भेन्टिलेटरमा १२ दिन, अचेत महिलाले जन्माइन् स्वस्थ शिशु



भगवती तिमल्सिना, काठमाडौं।

निजगढकी कुशुम चौलागाईले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुपर्यो। तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीया उहाँले मृत्युमाथि विजय हासिल मात्र गर्नुभएन सकुशल आमा पनि बन्नुभयो।

साढे चार महिनाअघिको कुरा हो, गर्भवती चौलागाईलाई अत्यधिक टाउको दुखेका कारण अर्धचेत अवस्थामा महाराजगञ्जस्थित त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पताल पुर्याइयो, तर उहाँले दुई घण्टाभन्दा बढी समयसम्म कुनै उपचार पाउनुभएन।

उहाँका श्रीमान् युद्ध खड्काले श्रीमतीलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुर्याउनुभयो। त्रिवि शिक्षण अस्पतालमा वास्ता नै नगरेको बिरामीलाई नर्भिक पुर्याएको साढे दुई घण्टामा रोग पत्ता लगाई शल्यक्रिया गरेकै कारण आज आमा र बच्चा दुबैले नयाँ जीवन पाएका छन्।

सरकारको प्रत्यक्ष लगानीमा सञ्चालित त्रिवि शिक्षण अस्पतालका कारण निजगढ, बारा घर भै काठमाडौंको कपुरधारामा पसल गर्दै आएकी कुशुम र गर्भमा हुर्कदै गरेको अवोध बच्चाको जीवन नै झण्डै समाप्त भएको !

अहिले चौलागाईको काखमा ९ दिनको नवजात शिशु छ। ‘स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.असला वैद्य र उहाँको समूहले साढे चार महिनाको अथक प्रयास गरेर मेरी श्रीमती र शिशुलाई जीवनदान दिनुभयो’ प्रसूतिलाई नियालिरहेका श्रीमान्ले भन्नुभयो।

चौलागाई पुराना कुरा सम्झदै भन्नुहुन्छ— ‘साढे चार महिना अघिको कुरा हो, आफ्नै पसलमा ग्राहकसँग गफ गदै थिएँ, एक्कासी टाउको घुमायो, के भयो के भयो मलाई उनै ग्राहकले शिक्षण अस्पताल पुर्याएछन्।

अस्पतालमा पुगेको साढे दुई घन्टासम्म पनि एमआरआई मेसिन बिग्रेको छ भन्दै आकस्मिक कक्षमा त्यतिकै राखिरहेपछि श्रीमान्ले आत्तिएर तत्काल नर्भिक लानुभएछ। मलाई गाडीमा धेरै गाह्रो भएको र नर्भिक पुगेको अलिअलि थाहा छ।

नर्भिक पुग्नासाथै फटाफट उपचार शरू भैहाल्यो। नर्सहरू भित्र–बाहिर गर्ने, बोलाउने, सोध्ने गर्न थाले, मलाई पनि यहाँ चै केही होलाजस्तो छ, अब त बाँचिएलाकि भन्ने लाग्यो।’ शुरूमा उहाँलाई शल्यचिकित्सक डा.राजीव झाले उपचार गर्नुभयो।

बच्चा नर्मल जन्माउन भने उहाँले सक्नुभएन, शल्यक्रिया गरेर बच्चा निकालियो। आमा–बच्चा दुवैलाई राम्रो भएकोले मंगलबार डिस्चार्ज गरिएको छ।

डा. वैद्य भन्नुहुन्छ, चौलागाईंको साढे चार महिनादेखि नियमित परीक्षण गरी बच्चाको अवस्थासमेत भिडियो एक्सरे गरेर हेर्ने, औषधी र खानपानमा ध्यान दिनेलगायतका सुझाबहरू दिएर ९ महिनासम्म बच्चा आमाको पेटमा हुर्काएर सिजरिङ गरी सकुशल जन्म भयो।

‘जतिबेला बिरामी अस्पताल ल्याइएको थियो, त्यतिबेला बे्रनमा एनुरिजम टक्चर भएको थियो। न्यूरोसर्जन डा. झाले बिरामीको सर्जरी गर्नुभयो। साढे चार महिनाको गर्भवती महिला त्यो पनि दिमागी भागको सर्जरी गर्नुपरेको थियो’ उहाँले भन्नुभयो।

‘यतिबेला हामीलाई दुईवटा चुनौती थिए– ‘आमा बचाउने कि बच्चा बचाउने ? यसो हुँदाहुँदै आमाको शल्यक्रिया गरी भेन्टिलेटरमा राख्नुपर्ने भयो। धेरै दिन भेन्टिलेटरमा राखियो, जब बिरामीको अलि–अलि औला चल्न थाल्यो, त्यसपछि चौलागाईको श्रीमान र परिवारसँग मैले डिल गर्नुपर्यो।

पटक पटक बच्चाको कुरा आउँथ्यो, बच्चा के गर्ने डाक्टरसाब बच्चा के गर्ने ? यतिबेला मैले आफूले सक्ने ज्ञान, सीप र क्षमता लगाएर भरसक बच्चालाई जोगाउने भन्थें’ –उहाँले जानकारी गराउनुभयो।

‘मेरो भित्री मनमा भने डर थियो यत्रो समय भेन्टिलेटरमा बसेको आमालाई अक्सिजनकै सपोर्टमा राखिराखेको अवस्थामा बच्चालाई पनि असर पर्नसक्छ। कुनैपनि बेला बच्चा खेर जानसक्छ।

यो कुरा मैले उहाँको श्रीमानलाई सम्झाउन थालें। चौलागाईंका श्रीमान अत्यन्तै समझदार हुनुहुदोरहेछ। उहाँसँग दिनमा एकपटक १५ मिनेट जति कुरा गर्थे। उहाँका थुप्रै आफन्त हनुहुन्थ्यो डा. झा र मैले पालैपालो सम्झाउने गथ्र्यौं।’ उहाँले विगत स्मरण गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्