चार वर्षपछि बल्ल लागु हुँदै स्वास्थ्य बिमा कार्यक्रम



विमल विष्ट, डोटी।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा र डोटीमा चार वर्षपछि बल्ल स्वास्थ्य बिमा कार्यक्रम लागु हुने भएको छ। सुदूरपश्चिमका नौ वटै जिल्लाका नागरिकलाई स्वास्थ्य पहँचमा पुर्याउने उद्देश्यले बाँकी रहेका दुई जिल्ला पनि स्वास्थ्य बिमा कार्यक्रम लागु हुने भएको छ।

आउँदो फागुन १ गतेबाट यहाँका दुईवटा जिल्लामा एकैसाथ उक्त कार्यक्रम लागु हुने भएको हो। स्वास्थ्य बिमामा आबद्ध हुनका लागि प्रति पाँच परिवारले वार्षिक रू तिन हजार ५०० तिर्नु पर्ने र पछि उनीहरू बिरामी भए एक लाख बराबरको निःशुल्क उपचार तथा औषधी पाउने व्यवस्था मिलाइएको छ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये हालसम्म सातवटा जिल्लामा मात्रै उक्त स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ। सरकारले देशभरिका ४सय ८८ वटा स्थानीय तहमा उक्त स्वास्थ्य बिमा कार्यक्रम बिस्तार गरे पनि सुदूरपश्चिमका डडेल्धुरा र डोटीमा भने अहिलेसम्म लागु भएको थिएन। नेपाल सरकारले विसं २०७२ साल चैत २५ गतेबाट पहिलो पटक सुदूरपश्चिमको कैलाली जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेको थियो।

सबै नागरिकलाई स्वास्थ्य बिमामा समावेश गराउने उद्देश्यअनुरूप डडेल्धुरा र डोटीमा पनि उक्त कार्यक्रम लागु गरिन लागेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा. भूषण मिश्रले बताउनुभयो।उहाँले भन्नुभयो, “सुदूरपश्चिममा सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य बिमामा समावेश गराउदैछौँ, डडेल्धुरा र डोटीमा पनि कार्यक्रम लागु भए हाम्रो नौवटै जिल्लामा उक्त कार्यक्रम सुचारु हुनेछ।”

डडेल्धुरा र डोटीमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नका लागि यहाँका सुदूरपश्चिम प्रदेश सरकार तथा क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलले सम्पूर्ण तयारी पूरा गरिसकेको डा. मिश्रले जानकारी दिनुभयो। त्यसै गरी यहाँका स्वास्थ्य स्वयंसेविकाहरूको भने निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ, जसका लागि राष्ट्रिय बिमा बोर्डले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुटमा समावेश गर्ने नीति लिएको छ भने सुदूरपश्चिम प्रदेश सरकारले पनि ५० प्रतिशत थप रकम समावेश गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो।

सुदूरपश्चिम प्रदेशका सात वटा जिल्लामा लागु भएको उक्त स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म कुल जनसंख्याको १२ प्रतिशत जनसंङ्ख्या मात्रै स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ। बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार विसं २०६८ को जनगणनाअनुसार प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म स्वास्थ्य बिमा कार्यक्रममा दुई लाख ४६ हजार २०३ जना आवद्ध भएका छन्।

सुदूरपश्चिम प्रदेशमा कैलालीमा सबैभन्दा बढि स्वास्थ्य बिमित रहेका छन् भने दार्चुलाबाट हालसम्म सबैभन्दा कम स्वास्थ्य बिमित रहेको बताइएको छ। बिमा बोर्डका अनुसार गरीब घरधुरी पहिचान भइसकेका जिल्लामा बिमितको संङ्ख्या बढी भएपनि पहिचान नभएका जिल्लामा सहभागिताको अवस्था कमजोर रहेको देखिएको छ। त्यसै गरी प्रदेश सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरिब घरधुरी पहिचान गरी परिचयपत्र वितरण गरिसकेको छ। प्रदेशका अन्य पाँच जिल्लामा भने पहिचान हुन बाँकी रहेको जनाएको छ।

बिमा बोर्डका अनुसार कैलालीमा एक लाख ३५ हजार ८३१ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् भने दार्चुलामा पाँच हजार ६ सय ८५ जनामात्रै हालसम्म आवद्ध भएका छन् भने बझाङमा ३० हजार ११२, बाजुरामा २६ हजार ५७४, अछाममा २५ हजार ८०६, बैतडीमा ११ हजार ९९० र कञ्चनपुरमा १० हजार १९५ जना स्वास्थ्य बिमित रहेका छन्। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३९ हजार ३०१ जनाले स्वास्थ्य बिमा कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाइएको छ। बिमा कार्यक्रम अन्तर्गत प्रदेशका सात जिल्ला गरी ३ करोड ८१ लाख ५ हजार २६२ रूपियाँ लगानी भइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्