ट्रम्पको स्टेट अफ द युनियन सम्बोधन : हात नमिलाउँदा पेलोसीले सम्बोधनको प्रतिलिपी संसद् मै च्यातिन्



वासिङ्टन, (एजेन्सी)।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संसद्को दुवै सदनको संयुक्त सत्रलाई सम्बोन्धन गरे। यो ट्रम्पको तेस्रो स्टेट अफ द युनियन सम्बोधन हो।
यसपटकको स्टेट अफ द युनियनको नारा ‘इट्स द ग्रेट अमेरिकन कमब्याक‘ अर्थात् अमेरिकाको महान फड्को भन्ने थियो। सम्बोधनका क्रममा राष्ट्रपति र संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिव्सकी सभामुख नेन्सी पेलोसीबीच मनमुटाव देखियो।

ट्रम्प सम्बोधनका लागि पोडियमतर्फ जाँदै गर्दा सभामुख पेलोसीले आफ्नो कुर्सीबाट उठेर अभिवादनमा हात मिलाउन अगाडि बढाएकी थिइन् तर राष्ट्रपति त्यसलाई बेवास्ता गर्दै अगाडि बढे। ट्रम्पको भाषणका क्रममा उपराष्ट्रपति माइक पेन्सले कयौंपटक उठेर ताली बजाएका थिए।

तर उनीसँग बसेका सभामुख नेन्सी पेलोसी आफ्नो सिटमा बसिरहिन्। त्यसपछि जब ट्रम्पले भाषण समाप्त गरे, पेलोसीले संंसद्मा सबैको सामुन्ने उनको सम्बोधनको कपी च्यातिन्।

सम्बोधनका क्रममा ट्रम्पको भाषणमा रिपब्लिकन सांसदहरुले पर्याप्त खुसी तथा समर्थन गरेको देखिन्थ्यो। तर ठूलो संख्यामा रहेका डेमोक्र्याट्सहरु शान्त र प्रतिक्रियाविहीन देखिएका थिए।

ट्रम्पले आफ्नो स्टेट अफ द युनियनको सम्बोधनमा चीनको कोरोना भाइरसको प्रसंग उठाए। कोरोना भाइरसको समस्याको समाधान खोज्न चीन सरकारसँग मिलेर काम गरिरहेको ट्रम्पले बताए। आफ्नो प्रशासन नागरिकलाई कोरोना भाइरसबाट बचाउन हरसम्भव कदम उठाइरहेको उनले थपे।

चीनसँगको व्यापार युद्धलाई कोट्याउँदै उनले भने– ‘चीनले दशकौंसम्म अमेरिकाबाट फाइदा उठाइरह्यो, हामीले यसलाई रोक्यौं। यस क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र उनको सरकारसँग हाम्रो सम्बन्ध राम्रो भयो।’

ट्रम्पले भने– ‘मैले राष्ट्रपति पद सम्हालेलगत्तै अमेरिकाको अर्थव्यवस्थालाई सही मार्गमा ल्याउने प्रयासलाई तिब्रता दिएँ। मैले रोजगारी समाप्त पार्ने कीर्तिमान नियममा परिवर्तन ल्याएँ। करमा ऐतिहासिक र कीर्तिमानी कमी गरेँ। यो बाहेक इमानदार व्यापार सम्झौताका लागि लडाइँ लडेँ।

आफ्नो साहसिक अभियानका कारण अमेरिका विश्वमा तेल तथा प्राकृतिक ग्याँस उत्पादन जगतमा नम्बर वान बनेको उनले बताए। ट्रम्पले भेनेजुयलाका विपक्षी नेता जुआन गाइडोलाई स्टेट अफ द युनियनमा स्वागत गर्दै भेनेजुयलाका वामपन्थी नेता निकोलस माडुरोको अन्याय चाँडै अन्त्य हुने बताए।

अमेरिकाको स्वतन्त्रता सुरक्षित राख्न रक्षामा २२ खर्ब डलर लगानी गरेको जानकारी उनले दिए। आफ्नो सरकारले अमेरिकामै बनेका विमान, क्षेप्यास्त्र, रकेट, पानी जहाज र अन्य कयौं राम्रा वस्तुहरु किनेको ट्रम्पले बताए।अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा बिहीबार ट्रम्पविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावमा मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्