शिक्षा क्षेत्रका मुद्दाको परिमाण दोस्रो अधिक



नेपाल समाचारपत्र, काठमाडौं।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरूमा शिक्षासम्बन्धी उजुरीको परिमाण दोस्रो ठूलो स्थानमा परेको छ।
अख्तियारले राष्ट्रपतिसमक्ष बुझाएको २९औं वार्षिक प्रतिवेदनअनुसार विगत वर्षका तुलनामा उजुरी संख्या भने घटेको छ।
तीन वर्ष अघिसम्म पहिलो नम्बरमा शिक्षा उजुरी पर्ने गरेको थियो। तर यो वर्ष दोस्रो स्थानमा पुगेको छ। यद्यपि मुद्दाको कुल संख्या भने बढेको छ।  प्रतिवेदनमा  शिक्षासँग जोडिएका विषयमा १६ दशमलव ९५ प्रतिशत मात्रै उजुरी परेको छ।

आब २०७३/७४मा २० दशमलव ३० प्रतिशत  २०७४/७५ मा १८ दशमलव ३२ प्रतिशत उजुरी परेको थियो। आव ०७५/०७६ मा १६ दशमलव ९५ प्रतिशत शिक्षा क्षेत्रमा अनियमितता रहेको प्रतिवेदनमा उल्लेख छ।

तीमध्ये घूसमा एक सय ४७, नक्कली शैक्षिक प्रमाण पत्रतर्फ ८८, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीतर्फ ३९, गैरकानूनी लाभ हानीतर्फ ३३, राजस्व हिनामिनातर्फ १०, गैरकानूनी सम्पत्ति आर्जनतर्फ १२ र विविध विषयका २२ वटा मुद्दा रहेका अख्तियारको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार यसवर्ष शैक्षिक प्रमाणपत्र छानविनको उजुरी संख्या घटेको छ। गत वर्ष शैक्षिक प्रमाणपत्र छानविनमा २ हजार ७७ अर्थात् १० दशमलव ६५ प्रतिशत उजुरी परेकोमा यस वर्ष आठ दशमलव ५३ प्रतिशत मात्रै उजुरी परेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०७५/०७६ मा परेका कुल २४ हजार ८५ उजुरीमध्ये १ हजार ४ सय २१ शिक्षासँंग सम्बन्धित मुद्दा परेका छन्।

अख्तियारमा परेका मुद्दाहरूमध्ये ८८ वटा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी मुद्दा रहेको प्रतिवेदनमा उल्लेख छ। यस वर्ष सबैभन्दा धेरै संघीय मामिला मन्त्रालयसंग जोडिएका २६ दशमलव ८७ प्रतिशत मुद्दा परेको देखिन्छ। यस वर्ष सबैभन्दा धेरै संघीय मामिला मन्त्रालयसम्बन्धी उजुरी परेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्