असारसम्म परिक्षण विद्युत् उत्पादनको तयारीमा माथिल्लो तामाकोसी



चिरञ्जीवी मास्के, लामाबगर, दोलखा ।

तोकीएको समय भन्दा धेरै ढिला भएको भनि आलोचना खेप्दै आएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जल विद्युत आयोजनाले आगामी असार भित्र परिक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

आयोजनाको झण्डै ९८ प्रतिशत काम सम्पन्न भै सकेकोले आगामी असार भित्र एउटा टर्वाईनबाट ७६ मेगावाट परिक्षण उत्पादन हुने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनु भयो । आयोजनामा ६ वटा टर्वाईन रहेको र प्रत्यक टर्वाईनबाट ७६ मेगावाट विद्युत उत्पादन हुने पनि आयोजनाका प्रवक्ता डा न्यौपानेले बताउनु भयो ।

लट १ को सिभिल कार्य अन्तर्गत बाँध, इन्टेक, डिस्याण्डर, विभिन्न सुरुङहरु, सर्ज ट्याङ्क, पेनस्टक, भूमिगत विद्युतगृह आदि निर्माण कार्यहरुको लागि चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडसँग खरिद सम्झौता गरि हेडवक्र्स्को सम्पूर्ण कार्य मध्ये ९९.८ प्रतिशत कार्य सम्पन्न भई आगामी फाल्गुण महिना सम्ममा परिक्षण गर्ने तयारी रहेको प्रवक्ता डा न्यौपानेको भनाई छ ।

त्यसैगरी लट २ को हाइड्रो मेकानिकल अन्र्तगत बाँधमा गेटहरु जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । लट नं.२ का ठेकेदारले ३७३ मिटरको तल्लो प्रेसर स्याफ्टमा पेनस्टक पाईप जडान गर्न सक्ने कार्य सम्पादन गर्ने क्षमता नपाईएको हुनाले सो कार्य एन्ड्रीज हाईड्रो मार्फत गराउन आवश्यक सम्झौता गराई कार्य अगाडि बढाईएकोमा शनिवारसम्म २ सय मिटर पेनस्टक पाईप राख्ने कार्य सम्पन्न भईसकेको र ३१० मिटरको माथिल्लो पेनस्टक साफ्टमा लट नम्वर २ का ठेकेदारबाट १ सय मिटर पाईप जडानको कार्य सम्पन्न गरिएको जनाईएको छ ।

त्यसैगरी लट ३ को इलक्ट्रोमेकानिकल अन्तर्गत अष्ट्रियन कम्पनी एन्ड्रीज हाईड्रो जिएमबिएचसँग आयोजनाका मुख्य मेशिन र उपकरणहरु टर्वाइन, जेनेरेटर, ट्रान्स्फर्मर, स्वीचगियर, भल्व, गभर्नर र सोसँग सम्बन्धित उपकरणहरुको डिजाइन, जडान, परीक्षण र कमिसनिङ गर्न खरिद सम्झौता गरिएको र ती सामानहरु साईटसम्म ढुवानी गरी १ देखि ६ नम्वर युनिट सम्मको जडान कार्य सम्पन्न गरी ड्राई कमिसनिङ्ग कार्य समेत सम्पन्न भएकोे आयोजनाले जनाएको छ ।

लट ४ को प्रसारण लाइन तथा सवस्टेशन अन्तर्गत भारतीय कम्पनी के.इ.सी. इन्टरनेशनल लि.संग विद्युतगृहस्थल गोंगरदेखि खिम्ती सवस्टेशनसम्म २२० के.भंी. क्षमताको ४७ कि.मि. लामो प्रसारणलाइन र खिम्तीमा सवस्टेशन कार्यहरुको डिजाइन, निर्माण, परीक्षण र कमिसनिङ गर्न खरिद सम्झौता गरिएको, गोंगरदेखि खिम्तीसम्म निर्माण हुने १२७ वटा टावरहरुमध्ये हाल सम्म सवै १२७ वटै टावरहरुको जग निर्माण कार्य तथा टावरहरुको जडान कार्य सम्पन्न भईसकेकोे, ४७ कि.मि. लामो प्रशारण लाईनमा तार तान्ने कार्य समेत सवै सम्पन्न भएको आयोजनाका प्रवक्ता डा न्यौपानेले बताउनु भयो ।

२०६७ भाद्र १७ गते बाट मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यस आयोजनामा २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतीको कारणले गर्दा आयोजनाको निर्माण कार्यमा बाधा पुग्न गएकोले यस आयोजनाको निर्माण सम्पन्न हुने अवधीमा विलम्व हुन गएको आयोजना प्रमुख दिनेशजंग राणाले बताउनु भयो । वर्तमान कार्य प्रगतिको आधारमा यस आयोजनाबाट २०७७ को अषाढ मसान्तसम्म परिक्षण उत्पादन सुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने आयोजना प्रमुख राणाको भनाई छ ।

दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा निमार्णाधिन ४५६ मेगावाटको यो आयोजनाको लागि ब्याज बाहेक ४९ अर्व २९ करोड लागत प्रक्षेपित गरिएको जनाईएको छ । ३६ अर्वमा निर्माण सम्पन्न हुने भनिएपनि बिभिन्न कारणले आयोजनाको लागत बढेको तर अहिले पनि यो आयोजना नेपालको सबैभन्दा सस्तो आयोजना नै भएको आयोजना प्रमुख राणाले बताउनु भयो ।

राष्ट्रिय गौरवको आयोजना भएकोले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको दैनिक काम सिसि टिभिमार्फत प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष निगरानि भै रहेको र त्यसले काममा उत्साहका साथ आवश्यक सहयोग समेत पुगेको आयोजना प्रमुख राणा बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्