मौन अवधि शुरू



सुनील महर्जन, काठमाडौं।

निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ। सोमबार राति १२ बजेदेखि मौन अवधि लागू भएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टा मौन अवधि शुरु हुनेछ।

मौन अवधिमा कुनै सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न गराउन तथा वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएस वा विद्युतीय माध्यमबाट मत माग्न र प्रचार गर्न पाइने छैन।

साथै यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी छलफल, गोष्ठी, सेमिनार, अन्तत्र्रिmया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै कार्य गर्न गराउन हुँदैन।

आचारसंहिता पालनाको निगरानी राख्न सबै जिल्ला निर्वाचन कार्यालय र सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्लामा राष्ट्रियसभा निर्वाचन प्रयोजनार्थ स्थापित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो।

यसैबीच आयोगले माघ ९ गतेको निर्वाचनमा मतदाता पहिचान गर्ने प्रमाणबारे अलग व्यवस्था गरेको छ। सातवटै प्रदेशमा हुने निर्वाचनमा सम्बन्धित प्रदेशका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले मात्र मतदान गर्न पाउने छन्।

प्रदेशसभाका ५ सय ५० र स्थानीय तहका १ हजार ५ सय ६ गरी २ हजार ५६ मतदाताले मतदान गर्न पाउनेछन्। मतदाताहरूले मतदान गर्न जाँदा आफू निर्वाचित भएको प्रमाणपत्र र आयोगबाट जारी भएको मतदाता परिचयपत्र लैजानुपर्नेछ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रमाणपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र लैजानुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्