊर्जा क्षेत्रमा आफ्नो लगानी केन्द्रित गरेको छ। १० मेगावाटभन्दा ठूला जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने रणनीति लिएको यस बैंकले हालसम्म विभिन्न ३२ वटा जलविद्युत् परियोजनामा लगानी गरेको छ।

विगतमा ऊर्जा क्षेत्रमा केन्द्रित वित्तीय कम्पनी क्लिन इनर्जी डेभलपमेन्ट बैंकलाई गाभेका कारण अन्य बैंकको तुलनामा यस बैंकको ऊर्जा क्षेत्रमा सहभागिता बढी छ। एनएमबि बैंकले ठूला जलविद्युत् आयोजनाबाहेक नवीकरणीय ऊर्जाका क्षेत्रमा पनि पर्याप्त लगानी गर्दै आएको छ। सौर्य, बायोग्यास, लघुजलविद्युत् र सुधारिएको पानी घट्टलगायतका नवीकरणीय ऊर्जासम्बन्धी परियोजनामा लगानी यसले गर्दै आएको छ। अलग्गै विभाग खडा गरेर बैंकले यो क्षेत्रको माग बमोजिम विभिन्न सेवा प्रदान गर्दै आएको छ।

जलस्रोतबाहेक एनएमबि बैंकले सरकारले प्राथमिकता प्रदान गरेका कृषि, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रमा आफ्नो लगानी केन्द्रित गरेको देखिन्छ। अन्य बैंकको तुलनामा तडकभडक कम गर्ने तर ‘पर्फमेन्स’ देखाउने बैंकका रूपमा यसलाई लगानीकर्ताहरूले बुझेका छन्। जसका कारण पनि यस बैंकप्रति पुँजी बजारमा लगानीकर्ताको आकर्षण देखिन्छ।

लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको यसपटक एनएमबि बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश दिएको छ, जुन अन्य बैंकको तुलनामा उच्च प्रतिफल हो।एनएमबि बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रयमाससम्ममा १ अर्ब ६३ करोड ६० लाख ७६ हजार रुपियाँ खुद नाफा कमाएको छ।

यो गत वर्षको भन्दा ४७ दशमलव ४० प्रतिशतले बढी हो। गत वर्ष एनएमबिले १ अर्ब १० करोड ९९ लाख ४२ हजार रुपियाँ नाफा कमाएको थियो। पुस मसान्तसम्म बैंकको वितरण योग्यनाफा १ अर्ब ११ करोड ६५ लाख २५ हजार रुपियाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी ३६ दशमलव ३४ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २ दशमलव ९९ प्रतिशतले घटेको छ। बैंकको प्रतिशेयर आम्दानी पनि ४ रुपियाँ ८५ पैसाले बढेर ३० रुपियाँ ४० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपियाँ ५५ पैसा रहेको एनएमबिको बेस रेट १० दशमलव १२ प्रतिशत छ।

चालू आवको दोस्रो त्रयमाससम्म बैंकको कुल चुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार रुपियाँ रहेको छ। बैंकको निक्षेप संकलन १ खर्ब २६ अर्ब ४२ करोड ९० लाख रुपियाँ र कर्जा लगानी १ खर्ब १३ अर्ब ६३ करोड ७० लाख रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा १ दशमलव ९६ प्रतिशत र कस्ट अफ फन्ड ७ दशमलव ७० प्रतिशत रहेको छ।

वैदेशिक ऋण लगानी भित्र्याउने अग्रणी बैंकका रूपमा रहेको एनएमबि बैंकले स्वदेशी निक्षेपकर्तालाई आकर्षित गर्न अतुल्य बचत खाता, एनएमबि उमंग बचत खाता, एनएमबि जीवन चक्र, एनएमबि डिलाइट बचत खाता, एनएमबि तलब बचत खाता, एनएमबि नारी खाता, एनएमबि नारी सम्मान बचत खाता, एनएमबि शेयर बचत खाता, एनएमबि साहारा बचत खाता, एनएमबि सुलभ रेमिट बचत खाता, मान्यजन बचत खाता, युवा बचत खाता, समृद्ध गण्डकी बचत खाता, सरल बचत खाता, स्मार्ट बचत खाता सञ्चालन गरेको छ। त्यस्तै मुद्दति खातातर्फ एनएमबि बैंक सुलभ मुद्दति खाता, एनएमबि बैंक मान्यजन मुद्दति खाता, एनएमबि बैंक शैक्षिक योजना, एनएमबि बैंक मुद्दति खाता रहेको छ।

प्रतिक्रिया दिनुहोस्