नौ सय किमि सडक खण्ड पूरा गर्दै सेना



नेपाल समाचारपत्र, काठमाडौं

मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षाका लागि खडा भएको नेपाली सेनालाई विकास निर्माणमा खटाइएको इतिहास धेरै लामो छैन।

२०१३ सालमा राजा त्रिभुवनले सेनालाई खटाइ ललितपुरको टीकाभैरव–तीनपाने–हुँदै हेटांैडासम्म जोड्ने कान्ति राजपथको सडक खण्डको नयाँ ट्र्याक खोल्न लगाएका थिए।

तीन वर्ष लगाई सम्पन्न भएको उक्त सडक नै सेनाका लागि विकास निर्माणमा खटाइएको पहिलो इतिहास भएको नेपाली सेनाका कार्यदल प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारी दिनुभएको छ। हाल यस सडक काठमाडौंसँग तराई जोड्ने छोटो तथा वैकल्पिक सडकका रूपमा अगाडि बढिरहेको उहाँले बताउनुभयो।

नेपालमा सडक निर्माण र विकास गर्ने सडक विभाग छ। यहाँ प्रशस्त मात्रमा दक्ष प्राविधिक जनशक्तिहरु पनि छन् तर भौगोलिक हिसाबले अतिविकट, भीर, उच्च पहाडी र हिमाली भेग, कडा चट्टान भएको स्थानमा भने देशले सेना नै सम्झिने गरेको पाइन्छ।

सेनाले यस्तो अवस्थामा समेत ट्र्याक खोली सडकको रूपरेखा ल्याई मुलुकलाई सडक विस्तारमा योग्दान दिँदै आएको छ। सेनाले जिम्मा पाएअनुसार विभिन्न साना तथा ठूला सडक निर्माण तथा विस्तार गर्दै आइरहेको छ।

सेनाले हालसम्म रसुवा, ओखलढुंगा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, मुस्ताङ, मनाङ, मुगु गरी नौ जिल्लाका सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिसकेको छ। डोल्पा र हुम्लाको सदरमुकामलाई भने राष्ट्रिय सडक सञ्जालमा जोड्ने कार्य द्रूतगतिमा भइरहेको सेनाले जनाएको छ।

हालसम्म सेनाले १०६५ किमि लम्बाइको २७ सडक आयोजनाको निर्माण सम्पन्न गरेको तथ्यांक छ। सेनाले भक्तपुर–नगरकोट सडक, लामोसाँघु बाह्रबिसे सडकका साथै राजपथहरु त्रिभुवन राजपथ, पृथ्वी राजमार्गको समेत सुधार तथा मर्मत सम्पन्न गरेको थियो।

जिम्मा पाएको सबैजसो कामलाई सफलताका साथ सम्पन्न गर्दै गर्दा सेनाले पछिल्लोपटक राष्ट्रिय गौरवको आयोजनासमेत जिम्मा पाएको छ। एसियन स्ट्यान्डर्डको बहुचर्चित राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई/मधेस द्रूतमार्ग निर्माणको समेत जिम्मा पाई हाल धमाधम निर्माण कार्य भइरहेको छ।

द्ूतमार्गका साथै सेनाले हाल सुर्खेत–जुम्ला, बेनी–जोमसोम, कर्णाली कोरिडोर, कालिगण्डकी कोरिडोर, जाजरकोट–दुनै–डोल्पालगायत ९३३ किमि लम्बाइको ११ सडक खण्डको मुख्य सडक आयोजनाहरुको विस्तार गरिरहेको छ।

जसमा काठमाडौं–तराई द्रूत मार्ग (७२ किमि), सुर्खेत–जुम्ला (८८ किमि), बेंसीशहर–चामे (६५ किमि), बेनी–जोमसोम (९१ किमि), छिन्चु–जाजरकोट (४५ किमि), नग्मा–गमगढी (९४ किमि), मैलुङ–स्याफ्रुबेंसी (१७ किमि), जाजरकोट दुनै डोल्पा (११८ किमि), कर्णाली कोरिडोर खुलालु–लैफु–सरिसल्ला (१४५ किमि), वेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ (११८ किमि), कालिगण्डकी कोरिडोर मालढुंगा खण्ड (८० किमि) रहेको छ।

पछिल्लोपटक विकास भइरहेका यी मुख्य सडकहरुबाट उत्तर–दक्षिण लोकमार्गका रूपमा दुई छिमेकी मुलुक जोड्ने रणनीतिक महत्व बोकेको छ भने कर्णाली प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने भनिएको छ। त्यस्तै स्थानीय उत्पादन र जडीबुटीले गर्दा स्थानीयको आर्थिक स्तरमा टेवा पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्