बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल आउँदै



नेपाल समाचारपत्र, काठमाडौं ।

युरोपेली मुलुक बेल्जियमकी राजकुमारी एस्ट्रिड एक साता लामो नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। आगामी आइतबार नेपाल आउने उहाँ भक्तपुर, कैलाली, नवलपरासी र चितवनका विभिन्न सामाजिक कार्यमा सहभागी रहनुहुनेछ।

एस्ट्रिडको नेपाल यात्रा अनौपचारिक हो। अनौपचारिक भ्रमण भए पनि उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य, जनसंख्या एवं कानुन मन्त्री भानुभक्त ढकालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कैलालीमा निर्माण भएको नयाँ क्षयरोग केन्द्रको उद्घाटन गर्ने राजकुमारी एस्ट्रिडले त्यहाँका कुष्ठरोगी र क्षयरोगीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। साथै नवलपरासीको मध्यविन्दु अस्पतालको अवलोकन गर्ने र त्यहाँका सेवाग्राहीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

कैलाली र नवलपरासीका यी अस्पताललाई दामिन फाउन्डेसन नामक बेल्जियमको गैरसरकारी संस्थाले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको छ। राजकुमारी एस्ट्रिड विगतमा विभिन्न मुलुकमा विनाशकारी हातहतियार र बारुदी सुरुङमुक्त अभियानमा समेत क्रियाशील रहनुभएको थियो।

सो मुलुकबाट २३ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो। सन् १९८० को दशकमा राजा अल्वर्ट द्वितीय अनौपचारिक भ्रमणका लागि नेपाल आउनुभएको थियो। त्यसै गरी राजा फिलिप र राजपरिवारका अन्य सदस्य पनि सन् १९९८ मा नेपालको अनौपचारिक भ्रमणमा आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालका तर्फबाट पूर्वप्रधानमन्त्रीद्वय सुशील कोइराला, शेरबहादुर देउवा र पररराष्ट्र मन्त्रीस्तरीय भ्रमण भएको छ। राजकुमारी एस्ट्रिडको अनौपाचारिक भ्रमण भए पनि उहाँको नेपाल यात्राले दुवै मुलुकबीचको सम्बन्धलाई अझ घनिष्ट बनाउन सहयोग गर्ने, द्विपक्षीय व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मन्त्रालयका अधिकारी बताउँछन्।

‘दुई दशकपछि हुने उच्चस्तरीय भ्रमणले कूटनीतिक र आर्थिक सम्बन्ध मात्रै प्रगाढ बनाउने छैन, उहाँ (एस्ट्रिड) को नेपाल यात्रा जनवरीमै भएकाले नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा समेत मद्दत पुग्नेछ’ –मन्त्रालयका एक अधिकारीले भने। एस्ट्रिडको भ्रमणमा हुने उच्चस्तरीय भेटवार्ता मुलुकको आर्थिक हितमा केन्द्रित हुनुपर्ने ती अधिकारीको सुझाब छ।

नेपाल–बेल्जियम वीच सन् १९६३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सो मुलुकमा नेपालले गलैंचा, ऊनी कपडा, तयारी पोसाक, हाते कागज, हस्तकलाका सामग्री निर्यात गर्दै आएको छ भने कपडा, मेसिनरी सामग्री, उद्योगका कच्चा पदार्थ, विद्युतीय सामग्री आयात गर्दै आएको छ। व्यापारिक सहकार्य अघि बढाउन सन् २०१४ मा बेल्जियम–नेपाल च्याम्बर अफ कमर्स गठन भएको छ।

प्रतिक्रिया दिनुहोस्