बुटवल उपमहानगरद्वारा निजी विद्यालयको वर्गिकरणसँगै शुल्क निर्धारण



यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचको महत्वपुर्ण स्थानियतहका रुपमा परिचित बुटवल उपमहानरगपालिकाले संस्थागत (निजी तथा आवासीय) विद्यालयको वर्गिकरण गरि मासिक शुल्क निर्धारण गरेको छ ।

बुटवलमा संस्थागत विद्यालयहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार क, ख र ग श्रेणीका विद्यालयले कक्षागत आधारमा अलग–अलग शुल्क उठाउन पाउने भएका छन् । विद्यार्थी भर्नाको शुल्क भने सवै श्रेणीलाई एउटै तोकिएको छ ।

शिक्षा समितिको हालै बसेको सर्वपक्षीय बैठकको छलफलका आधारमा ‘क’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार आठ सय ४५, प्राविमा दुई हजार ५० तथा निमाविमा दुई हजार चार सय ४३ र माविमा तीन हजार एक सय ८० रुपैयाँ मासिक शुल्क उठाउने छन् । यो भन्दा धेरै शुल्क उठाएको पाइएमा कानुनी कारवाही गर्नेगरी उपमहानगरले संयन्त्र समेत बनाइसकेको छ ।

यस्तै ‘ख’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार पाँच सय आठ, प्राविमा एक हजार छ सय ७६ तथा निमाविमा एक हजार नौ सय ७० र माविमा दुई हजार पाँच सय ९७ रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको छ ।

‘ग’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार तीन सय ३०, प्राविमा एक हजार चार सय ७८ तथा निमाविमा एक हजार सात सय ४९ र माविमा दुई हजार तीन सय २५ रुपैयाँ मासिक शुल्क निर्धारण भई कार्यान्वयन भइसकेको छ । बुटवलले कम्प्युटर कक्षाका लागि पनि शुल्क निर्धारण गरेको छ । जस्मा बढिमा तीन सय ७५ रुपैयाँ र कक्षा शिक्षण सिकाईमा डिभाइस जडान गरी उपयुक्त सफ्टवेयरमा दुई विषयसम्म पढाउँदाको बढिमा एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार बुटवलका १९ वटै वडामा सञ्चालित संस्थागत विद्यालयलाई वर्गिकरणका आधारमा उनीहरुले विद्यार्थीबाट उठाउने शुल्क निर्धारण गरि लागु समेत भइसकेको छ । उहाँले यहाँका सबै विद्यालयहरुले उपमहानगरले तोके बमोजिमको शुल्क समायोजना समेत गरिसकेको बताउनुभयो ।

चालु शैक्षिक सत्र २०७६ मा शुल्क निर्धारण शुल्क निर्धारण सिफारिस समितिबाट सिफारिस भए बमोजिम तोकि कार्यान्वयन समेत भइसकेको उपमहानगरका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले बताउनु भयोे ।

बुटवलमा बालविकास देखि कक्षा १२ सम्म सञ्चालनमा रहेकोसमेत गरी ५६ वटा संस्थागत विद्यालयहरु सञ्चालनमा छन् । सामुदायिक तर्फका सबै तहमा अध्यय्न गर्ने विद्यार्थीको संख्या भने २१ हजार दुई सय १५ रहेको छ ।

यसै बीच उपमहानगरका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकहरूको एउटै ड्रेस व्यवस्थापन गर्न ड्रेस कोड व्यवस्थापन समिति गठन भई काम अन्तिम चरणमा पुगेको छ । प्रत्येक सामुदायिक विद्यालयहरूमा कक्षा १, २ र ३ मा बुक कर्नर हाम्रो पहिचान भन्ने नारालाई सार्थकता प्रदान गरिएको छ । यसको प्रभाव सकारात्मक देखिएको छ ।

यस्तै बुटवलले शिक्षाको गुणस्तर विकासका लागि सबै सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूसँग ३२ बुँदे कार्यसम्पादन करार सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्