क्यान्सरबारे अनुभव साटासाट



नेपाल समाचारपत्र, काठमाडौं। 

विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरले क्यान्सर सर्भाइबरहरूलाई आत्मबल बढाउने उद्देश्यले अनुभव साटासाट गर्ने कार्यक्रमको आयोजना गरेको छ। सोही अवसरमा सम्पत्ति शुद्धीकरण विभागमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) वासुदेव पाठकले आफू ६ वर्षअघि क्यान्सर जितेर दोस्रो जीवन पाई पुनः देशको सेवामा खटिरहेको बताउनुभयो।

उहाँले क्यान्सर लागेर मान्छे तुरुन्तै मर्दैन समयमै उपचार गरे निको हुन्छ र सामान्य जीवन जिउन सकिन्छ भन्नुभयो। डीएसपी पाठक भन्नुहुन्छ– ‘म ६ वर्षदेखि क्यान्सरसँग लडेको सिपाही हुँ। जति बेला मलाई क्यान्सर भएको प्रमाणित भयो त्यति बेला म लाइबेरिया जाने पूर्ण तयारीमा थिएँ।’ त्यति नै बेला मलाई खानेकुरा निल्न गाह्रो हुन थाल्यो।

स्वास्थ्य परीक्षण गराउँदा फुडपाइपमा ट्युमर देखियो। त्यसपछि म लाइबेरिया होइन, उपचारका लागि राजीव गान्धी क्यान्सर अस्पताल दिल्ली पुगेँ। जब मलाई क्यान्सर भएको पत्ता लाग्यो, म छाँगाबाट खसेझैं भएँ। भर्खर २७ वर्षको जोस–जाँगर बोकेको इन्स्पेक्टर घरमा श्रीमती र एक छोरा थिए। सामान्य परिवारमा जन्मिएको व्यक्ति आफ्नै मिहिनेत र परिश्रमले पहिलोपटक लाइबेरिया गएर फर्केपछि सानो घर, गाडी जोडेको थिएँ।

एकाएक क्यान्सरले मेरा ती सबै खुसी र जोडेको सम्पत्ति ६ महिनामा अन्धकार र निराशामा बदलिदियो। उपचारका क्रममा लिने रेडियोथेरापी र किमोथेरापीले मेरो ७५ केजीको शरीरमा चारैतिर घोच्ने हड्डी मात्र बाँकी भयो। शरीर सुकेर ५७ केजीमा झर्यो। मेरो शरीर मात्र होइन, गाडी, पैसा सबै सकियो।

नेपालमा क्यान्सर उपचार गर्ने अस्पताल नहुँदा देशमा रगत पसिना बगाएर कमाएको ३५ लाख रुपियाँ भारतको अस्पतालमा बुझाउनुपर्दा मन निकै कँुडियो तर विकल्प थिएन। यतिसम्म कि सामान्य फलोअपका लागि पनि नेपालका चिकित्सकलाई विश्वास गर्ने वातावरण नबनेकै कारण भारत जान नेपालीहरू बाध्य थिए। म पनि त्यही बाध्यतामा परेर भारत गएँ।

नेपालमै त्यति खर्च गर्ने ठाउँ भएको भए नेपालीले नै पाउँथे। जब म फलोअपका लागि भारत पुगँे त्यहींका डाक्टरले नेपालमै क्यान्सरका राम्रो डाक्टर सुदीप श्रेष्ठ हुनुहुन्छ भन्ने जानकारी पाएँ, त्यसपछि नेपालमै फलोअप गर्दै आएको छु र सन्तुष्ट पनि छु। जब मेरो शरीरबाट क्यान्सर हट्यो पुनः म प्रहरी सेवामा निरन्तरता दिँदै डीएसपी पदका लागि दुइमहिने कठिन तालिममा सहभागी भएँ र पहिलो नम्बरमा नाम निकालेर प्रमोसन भएँ।

एक वर्षअघि मात्र सुडानमा पुगी एक वर्ष बसेर फर्किएँ। अहिले म विगतमा क्यान्सरले दिएको पीडा सम्झन्छु र सोच्छु मलाई क्यान्सर भएको थियो। क्यान्सरले मेरो परीक्षा लिने क्रममा मलाई धेरै कठिन यात्रा गरायो र नयाँ जीवन दियो। म कार्यरत प्रहरी संगठनमा अधिकांशले मलाई क्यान्सर जितेको मान्छे भनेर चिन्छन्।

मैले दिने प्रशिक्षणमा १० मिनेट क्यान्सर लाग्यो भनेर नडराउन र नलुकाउन सबैलाई सचेत गराउँछु। क्यान्सर डराउने र लुकाउने होइन खुलेर बताउने र आत्मविश्वासका साथ उपचार गरे निको हुने रोग हो। उहाँले क्यान्सरका विषयमा जनचेतना जगाउने कार्यमा आफू सधंै तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै घरपरिवार भनेका प्रमुख चिकित्सक हुन् परिवारको समर्थन विनारोग निको हुन्न भन्नुभयो।

