महानगरपालिकाको ८४ करोड बजेट संशोधन



नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं महानगरपालिकाले ८४ करोड २१ लाख रुपियाँ बजेट संशोधन गर्दै छैटौं नगरसभा सम्पन्न भएको छ। मेयर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न सभाले भौतिक पूर्वाधार विकास कार्यक्रमतर्फ ४५ करोड ६० लाख, सम्पत्ति खरिदतर्फ २७ करोड, सामाजिक विकास कार्यक्रमतर्फ १ करोड ६७ लाख रुपियाँसहित ६ शीर्षकमा संशोधन गरेको हो।

संशोधित बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रमतर्फ ८ करोड ४४ लाख, शिक्षातर्फ ५० लाख र चालू खर्चतर्फ १ करोड रुपियाँ संशोधन भएको छ। चालू आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रकम घटाएर तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा थपिएको हो।

यसरी बजेट थप गरिएका कार्यक्रमहरूमा वडास्तरीय पूर्वाधार विकास, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम, महानगर विशेष पूर्वाधारलगायत छन्।

त्यस्तै वडा २३ र ३० को कार्यालय भवनका लागि जग्गा तथा भवन खरिद, वडा १६ को भवन निर्माण, पार्किङ भवन निर्माण, जेष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना, विद्यालयहरूमा कम्प्युटर ल्याब र विद्युतीय व्यवस्थापन प्रणाली स्थापनालगायत कार्यक्रम छन्।

त्यस्तै कान्ति बाल अस्पतालमा रगतको कम्पोनेन्ट छुट््याउने उपकरण खरिद, गंगालाल अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा सञ्चालन, सामुदायिक स्वास्थ्य क्लिनिकको स्तरोन्नतिलगायतका कार्यक्रम पनि संशोधित बजेटमा परेका छन्।

बजेट संशोधनसँगै सभाले सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि ऐनमा संशोधन गरेर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था गरेको छ। यसअघि उहाँहरू आमन्त्रित सदस्य रहने व्यवस्था थियो। त्यस्तै महानगरको वडा ४ धुम्बाराहीमा शिवस्थली पार्क निर्माण गर्नका लागि प्रदेश सरकारबाट प्राप्त रकमसँग समपूरक बजेटको व्यवस्थापन गरेको छ।

सभामा लेखा समितिका संयोजक धुव त्रिपाठी, विधायन समितिका संयोजक नरेशमान महर्जन र सुशासन समितिकी संयोजक हुमादेवी आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। गएको नगरसभामा गठन गरिएका समितिहरूले त्यसपछि सम्पन्न गरेका कामहरूलाई प्रतिवेदनमा उल्लेख गरिएको थियो।

प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिका संयोजक त्रिपाठीले गएका आर्थिक वर्षमा सम्पन्न भएका लेखा परीक्षण प्रतिवेदन अध्ययन गरेर बेरुजु फस्र्योट गर्ने दिशामा समितिले काम गरिरहेको जानकारी दिनुभयो।

विधायन समितिका संयोजक महर्जनले यस अवधिमा ऐन, कानुन तथा विधि निर्माण गर्ने दस्तावेज समितिमा नआएको उल्लेख गर्नुभयो। महानगरलाई सुशासनयुक्त बनाउन छरिएका कार्यालयहरूलाई एकै ठाउँमा बनाउनुपर्ने सुशासन समितिकी संयोजक आचार्यले बताउनुभयो।

समितिका संयोजकहरूले देखाउनुभएको आवश्यकता र प्राप्त सुझाव कार्यान्वयनका विषयमा जवाफ दिँदै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले प्रतिवेदनका विषय अध्ययन गरेर कार्यान्वयनमा लैजान सकिने सुझावलाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो।

सभामा बोल्दै वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले फुटपाथ व्यवस्थापनलाई समन्वयात्मक रूपमा नियमन गरिनुपर्ने बताउनुभयो। वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले वडा भवन निर्माणका लागि सबै एकमत भएर पनि काम नभएकोप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा जनप्रतिनिधिहरूले पढ्न चाहने जनप्रतिनिधिको अध्ययन गर्ने अवसर, वडा सदस्यहरूलाई कार्य क्षेत्रको बाँडफाँड, कर्मचारीलाई प्रोत्साहन गर्ने, स्वीकृत बजेटअनुसार बोलपत्र आह्वान गर्न ढिला भएर काम हुन नसकेको अवस्थामा ध्यान पुर्याउनुपर्नेजस्ता विषयमा धारणा राखेका थिए।

सभामा नेपाल प्रहरीलाई प्रदान गरिएको सीसीटीभी क्यामरा राख्न दिएको रकमको उपयोग, यसबाट वडा र नागरिकलाई पुग्ने लाभ, विद्यालय व्यवस्थापन समितिमा वडा सदस्यको प्रतिनिधित्वजस्ता विषयमा छलफल भएको थियो। कार्यक्रममा मेयर शाक्यले सबै मिलेर धेरैलाई लाभ हुने काम गर्नेतिर लाग्नुपर्ने बताउनुभयो।

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सार्वजनिक शौचालय निर्माण सञ्चालन र व्यवस्थापनका लागि गएको कार्यपालिकाको बैठकले आफूलाई जिम्मेवारी दिएको जानकारी गराउँदै आफ्नो वडामा यससम्बन्धी देखिएका आवश्यकता आफूलाई जानकारी गराउन र यससम्बन्धी कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो। यसअघि बसेको कार्यपालिकाको ४०औं बैठकले नगरसभामा प्रस्तुत गर्ने प्रस्ताव र कार्यसूची तय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्