कुरीतिका कारण तीन महिनामा पाँचको मृत्यु



नेपाल समाचारपत्र, काठमाडौं। 

कुरीतिका कारण विगत तीन महिनामा पाँच सय २५ जना प्रभावित भएको र त्यसमा पाँच व्यक्तिले अकाल मृत्युसमेत भोग्नुपरेको एक सर्वेक्षणले देखाएको छ। राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका विषयलाई अध्ययन गरेर सोच नेपालले यो प्रतिवेदन तयार पारेको हो। अध्ययनमा गत असोज १४ देखि पौष १५ सम्म प्रकाशित समाचार समावेश गरिएको जनाइएको छ।

यस अवधिमा जातीय छुवाछुतका एक सय पाँच बालविवाहका तीन सय ३५, बहुविवाहका १२, दाइजोप्रथाका दुई, छाउपडीका सात,  लिङ्गविभेद प्रथाका ५५, बोक्सी प्रथाका ६, धार्मिक अन्धविश्वास वा अन्धविश्वासका तीन गरी कुल पाँच सय २५ मानसिक र शारीरिक हिंसाका घटनाहरू सार्वजनिक भएको पाइएको छ।

यस अवधिमा चार प्रकारका कुरीतिका कारणले पाँच जनाको हत्या भएको बताइएको छ। ज्यान गुमाउनेमा अधिकांश महिला रहेका छन्।  कुरीतिकै कारण अधिकांश महिला तथा दलित समुदाय शारीरिक तथा मानसिक हिंसाको शिकार भएका छन्। तीन महिनामा कुरीतिका कारण पाँच समुदाय तथा कर्णाली प्रदेशका जनता बढी प्रभावित भएको पाइएको छ।
सुदूरपश्चिम प्रदेश कुरीतिका सबैभन्दा बढी मारमा परेको पाइएको छ। यसैगरी कुरीतिका कारण प्रदेश दुई पनि उत्तिकै प्रभावित भएको पाइएको छ। सबैभन्दा कम कुरीतिको घटनाहरू गण्डकी र प्रदेश ५ मा भएको अध्ययनले देखाएको छ।
यस त्रैमासिकमा छाउगोठ भत्काउने अभियानबाट सुदूर पश्चिम प्रदेशका अधिकांश महिला मानसिक  रूपमा प्रभावित भएको बताइएको छ। छाउगोठमा बसेमा सरकारले कारबाही गर्ने डर र छाउगोठमा नबस्दा देउताको डरका कारण जनता अझ मानसिक आतंकमा परेको पाइएको छ।

‘छाउपडीलाई अन्त्य गर्ने सरकारको अभियानलाई नागरिकले सम्मान गर्नुपर्दछ तर छाउपडीलाई कम गर्नका लागि सर्वसाधारणको भौतिक सम्पत्ति नष्ट गर्नुभन्दा पनि वैज्ञानिक सोचाइको प्रवद्र्धन गरी नागरिकलाई छाउपडीजस्तो अन्धविश्वासबाट स्वस्फुर्त रूपमा मुक्त गर्नका लागि पहल गर्न आवश्यक देखिन्छ’ सोचले प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ।
अहिलेको वैज्ञानिक युगमा पनि परम्परा एवं धर्म, सँस्कृतिका नाममा मान्छेमाथि हुने अमानवीय तथा अपमानजनक घटनाहरूलाई न्यूनीकरण गर्न सरोकारवालालाई झक्झकाउन तथा हरेक मान्छेले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षाका लागि हामी अनुरोध गर्दछौं, प्रतिवेदनमा अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्