उहाँले आफ्नो श्रीमतीले आफू बिरामी हुँदा धेरै दुःख भोग्नुपरेको स्मरण गर्दै श्रीमती नै मेरो जीवनको दोस्रो डाक्टर हो भन्नुभयो। कार्यक्रममा अर्का क्यान्सर सर्भाइबर मिडिया व्यवसायी जगनाथ ढकालले नेपालमा चिकित्सकको हेलचेक्र्याइँका कारण आफूले १० वर्षसम्म पायल्स भन्दै औषधि खानुपरेको बताउनुभयो। पहिलादेखि नै दिशामा रगत देखिने गरेको थियो।

दिशा गर्ने ठाउँमा मासु पलाएको थियो। नेपालका नाम चलेका ठूला डाक्टरलाई देखाउँदा पनि पायल्स नै हो भने। एक दिन हेटौंडामा हजुरआमाको श्राद्धका लागि घर जाने क्रममा उकालो चढ्न गाह्रो भएपछि आफ्नै चिकित्सक भान्जीसँग समस्याका बारेमा जानकारी गराउँदा आँखा परीक्षण गरी शरीरमा हेमोग्लोबिन कम भएको रहेछ तुरुन्त स्वास्थ्य परीक्षण गराउनुहोस् भनिन्।

स्वास्थ्य परीक्षण गराई २ प्वाइन्ट रगत चढाएँ।डाक्टरहरूले पालैपालो मलद्वारमा औंला छिराएर हेर्दा निकै पीडा भयो। त्यसपछि कोरोनोस्कोपी गर्ने सल्लाह दिए। म व्यवसायका लागि थाइल्यान्ड जानुपर्ने भएकाले मानिनँ। उनीहरूले सानो मासुको टुक्रा परीक्षणका लागि निकाले रिपोर्ट आउँन बाँकी थियो। पछि रिपोर्ट आउँदा दिल्ली पुगेको थिएँ। मेरो रिपोर्टमा एडिनो कार्सिनोमा नं १ क्यान्सर देखिएछ। 

म त्यतैबाट गंगाराम अस्पताल गएँ। त्यहाँ अंकोलोेजिस्ट डाक्टरलाई रिपोर्ट देखाएँ। उहाँले कुनै उत्तर नै नदिई ५ लाख रुपियाँ जम्मा गर्नुहोस् भोलि नै अप्रेसन गर्नुपर्छ भन्नुभयो। मैले उहाँसँग समस्याको बारेमा बुझ्न खोजँे राम्रो जानकारी नपाएपछि असन्तुष्टि पोखेर राजीव गान्धी अस्पताल पुगेँ। नेपालका डा. सुदीपसँग फोन सम्पर्कमा रही रहेँ। मेरो पेटमा अप्रेसन गरेर ब्याग राख्ने कुरा भयो मैले मानिनँ।

अन्ततः मेरै मागअनुसारको उपचार भयो म कुकुर व्यापारी हुँ। म बिरामी पर्दा मेरो २२ वटा कुकुर मर्दा डेढ करोड घाटा लाग्यो तर पनि आत्मबलका साथ अस्पतालको बेडमै बसेर त्यहींबाट कुकुर बेच्दै आफ्नो उपचारलाई जारी राखेँ, नेपालबाट पैसा लगिनँ। तर, डाक्टरले समयमै सही उपचार नगरेका कारण म क्यान्सर प्रभावित बन्न पुगँे।

त्यस्तै, विमला थापा पनि ब्रेस्ट क्यान्सर पीडित हुनुहुन्छ। उहाँले पनि आफूलाई क्यान्सर हुँदा नेपालमा राम्रो अस्पताल नहुँदा भारत नै जानुपरेको र परिवारको सहयोगले नयाँ जीवन पाएको बताउनुभयो। उहाँले आफ्नै अन्य मित्रले समेत क्यान्सर भएको थाहा पाई अपमान गरेको तितो यथार्थता सुनाउँदै भन्नुभयो– ‘क्यान्सर सर्ने रोग हैन र समयमै उपचार गरे निको हुन्छ।’उहाँले भन्नुभयो– ‘अपमान होइन सम्मान गरेर बिरामीको आत्मबल बढाऔैँ।’ 

कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. सुदीप श्रेष्ठले क्यान्सर नेपालमै उपचार हुन्छ र समयमै उपचार गरे निको हुन्छ भन्नुभयो। उहाँले ८० प्रतिशत क्यान्सर उपचारकै कारण निको हुने हुनाले अन्धविश्वासमा नपर्नुहोस् भन्नुभयो।

सोही अवसरमा क्यान्सर सर्भाइबर डली गुरुङले किमो लिएका बिरामीलाई उत्साह प्रदान गर्न अन्य मुलुकमा बजाउने घन्टी नेपाल क्यान्सर अस्पतालका निर्देशक सुदीपा श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्